२०७६ भदौ ३० गते

विद्यालय छाड्नेमा सहरका बढी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकास्थित लग्दहवाकी रेणुका खटिक १६ वर्षकी भइन् । दुई वर्षअघि भारतको बाबापुरुवामा बिहे गरेपछि उनले ५ कक्षाभन्दा माथि पढिनन् ।

 बिहे भएपछि कहिले माइती त कहिले घरमा बस्नुपर्ने र कामकाज गर्नुपर्ने भएकाले समस्या भएको उनी बताउँछन् । उनकी १५ वर्षीया बहिनी सुधाले पनि बालविवाहका कारण कक्षा ४ बाटै पढाइ छाडेको बताइन् ।

इन्द्रपुरस्थित कुचबदिया बस्तीमा कसैले पनि कक्षा ७ भन्दा माथि पढेका छैनन् । १६ वर्षीया पवित्रा कुचबदियाले कक्षा ५ मा पढ्दापढ्दै घरायसी कामले पढाइ छाडेको बताइन् । अभिभावकले परम्परागत पेशा सिलौटा कुद्ने काममै उनीहरूलाई लगाउने गरेकाले यो बस्तीमा कक्षा छोड्ने समस्या धेरै छ । नेपालगन्ज ११ को घसयारन टोलका अधिकांश बालबालिका इँटाभट्टामा संलग्न छन् । चिडिमार समुदायमा बच्चालाई पनि आफूसँगै चराको सिकार गर्ने र अर्काको घरमा भाडा माझ्ने लगाइन्छ ।

नेपालगन्ज ३ वाल्मीकि टोलका करिब ६० घरमध्ये अधिकांशका बालबालिका नियमित विद्यालय जाँदैनन् । उनीहरूमध्ये धेरैले पठनपाठन छाडेर मजदुरी गर्छन् । परम्परागत रूपमा भरिया र कसाईको काम गर्ने नेपालगन्ज १० कसगर टोलका बालबालिकाको अबस्था पनि कम जोखिममा छैन । सहरी क्षेत्रका बालबालिकामा मजदुरी गर्ने क्रम बढ्दै गएको अधिवक्ता वसन्त गौतमले बताए । गरिबीका कारण नेपालगन्जका बालबालिका मजदुरीका लागि भारतसमेत पुग्छन् । मधेसी र मुस्लिम बाहुल्य यहाँका अधिकांश क्षेत्रमा बालविवाहका कारण बालिकाले बीचैमा पढाइ छाड्ने गरेका छन् ।

सामाजिक संस्कार र आमाबाबु साक्षर नहुँदा पढाइ छाड्नेको संख्या बढ्दो छ । पढाइ छाड्नेमध्ये अधिकांश सहरी क्षेत्रकै रहेको जिल्ला शिक्षाले जनाएको छ । उपजिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले बालबालिकाले कक्षा छाड्ने दर बढ्नु र नियमित नहुनु सामुदायिक विद्यालयको ठूलो चुनौती भएको बताए ।

बालकले घरको आर्थिक अवस्था र विभिन्न प्रलोभनका कारण पठनपाठन बीचैमा छाड्ने गरेका छन् । प्राथमिक तहमा बालबालिकाको भर्ना दर ९६ प्रतिशत रहे पनि माविमा पुग्ने निकै कम हुन्छन् । प्राथमिक तहबाट निमावि तहमा उक्लिनेको भर्ना दर ४६ दशमलव १ छ । कक्षा छाड्ने दर प्रावि तहमा ७ प्रतिशत मात्रै रहेको छ । निमाविमा ८ र माविमा ९ प्रतिशत रहेको शिक्षाको तथ्यांक छ । गरिबी र बालविवाहका कारण कक्षा छाड्ने दर बढिरहेको थापाले बताए ।

मावि तहमा मुस्लिम बालिकाको संख्या अत्यन्त न्यून छ । पहाडी र थारू समुदायको तुलनामा विद्यालय छाड्ने मधेसी र मुस्लिम बालबालिका धेरै भएको उनले बताए । प्राथमिक तहमा भर्नादर ९६ प्रतिशत भए पनि मावि पुग्दा कुल भर्नाको ३० प्रतिशतमा सीमित भएको उनले बताए ।

जिल्लामा २ सय ६१ सामुदायिक र एक सय ९५ संस्थागत विद्यालय छन् । मदरसा र गुरुकुल गरेर १ सय २६ धार्मिक प्रकृतिका विद्यालय संचालनमा रहेको कार्यालयले जनाएको छ । चालु शैक्षिक सत्रमा जिल्लाभर १ लाख ३० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

कान्तिपुरमा खबर छ ।

Comments: