२०७६ कार्त्तिक २७ गते

स्कुल जाँदैनन् मुसहर बालबालिका

अन्तैबाट

जनकपुरधाम । १२ वर्षीया सुनिता सदा कख लेख्न जान्दिनन्। घरबाट १० मिनेट पर स्कुल छ। तर उनी पढ्न जान्नन्। आमासँग घाँसदाउरा गर्दैमा र साथीसँग खेल्दैमा उनको दिन बित्छ। धनुषाको लक्ष्मनिया गाउँपालिका—२ सिनुरजोडाको मुसहर बस्तीका अधिकांश बालबालिका स्कुल जाँदैनन्। बस्तीमा ४४ परिवार छ। त्यहाँका ५० भन्दा धेरै बालबालिका स्कुल जाँदैनन्। आठ वर्षकी रुमा सदालाई पढ्नै मन लाग्दैन। दिनभरि साथीसँग लुकामारी खेलेर बिताउँछिन्। खेत, खोल्साखोल्सी र पोखरीमा घोंघी समातेर उनी रमाइलो गर्छिन्। स्कुल जान भनेपछि उनको जिउमा काँडा उम्रिन्छ।

सात वर्षीया राधिका सदालाई आमाबुवाले स्कुल भर्ना गराएका छन्। तर उनी साथीसँग खेलेरै दिन काट्छिन्। शिक्षाको पहुँचबाहिर रहेका मुसहर समुदायका बालबालिका पढाइप्रति आकर्षित छैनन्। प्रदेश २ मा प्रदेश सरकारले बालिकालक्षित गरी ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सञ्चालन गरेको छ। तर त्यसको प्रभाव सिनुरजोडाको मुसहर बस्तीसम्म पुग्न सकेको छैन। यो बस्ती राजधानी जनकपुरभन्दा ६ किलोमिटर मात्र पर छ।

बालबालिकालाई भर्ना गराए पनि उनीहरुले स्कुल जानुको साटो खेलेर दिन बिताउने गरेको मुसहर अभिभावक गुनासो गर्छन्। ‘यिनीहरुलाई पढ्न मनै छैन,’ सुनिता सदाकी आमा शिवकुमारी सदाले भनिन्, ‘बाउबाजेले कहिले पढेनन् अब छोराछोरीले के पढ्लान् र ? ’

छोराछोरी स्कुल जानै नमान्ने कौशिला सदाको गुनासो छ। उनी प्रश्न गर्छिन्, ‘मुसहरका बच्चाले पढेर नै के गर्छन् ? ’ मुसहर बालबालिकालाई स्कुल भर्ना गराउन प्रयास नगरिएको भने होइन। भर्ना भएकालाई पनि विद्यालयमा टिकाउन सकिएको छैन। सोही वडाकी दलित वडा सदस्य लक्ष्मीनियादेवी सदा भन्छिन्, ‘हामीले घरघरमा गएर अभिभावकलाई बच्चा पढाउन अनुरोध गर्छौं। तर अभिभावकले ध्यान दिँदैनन्।’ उनका अनुसार अधिकांश मुसहर परिवारका आमाबुबालाई सन्तानको पढाइसँग सरोकार नै छैन।

देशभर मुसहरको जनसंख्या १२ लाख रहेको अनुमान छ। प्रदेश २ मा मुसहरको जनसंख्या सात लाख छ। तिनमा बालबालिकाको जनसंख्या करिब डेढ लाख छ। जनसंख्याको ८० प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको अभियन्ता राजकुमार महतोले बताए।

मनिका झाले अन्नपुर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: