• स्ववियु चुनाव गर्न जेठ दोस्रो साताको समयसीमा
    (अन्तैबाट)

  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी जेठ दोस्रो साताभित्र गर्ने समयसीमा तोकेको छ । त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले बिहीबार विद्यार्थी संगठनहरूसँग छलफल गरी समयसीमा तोकेकी हुन् ।


    ‘कार्यतालिकाअनुसार गत फागुनमै सम्पन्न हुनुपर्ने स्ववियु निर्वाचन विद्यार्थी संगठनको असमझदारीले सर्न गयो,’ त्रिपाठीले भनिन्, ‘स्ववियु चाहिने विद्यार्थीलाई हो, त्यसैले आउँदो जेठ दोस्रो साताको कुनै दिन चुनाव गर्न मिति तोकेका छौं ।’ त्रिविले स्ववियु निर्वाचन समन्वय समितिको अध्यक्षमा शिक्षाध्यक्ष त्रिपाठी र उपाध्यक्षमा रजिस्ट्रार डिल्ली उप्रेतीलाई तोकेको छ ।

    छलफलमा सत्तारुढ नेकपानिकट अनेरास्ववियु र अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फाेरम, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल छैटौं, वैद्यनिकट अखिल (त्रान्तिकारी, नेक्रवित्रम चन्दनिकट अखिल (क्रान्तिकारी), राजपानिकट विद्यार्थी संगठन, राप्रपानिकट राप्रविसंघ, राप्रविसंघ (संयुक्त), नेप्रवियु, आदिवासी जनजाति विद्यार्थी महासंघका प्रतिनिधि सहभागी थिए । प्रतिपक्ष दल कांग्रेसनिकट नेपाल विद्यार्थी संघका प्रतिनिधि भने छलफलमा सहभागी भएनन् ।

    त्रिविले यसअघि फागुन १४ गतेभित्र स्ववियु निर्वाचन गर्न सबै क्याम्पसमा परिपत्र गरेको थियो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आन्दोलनमा रहेकाले स्ववियु निर्वाचन तत्काल हुन नसक्ने बताएका थिए । अखिल (क्रान्तिकारी) का कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले विद्यार्थी आन्दोलन र स्ववियुको गरिमा बचाउन निर्वाचन अनिवार्य भएको बताए । ‘स्ववियु निर्वाचनमा नेविसंघलाई साथै लिएर जाने प्रयासमा छौं,’ उनले भने ।

    कान्तिपुरमा खबर छ ।