२०७६ भदौ ५ गते

छात्रवृत्तिमा प्रधानाध्यापकको कमिसन

अन्तैबाट

सिन्धुली ।  सिन्धुलीका एक प्राधानाध्यापकले विद्यार्थीले पाउने छात्रवृत्तिको रकममै कमिसन खाएका छन् । कमलामाई नगरपालिका– ३ स्थित श्री जलकन्या मावि चपौलीका प्रअ कृष्णप्रसाद चौलागाईले कक्षा ११ र १२ का २३ जना विद्यार्थीले पाउनुपर्ने ३६ हजार छात्रवृत्तिबाट प्रतिविद्यार्थी ९ हजार रुपैयाँका दरले कमिसन खाएको खुलासा भएको हो ।


उक्त विद्यालयकी छात्रा रिता विकले कमिसन नदिएपछि उक्त घटना बाहिरिएको हो । विकबाहेक छात्रवृत्ति पाएका २३ जनाले रकम प्रअ चौलागाईंलाई बुझाएका थिए । रसिदबिना प्रधानाध्यापकले रकम खाएको विद्यार्थीहरूले आरोप लगाएका छन् ।

वैशाख १५ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा दिन प्रवेशपत्र नदिएको र ९ हजार मागेपछि शिक्षक चौलागाई र विद्यार्थी विकबीच कमिसनका विषयमा विवाद भएको थियो । ९ हजार नदिए परीक्षाको प्रवेशपत्र नै नदिने भनेपछि कमिसनको रहस्य खुलेको थियो ।


शिक्षा मन्त्रालयले उपलब्ध गराउने माध्यमिक शिक्षा परियोजनाअन्तर्गतको विपन्न लक्षित छात्रवृत्ति रकम सिधै विद्यार्थीको खातामा आउने भए पनि चेक काटेर शिक्षकलाई दिनुपरेको विद्यार्थी कविता ठटालले बताइन् । ‘सर विद्यार्थीसँगै बैंकमा गएर ९ हजार माग्ने गर्नुभएको थियो, हामीले दिनैपर्ने होला भनेर दियौं । सरलाई सोध्दा पनि किन पैसा लिएको कहिले कारण खुलाउनुभएन,’ ठटालले भनिन् ।

कार्यक्रम प्रभावकारिता अनुगमनमा शिक्षा मन्त्रालयले तेस्रो पक्षका रूपमा त्रिविका प्राध्यापकलाई केही दिनअघि पठाएको र विद्यार्थीलाई फारम भराउँदा पाएको रकम फरक परेपछि घटनाले शिक्षा मन्त्रालयमै खैलाबैला मच्चिएको थियो । जसका कारण शिक्षा मन्त्रालयका उपसचिव लक्ष्मी खड्का र नरहरि आचार्य, शिक्षा विकास तथा समन्वय एकाइका नेत्र गजुरेल, कमलामाई नगरपालिका सिन्धुली शिक्षा शाखा प्रमुख शंकर लुईंटेलको टोलीले आइतबार स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा विद्यार्थी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितबहादुर कार्कीलाई समेत टोलीले भेटेर छलफल गरेको छ ।


यसैबीच प्रअ चौलागाईंलाई कक्षा १० का ४० जना विद्यार्थीले पाउने ५ हजार छात्रवृतिमा प्रतिविद्यार्थी ३ हजार रुपैयाँ त्यसरी नै कमिसनस्वरूप लिएको आरोप लागेको छ । खातामा आउने पैसा पनि विद्यार्थीलाई प्रलोभनमा पारी लिने गरेको विद्यार्थीहरूको आरोप छ । यस सम्बन्धमा प्रधानाध्यापक चौलागाईंसँग सम्पर्क गर्न खोज्दा सम्पर्क  हुन सकेन ।

विमला पाण्डेले राजधानीमा खबर लेखेकी छन् ।

Comments: