२०७६ कार्त्तिक २९ गते

आजबाट एसईई परीक्षा शुरु, पहिले भन्दा के–केमा भिन्न छ परीक्षा ?


काठमाडौं ।  कक्षा १० पछि प्रवेशिका (एसएलसी) हटाएर पहिलो पटक हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।


संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक तह कायम भएपछि कक्षा १० को परीक्षालाई सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) नामकरण गरिएको हो । आज शुरु भएको परीक्षा साधारणतर्फ चैत ११ र प्राविधिकतर्फ १४ गते सकिनेछ ।


कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) नाम मात्रै परिवर्तन गरी पुरानै एसएलसीको शैलीमा सञ्चालन भएको हो । पुरानै शिक्षा नियमावली, निर्देशिकाका आधारमा परीक्षा सञ्चालन शुरु भएको हो । परीक्षामा देशभरबाट कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सम्मिलित भएका छन् ।

पुरानै शैलीमा परीक्षा
शिक्षा ऐनमा राष्ट्रिय परीक्षा बोर्डले क्षेत्रीयस्तरमा परीक्षा गर्ने उल्लेख भए पनि बोर्डका क्षेत्रीयस्तरका स्थायी संरचना नबनेका कारण केन्द्रीयस्तरमै परीक्षा सञ्चालन हुन लागेको हो । पहिलेको उच्च माध्यमिक शिक्षा परिषद्का जिल्लास्थित कार्यालयलाई परीक्षा बोर्डका रूपमा स्थापित गरे पनि पूरै संरचना भने तयार भएको छैन । बोर्डका स्थायी संरचना नबनेका कारण पहिले एसएलसीका नामबाट सञ्चालन हुने कक्षा १० को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले दिएको अधिकार प्रयोग गरी साबिकको परीक्षा नियन्त्रण कार्यालयले गर्न लागेको हो ।

५ लाख ३८ हजार परीक्षार्थी
आजबाट शुरु भएको परीक्षामा  नियमित, आंशिक ग्रेडवृद्धि र एक्जाम्टेड गरी ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी भएका छन् ।  जसमा नियमित परीक्षार्थीमध्ये २ लाख ३५ हजार ३ सय २ छात्रा र  २ लाख ३३ हजार ९८ छात्र रहेका छन् । त्यस्तै,  प्राविधिकतर्पm ३ हजार ७ सय ३ जनाले परीक्षा दिएका छन् ।


यस वर्षको कक्षा १० को परीक्षामा नियमित विद्यार्थीको संख्या केही बढेपनि समग्रमा विद्यार्थी संख्या भने घटेको छ । गतवर्ष  एसएलसीमा नियमितमा चार लाख ५२ हजार आठ सय ८१, एक्जाम्टेडमा एक लाख ५९ हजार चार सय १७ परीक्षार्थी रहेका थिए ।


१ हजार ९ सय २३ परीक्षा केन्द्र
परीक्षाका निम्ति देशभरि १ हजार ९ सय २३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष र २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष निर्धारण गरिएको छ ।  २२ हजार ४ सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार ५ सय ९१ जनशक्ति परीक्षामा खटाइएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।


१८ वटा परीक्षा अनुगमन टोली
परीक्षा अनुगमनका निम्ति शिक्षा मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । त्यसैगरी क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको अनुगमन टोली खटिनेछन् ।


अमर्यादित काम गरे परीक्षा रद्द
परीक्षामा अमर्यादित काम गर्ने र गराउने फेला परे कडा कार्बाही गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  परीक्षामा अमर्यादित र अनियमित व्यवहार गर्ने व्यक्तिलाई कानुनबमोजिम कार्बाही र परीक्षा रद्दसमेत गरिने नियन्त्रक  रेग्मीले जानकारी दिए ।


कुन जिल्लाबाट कति परीक्षार्थी ?
मोरङबाट २० हजार ७ सय ६, सोलुखुम्बुबाट १ हजार ९ सय ७६, सप्तरीबाट १२ हजार ८ सय ९२, सिरहाबाट १० हजार ९ सय ३५ र उदयपुर ६ हजार २ सय ६१ परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । त्यस्तै,  इलामबाट ५ हजार २७ सय, खोटाङबाट ५ हजार ९ सय ३०, पाँचथरबाट ४ हजार ७ सय ४, भोजपुरबाट ३ हजार ७ सय ५१, ओखलढुंगाबाट ३ हजार ७ सय ३३, धनकुटाबाट ३ हजार ४ सय ५५, ताप्लेजुङबाट २ हजार ८ सय ३३, संखुवासभाबाट २ हजार ६ सय ७९ र तेह्रथुमबाट २ हजार ६ सय २९ परीक्षार्थी परीक्षामा सामेल भएका छन् । सुनसरीबाट १४ हजार ४२,  महोत्तरीबाट ९ हजार ३ सय १,झापाबाट १५ हजार ६ सय २२, रुपन्देहीबाट १८ हजार २ सय ५, नवलपरासीबाट ११ हजार ४ सय ७०, दैलेखबाट ७ हजार ७०, पाल्पाबाट ५ हजार ६ सय  ६२ परीक्षार्थी परीक्षामा सहभागी भएका छन् ।


Comments: