२०७६ असोज २९ गते

शौचालयमा छैन पानी

अन्तैबाट

बाँके । स्कुलमा हाफ छुट्टीको घण्टी बज्नेबित्तिकै रोशनी थारू शौचालय पुगिन् । त्यहाँको रित्तो बाल्टी टिपेर छिमेकीको घरनजिकै गाडिएको हयान्डपम्प तान्न थालिन् । पानीले भरिएको बाल्टी उचाल्न सकिनन् । अनि, साथीको सहारामा बाल्टी बोकेर शौचालय पसिन् ।


उनी पढ्ने राप्तीपारि फत्तेपुर गुलरीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको शौचालयमा पानी छैन । साना–ठूला सबै विद्यार्थीले बाल्टीमा पानी बोकेरै शौचालय पस्नुपर्छ ।

विद्यालयमा पानी बोक्नुपर्दा कक्षा कोठामा पढाइ छुट्ने गरेको बालबालिकाले बताए । कक्षा ७ मा पढ्ने सविना थारूले पढाइ चलिरहेका बेला शौचालय जानुपर्‍यो भने बीचैमा बाल्टी बोकेर धारा धाउनुपर्ने बताइन् । ‘धेरैपटक पढाइ छोडेकी छु, पानी बोक्दा,’ उनले भनिन्, ‘ट्वाइलेट जान मन लाग्छ । पानी बोकेर ल्याउनै टाइम लाग्छ ।’

खान पनि त्यही बोरिङ गरेको जमिनको पानी प्रयोग हुन्छ । त्यही पानी शौचालयमा प्रयोग गर्छन् । बालविकासमा पढ्दै गरेका साना नानीलाई शौचालयमा पानी बोकेर लैजान सबैभन्दा समस्या पर्छ । आफैं सजिलै हिँडन नसक्नेहरू पनि बाल्टीभरिको पानी बोकेर शौचालय जानुपर्ने बाध्यतामा छन् । ‘साना नानीहरू बाल्टी उठाउन सक्दैनन्,’ सविनाले भनिन्, ‘कति त रुँदै बस्छन् ।’

विद्यालयमा बालबालिकालाई चाहिने पूर्वाधार पुस्तक, कापी–कलम र झोला हुन् । यहाँका बालबालिकासँग पुस्तक छन् । तर, तिनलाई राख्ने झोला छैन । विद्यालयमा अधिकांश विद्यार्थी हातमा किताब बोकेर आउँछन् । विद्यालयका शिक्षक पुष्पराज खड्काका अनुसार झन्डै १ वर्षअघि एक संस्थाले झोला सहयोग गरेको थियो ।

अहिले धेरै विद्यार्थीका झोला च्यातिएका छन् । कतिपयले थुप्रै ठाउँ टालेर झोलामा किताब राख्छन् । धेरै विद्यार्थीले हातमै पुस्तक समातेर विद्यालय आउने गरेका छन् । ‘पानी पर्दा कापी–किताब प्लास्टिकमा राखेर ल्याउँछन्,’ उनले भने, ‘झोला ल्याऊ भन्ने हो भने स्कुल नै आउँदैनन् ।’

कक्षा ३ मा पढ्ने शर्मिला थारूले झोला च्यातिएपछि हातमै पुस्तक ल्याउन बाध्य भएको बताइन् । ‘दर्जनभन्दा बढी किताब छन्, हातमा बोक्दा दुख्न थाल्छ,’ उनले भनिन्, ‘झोलाको चेन फुस्किएको छ र फाटेको पनि छ ।’

कक्षा ४ मा पढ्ने समुन थारूले चाहिँ झोला आमालाई दिएको बताए । घरका सामान राख्न झोला नहुँदा उनले परिवारलाई दिएको सुनाए । ‘त्यही झोला पनि फाटिसक्यो,’ उनले भने ।

भाषा अर्को समस्या
विद्यालयमा अर्को समस्या भाषाको छ । यहाँ ३ सय ६ विद्यार्थी छन् । जसमध्ये झन्डै ८० प्रतिशत विद्यार्थी थारू समुदायका छन् । १३ शिक्षकमध्ये जम्मा ६ जना थारू समुदायका शिक्षक छन् । बालबालिकाले नेपाली भाषामा पढाउँदा कम बुझ्ने भएकाले मातृभाषाको सहारा लिन आवश्यक रहेको शिक्षक पुष्पराजले बताए ।

उनी ६, ७ र ८ कक्षालाई विज्ञान विषय पढाउँछन् । धेरै बालबालिका थारू भाषा बोल्ने हुँदा नेपाली भाषामा बुझाउन समस्या छ । पढाउँदा विद्यार्थीले बुझेनन् भने एउटा बुझेकाले अर्को नबुझेको साथीलाई स्थानीय भाषामा बुझाउने गरेको उनले सुनाए । ‘विद्यार्थी एक–अर्कामा भाषा अनुवाद गरी बुझाउँछन्,’ उनले भने ।

त्यस्तै, थारू समुदायका शिक्षक किसनलाल थारूले नेपाली पनि थारू भाषामै बुझाउनुपर्ने बाध्यता रहेको सुनाए । ‘बहुसंख्यक बालबालिका थारू भाषा बोल्छन्,’ उनले भने, ‘नेपाली र थारू दुवै भाषामा पढाउन बाध्य छौं ।’ मातृभाषामा शिक्षाको आवश्यकता यहाँ देखिएको उनले बताए ।


हाफ छुट्टीपछि घर
यहाँका विद्यार्थी पूरै समय विद्यालय बस्न मान्दैनन् । उनीहरूलाई स्कुलको वातावरणले आकर्षित गर्नै सकेको छैन । हाफ छुट्टीपछि पर्खाल नाघेर लुकीछिपी भाग्छन् । बिहान जति धेरै विद्यार्थी हुन्छन्, हाफ छुट्टीपछि बेन्च प्राय: खाली हुने शिक्षकले बताए ।

विद्यालयका प्रधानाध्यापक जंगवीर थारूले स्कुलको भौतिक संरचनाको कमजोरीले बालबालिका विद्यालयमा टिक्न नसकेको बताए । ‘शौचालयमा धारा छैन, पर्खालमा काँडेतार छैन,’ उनले भने, ‘विद्यार्थी स्कुलमा बस्नै मान्दैनन् ।’ उनले वर्षामा छतबाट पानी चुहिएर पढाइमा समस्या हुने गरेको सुनाए ।

०४१ देखि सञ्चालित यस विद्यालयको भौतिक संरचनामा सुधार आउनेबित्तिकै बालमैत्री विद्यालय हुने उनको बुझाइ छ । गाउँपालिकाले ८ लाख रुपैयाँ भवन निर्माण गर्न सहयोग गरे पनि त्यति रकमले भवन पूरा नभएको उनले सुनाए ।

कान्तिपुरमा खबर छ ।

Comments: