२०७६ असोज १ गते

आकाश गर्जदा पनि विद्यार्थीको सातो जान्छ

राजन रावत/हुम्ला



आकाश गर्जदा र मानिसहरु थोरै दौडदा पनि विद्यार्थीको सातो जान्छ । किनभने ठूलो हावा लाग्दा समेत विद्यालयको भवन हल्लिने गर्छ । जसले गर्दा विद्यार्थीहरु डराइ-डराइ पढ्न बाध्य छन् । सदरमुकाम सिमकोटबाट दुई घण्टा पैदलको रलिङ्ग माध्यामिक विद्यालयका विद्यार्थीहरु आकाश कालो हुनसाथ डराउने गर्छन  ।

सामान्य घटनामा पनि  भवनै हल्लिने भएपनि अन्य विकल्प नहुँदा सोही भवनमा पढ्न बाध्य भएको कक्षा १० का छात्र धनञ्जय बोहरा बताउँछन् ।  'धन्न हालसम्म केही भएको छैन तर पढ्दा खेरि मानसिक तनाब भने हुन्छ' – बोहराले भने ।

२०७२ को  भूकम्पले चर्काएको भवनमा पढ्नुपर्दा  विद्यार्थी सधैँ डराएको मनस्थितीमा पढ्न बाध्य रहेका भन्दै  बाल क्लवको अध्यक्ष समेत रहेकी कक्षा १० की छात्रा छिरिङलामु लामा पढाईलाई पनि यसले प्रत्यक्ष असर पारि रहेको बताउँछिन् ।

यस्तो माहोलबाट मुक्ति दिलाई दिन धेरै नियकाहरुलाई अनुरोध गरे पनि हालसम्म कसैवाट सहयोग नमिलेको लामाले बताइन् ।

भुकम्पले चर्किएको दुईतले आठ कोठे भवनको चिरा परेका तीन वटा कोठामा हाल आठ, नौ र दश कक्षाको अध्ययन भइरहेको विद्यालयका शिक्षक बसन्त कुमार थापाले बताए ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट १९ लाख ५० हजार नगद र केही जिन्सी सामानबाट स्थानीय उपभोक्ताहरुले इष्टिमेट अनुसारको भवन निर्माण नगर्दा विद्यालयलाई ठूलो क्षति भएको उनले बताए ।

कुल तीनवटा बल्क मध्ये दुईवटालाई भूकम्पले पूर्ण क्षति पुर्याएको र बाँकी रहेको एक भवनमा क्षति पुगेको भए पनि हाल कक्षाकोठाको अभावमा पठन–पाठन तिनैमा भइरहेको थापाले बताए ।

। ती कक्षाकोठामा पठन–पाठन गर्न शिक्षकहरु पनि डराई रहेको उनले बताए ।  भवन एकातिर अपुरो बन्नु र अर्कोतर्फ भूकम्पले क्षति पुर्याएको कारण भविष्यमा यसबाट ठूलै जोखिम मोल्नु पर्ने अवस्था छ । उक्त भवन आर्थिक वर्ष ०६२।०६३ मा निर्माण भएको हो ।


Comments: