२०७६ मंसिर ४ गते

परीक्षाको नाममा दुईथरि शुल्क

काठमाडौं । कक्षा आठको परीक्षा शुल्क लिने विषयमा ललितपुरमा विवाद भएको छ । जिल्ला शिक्षा समितिबाट तोकिएको निर्णयलाई लत्याउँदै स्रोत केन्द्रहरुले थप शुल्क लिने निर्णय गरेपछि विद्यालय सञ्चालक आन्दोलित भएका छन् ।


जिल्ला शिक्षा कार्यालयका कर्मचारी समेत सदस्य रहने समितिले जिल्ला स्तरिय परीक्षा भएका कारण आठ कक्षाका विद्यार्थीसंग प्रति विद्यार्थी एक सय पचास रुपैंया शुल्क लिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सबै विद्यालयले विद्यार्थी संख्या हिसाव गरेर रकम जिशिकामा पठाईसकेका छन् । परीक्षा चैत दुई गतेबाट सञ्चालन हुँदैछ ।


तर परीक्षा नजिकिंदै गर्दा सम्बन्धित स्रोत केन्द्रहरुले शिक्षा समितिले लिएको शुल्क आफूहरुलाई प्राप्त नहुने र थप शुल्क लिन नपाए परीक्षा सञ्चालन गर्न नसक्ने जानकारी गराउँदै विद्यालयसंग थप रकम मागेपछि विवाद भएको हो । कक्षा आठको परीक्षा सञ्चालनको जिम्मा स्रोत केन्द्रहरुको हुन्छ । क्षेत्रगत रुपमा स्रोत केन्द्रले आफू अन्तर्गतका स्कुलको परीक्षा सञ्चालनको जिम्मेवारी बोकेको हुन्छ ।


अहिले शिक्षा समितिले तोकेको वाहेक स्रोत केन्द्रहरुले प्रति विद्यार्थी ७७ रुपैंयादेखि तीनसय पचास रुपैंयासम्म शुल्क लिने निर्णय गरेका छन् । तर यस विषयमा सम्बन्धित स्रोत केन्द्रहरुले जिल्ला शिक्षा कार्यालयलाई जानकारी समेत गराएका छैनन् ।


ललितपुर प्याब्सनका अध्यक्ष शिव कार्कीले भने, ‘हामीले स्रोत केन्द्रलाई तिर्ने रकमको कतै हिसाव हुँदैन । परीक्षा वापत तिनुपर्ने शुल्क जिल्ला शिक्षा कार्यालाई तिरिसकेका छौं । यदि एक सय पचास रुपैंयाले परीक्षा चलाउन सकिदैन भने जिशिका कर्मचारी सहभागी हुने शिक्षा समितिमा किन छलफल हुँदैन ? '


बज्र वाराही स्रोत केन्द्रका स्रोत व्यक्ति महेन्द्र विष्टले विद्यालय सञ्चालकहरुले परीक्षा शुल्क वापत तिरेको प्रति विद्यार्थी एक सय पचास दरको शुल्क जिशिकाले आफूहरुलाई नदिने बताए । ‘परीक्षा चलाउने जिम्मा हाम्रो हुन्छ । परीक्षा केन्द्रमा खटिने गार्ड, विद्यार्थीलाई दिनुपर्ने उत्तरपुस्तिका लगायतमा लागने खर्च आफैले वेहोर्नुपर्छु विष्टले भने, ‘विद्यालय सञ्चालकले विभिन्न परीक्षाको नाममा विद्यार्थी संग मनपरि शुल्क लिईरहेका छन् । हामीले त एक पटक परीक्षा शुल्क मात्र लिएका हौं ।'


प्याब्सन केन्द्रीय सदस्य रविन शर्माले जिल्ला शिक्षा कार्यालयदेखि स्रोत केन्द्रसम्मको सेटिङ मिलाएर आर्थिक अपचलन गर्ने उद्देश्यले उक्त शुल्क लिन लागिएको आरोप लगाए । जिल्ला शिक्षा कार्यालय ललितपुरका संस्थागत विद्यालय शाखा प्रमुख गोकर्ण कार्कीले स्रोत केन्द्रले आफूखुशी परीक्षा शुल्क लिन नमिल्ने बताए ।


‘यस विषयमा मेरो शाखामा आधिकारिक जानकारी आएको छैन । आयो भने वास्तविकता के रहेछ बुझेर मात्र बोल्न सकिन्छ । तर स्रोत केन्द्रले यसरी शुल्क लिएको रहेछ भने गैर कानुनी कार्य होु कार्कीले भने । स्रोत केन्द्रले मनपरि शुल्क लिने निर्णय गरेको विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा समेत उजुरी दिएको प्याब्सन ललितपुरका अध्यक्ष कार्कीले बताए । अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: