२०७६ असोज २ गते

स्कुल बस निर्देशिकाको पालना भएन



कास्की ।  पोखराका अधिकांश स्कुलले स्कुल बस निर्देशिका ०७४ विपरीत बस सञ्चालन गरिरहेका छन् । केही नाम चलेका विद्यालयले समेत निर्देशिकाविपरीत स्कुल बस सञ्चालन गरिरहेको फेला परेको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिव थापाले पोखाराका सबै विद्यालयले स्कुल बस निर्देशिका कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए पनि अधिकांशले कार्यान्वयन नगरेको बताए । यद्यपि, पहिलेभन्दा सुधार भएको उनको भनाइ छ ।

पोखराको ट्राफिक व्यवस्थापनसम्बन्धी अध्ययन गरिरहेकी जापानी नागरिक माधुका वगावाले साना नानीबाबुलाई स्कुल बसमा कोचेर यात्रा गराएको, जहाँपायो ओराल्ने, चढाउने गरेको र गलत ढंगले उछिन्ने गरेको बताइन् ।

कास्कीमा दुई सय हाराहारीमा निजी विद्यालय छन् । यी विद्यालयका करिब चार सय बस सञ्चालनमा छन् । विद्यार्थी बोक्ने बसलाई बिहान विद्यालय समयमा विद्यार्थी पु¥याउन हतार हुन्छ । धेरै ठाउँ पुग्नुपर्ने, सीमित साधनले गर्दा ती बसको गति तीव्र हुने गरेको छ । एउटै बसले सबैतिर भ्याउनुपर्ने भएकाले उनीहरूको गति तीव्र हुने गरेको छ । स्कुल बस निर्देशिका ०७४ अनुसार स्कुल बसको अधिकतम गति ४० किलोमिटर प्रतिघन्टाभन्दा हुनुहुँदैन ।

स्कुल बस निर्देशिकाअनुसार १२ वर्षभन्दा मुनिका विद्यार्थीलाई सिट क्षमताभन्दा १.५ गुणा धेरै राखेर ओसार–पसार गर्न सकिन्छ । यसरी हेर्दा दुई सिटमा १२ वर्षमुनिका तीन विद्यार्थी बस्न सक्छन् । तर, यसैलाई अपव्याख्या गर्ने वा गलत बुझाइका कारण ठूला उमेरका विद्यार्थीलाई समेत कोच्ने गरेको पाइएको ट्राफिक प्रवक्ता थापाले बताए । ‘कुनै बसको सिट क्षमता ४० रहेछ भने त्यसैलाई अपव्याख्या गरेर ६० जना कोच्ने गरिन्छ,’ उनले भने, ‘किन धेरै कोचेको भन्यो भने निर्देशिकाले नै दुई सिटमा तीनजना भनेको छ भन्छन्, १२ वर्षमुनिलाई मात्र हो भनेर सम्झाउनुपर्ने अवस्था छ ।’ प्रवक्ता थापाका अनुसार यसरी धेरै यात्रु कोच्ने बस कारबाहीमा समेत पर्दै आएका छन् ।

पोखराका केही विद्यालयले अझै पनि २० वर्ष पुराना बसमार्फत विद्यार्थी ओसार्ने गरेका छन् । यस्ता गाडी रङरोगन गरेर बाहिरी भाग चिटिक्क परिएका हुन्छन् ।  प्याब्सन बस व्यवस्थापन समिति कास्कीका अध्यक्ष दिलीप शर्मा भट्टराईले त्यस्ता पुराना गाडी अझै सञ्चालनमा रहेको स्विकारे । उनका अनुसार त्यस्ता गाडी हटाउन आग्रह गर्दा पनि कतिपय विद्यालयले अटेर गर्ने गरेका छन् । त्यस्ता पुराना गाडी समितिमा दर्ता भने नगरेको उनको जिकिर छ ।

स्कुल बस निर्देशिका ०७४ अनुसार बसको रङ परिवर्तन गरेका बसले पनि स्कुल बसको भौतिक मापदण्ड पालना गरेका छैनन् । अधिकांश स्कुल बसमा पछिल्लो आधा भागको दाहिनेतिर आपत्कालीन द्वार (इमरजेन्सी इक्जिट्स)को व्यवस्था हुनुपर्छ । बस चल्दा ढोका बन्द गरेर चलाउनुपर्छ । स्कुल बसको झ्यालमा कम्तीमा पनि तीनवटा आल्मुनियम ट्युबको ग्रिल दुवैतर्फ लगाइएको हुनुपर्छ ।

स्कुल बस निर्देशिका ०७४ गत चैत अन्तिमदेखि कार्यान्वयनमा आएको हो । यो निर्देशिका वैशाखबाटै अर्थात् नयाँ शैक्षिक सत्र सुरु हुनासाथ लागू गरिनुपर्ने हो । निर्देशिकाको पूर्ण पालना गर्न–गराउन नसकिएको प्याब्सन कास्कीका निवर्तमान अध्यक्ष चिनु रानाभाट स्विकार्छन् । नयाँ निर्देशिका आएको धेरै नभएको र विस्तारै कार्यान्वयन हुँदै गएको उनको तर्क छ ।

 नयाँ पत्रिकामा गोविन्द सुवेदीले खबर लेखेका छन् ।

Comments: