२०७६ भदौ १ गते

विद्यालय सञ्चालनका लागि स्रोत जुटाउदै समुदाय

महेश न्यौपाने/रोल्पा


सरकारले शिक्षा क्षेत्रमा अपेक्षाकृत लगानी नगरे पछि समुदायकै अग्रसरतामा विभिन्न स्रोतको खोजी गर्दै शैक्षिक सुधारका अभियान थालनी भएका छन् । पछिल्लो पटक जिल्लाको एक पुरानो विद्यालयको रुपमा रहेको जनजागृती माध्यमिक विद्यालय जुगारले प्राविधिक शिक्षा सञ्चालन गर्ने भन्दै महायज्ञ सञ्चालन गरि श्रोत संकलन गर्न लागेको हो ।


विद्यालयले आगामी माघ २४ देखि फाल्गुन २ गतेसम्म ज्ञान महायज्ञ संचालन गर्ने भएको छ । विद्यालयमा सम्पन्न एक भेलाले महायज्ञ संचालन गर्ने निर्णय गरेको हो । महायज्ञ सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल घर्तीको अध्यक्षतामा १२८ सदस्यीय मूल समारोह समिति समेत गठन गरेको पत्रकार घनश्याम केसीले जानकारी दिए । महायज्ञ सञ्चालनका लागि आवश्यकता अनुसार अन्य उप समिति समेत गठन गर्ने निर्णय भएको बताइएको छ ।


महायज्ञबाट संकलित रकमले विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्ने वताइएको छ । पछिल्लो पटक साधारण विषयको तुलनामा प्राविधिक शिक्षामा आकर्षण देखिन थाले पछि विद्यालयहरुले समेत प्राविधिक शिक्षाको पठन पाठन गर्न थालेका छन् ।


यस अघि जिल्ला सदरमुकाम लिबाङमा रहेको वालकल्याण नमुना माविले पूर्व विद्यार्थीको भेला आयोजना गरेको थियो । सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका प्रतिनिधि सभाका सभामुख कृष्णवहादुर महराले विद्यालयलाई आफ्नो तर्फवाट एक आधुनिक वहुआयामिक हल निर्माणका लागि स्रोत जुटाई दिने घोषणा गरेका थिए । उक्त विद्यालयले समेत साधारण विषयको पठन पाठन क्रमशः विस्थापन गर्दै प्राविधिक शिक्षामा जोड दिने नीति लिएको विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले वताए । उक्त विद्यालयले उच्च माध्यमिक शिक्षा परिषदद्धारा संचालित मानविकी, शिक्षा शास्त्र, व्यवस्थापनका साथै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदद्धारा सञ्चालित सिभिल ईन्जिनियरिङ विषयमा सव इन्जिनियर र सव ओभरसियरको पठन पाठन गर्दै आईरहेको छ । निकट भविष्यमा सर्भे ईन्जिनियरिङको समेत पठन पाठन गर्ने तयारी भईरहेको विद्यालयले जनाएको छ ।


जिल्लाका अन्य सामुदायिक विद्यालयहरुले समेत यस्तै सृजनशील अभियानहरु सञ्चालन गर्दै विद्यालय संचालनका लागि श्रोत जुटाई रहेको बताईन्छ ।

Comments: