२०७६ मंसिर ६ गते

विद्यालयमै दालभात !

जाजरकोट । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा सरकारले मध्य तथा सुदूरपश्चिमका १० जिल्लामा सञ्चालन गरिरहेको शिक्षाका लागि खाद्य परियोजनाअन्तर्गत अबदेखि विद्यार्थीलाई दिवा खाजास्वरूप दालभात खुवाउन थालिएको छ। यसअघि उनीहरूलाई दिवा खाजाका रूपमा हलुवा खुवाउने गरिएको थियो ।

२०५७ सालदेखि गत मंसिरसम्म हलुवाका लागि पीठो, तेल र चिनी उपलब्ध गराउँदै आएको परियोजनाले माघदेखि भिटामिन र मिनरल्स मिसाइएको चामल, दाल, तेल र नुन उपलब्ध गराउन थालेको छ। दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेका विद्यालयमा हलुवाको साटो सामान्य दालभात, पोसिलो जाउलो दिन थालिएको छ। विद्यार्थीले हलुवा मन नपराएपछि दालभातको व्यवस्था गरिएको आयोजनाले जानकारी दिएको छ।

कतिपय विद्यालयमा हलुवा बनाउन नजान्ने, पीठोमा भिटामिनको मात्रा नमिल्दा खाँदा तीतो हुने, स्टोरमा राखिएको पीठो बिग्रनेलगायतका समस्या देखिएपछि परियोजनाले कार्यक्रमको मोडालिटी बदलेको हो। यो कार्यक्रम हाल प्रदेश ६ का जाजरकोट, रुकुम र दैलेख तथा प्रदेश ७ का दार्चुला, बैतडी, अछाम, डढेलधुरा, बझाङ, बाजुरा र डोटीमा पौष्टिक आहार कार्यक्रम लागू भइरहेको छ। दैलेखमा यो कार्यक्रम परीक्षणका रूपमा गतवर्षदेखि नै सञ्चालनमा ल्याइएको थियो। विद्यार्थीले हलुवाभन्दा दालभात मन पराएपछि अन्य जिल्लामा पनि लागू गरिएको शिक्षाका लागि खाद्य कार्यक्रमले जानकारी दिएको छ।

खाद्यान्न अभाव र शिक्षाको पहुँच कम भएका जिल्लाका विद्यार्थीलाई आधारभूत शिक्षाको पहुँचमा वृद्धि गर्ने, विद्यार्थी पोषण र स्वास्थ्य स्थितिमा सुधार ल्याउने दीर्घकालीन लक्ष्य लिइएको यो कार्यक्रमले विद्यार्थीको भर्नादर र विद्यालयमा विद्यार्थीको उपस्थिति दर बढाउने, कक्षा छोड्ने दर घटाउने, अध्ययन क्षमतामा वृद्धि गर्ने, लैंगिक समानता कायम गर्ने (छात्राको संख्या बढाउने)लगायत अल्पकालीन लक्ष्य लिएको शिक्षाका लागि खाद्य कार्यक्रम समन्वय कार्यालय नेपालगन्जका प्रमुख उज्ज्वलप्रसाद कोइरालाले बताए।

दिवा खाजा कार्यक्रमबाट जाजरकोटका दुई सय १२ विद्यालयका २८ हजार पाँच सय, दैलेखका दुई सय ६ विद्यालयका २२ हजार सात सय र रुकुमका एक सय ६७ विद्यालयका २० हजार एक सय विद्यार्थी लाभान्वित छन्। त्यस्तै डढेलधुराका एक सय ३३ विद्यालयका १२ हजार पाँच सय, डोटीका एक सय ७३ विद्यालयका २२ हजार सात सय र अछामका दुई सय ५७ विद्यालयका ३५ हजार ६ सय विद्यार्थीलाई शिक्षाका लागि खाद्य कार्यक्रममा समेटिएको छ। बैतडीका दुई सय ५२ विद्यालयका २७ हजार ६ सय, दार्चुलाका एक सय ९२ विद्यालयका १४ हजार पाँच सय, बझाङका दुई सय ९५ विद्यालयका ३४ हजार चार सय र बाजुराका एक सय ४३ विद्यायका १७ हजार चार सय विद्यार्थीलाई दैनिक दिवा खाजाको व्यवस्था गरिएको छ।

प्रतिविद्यार्थी ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल र दुई ग्राम नुन दिने व्यवस्था मिलाइएको छ। विद्यार्थी र अभिभावकको इच्छाअनुसार स्थानीय स्तरमा उत्पादित तरकारीसमेत थप गरेर पकाउन सकिने व्यवस्था मिलाइएको कोइरालाले बताए। ‘भिटामिन, मिनरलसहित मिलाएर अमेरिकामा तयार पारिएको चामल यहाँ पठाइएको हो’, उनले भने।

प्राथमिक तथा निम्न माध्यमिक अर्थात् आधारभूत तह सञ्चालन भइरहेका विद्यालयमा मात्र कार्यक्रम सञ्चालन गरिएको छ। दिवा खाजा कार्यक्रम सञ्चालन भएका विद्यालयमा उपस्थिति दर बढेको, कक्षा छाड्ने दर घटेको, शिक्षाको गुणस्तरमा सुधार आएको र बालबालिकाको पोषणमा समेत सुधार आएको कोइरालाको दाबी छ।

कार्यक्रम सञ्चालन भएका विद्यालयका विद्यार्थी र अभिभावक पनि निकै खुसी देखिएका छन्।

 

राजेन्द्र कार्कीले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: