२०७७ जेष्ठ २५ गते

अभिलेखमा चार सय, कक्षामा चार

अन्तैबाट

सिरहा । भगवानपुर गाउँपालिका–४ विश्वासपट्टीस्थित अधारभूत विद्यालयको अभिलेखअनुसार कक्षा १ देखि ८ सम्म तीन सय ८० विद्यार्थी छन्। तर अभिलेखअनुसार विद्यार्थी कक्षामा देखिएनन्।

नागरिककर्मी विद्यालय पुग्दा रोशनकुमार कामैत, मुक्तिकुमारी पासवान, रोहितकुमार कामैत र आरतीकुमारी कामैत मात्र थिए। बाँकी कक्षाकोठा बन्द थिए। उनीहरू कक्षा १ का थिए। अभिलेखमा भएका अरू विद्यार्थी विद्यालयमा देखिएनन्। भेटियो त केवल विद्यार्थीको अभिलेख भरिएको रजिस्टर र विद्यालयको चौरमा गफ हाँकिरहेका शिक्षक। रजिस्टरमा नाम भएका विद्यार्थी पढ्न आउँदैनन्। पढ्न नआए पनि उनीहरुको नाम रजिस्टरमा कायमै छ। परीक्षा हुँदा र माथिबाट कोही अनुगमनका लागि आउने जानकारी पाउँदा मात्र विद्यार्थीलाई उपस्थित गराउने गरिएको एक शिक्षकले बताए।

विद्यालयमा पढाइ नियमित नहुँदा यस्तो अवस्था आएको हो। गाउँकै विद्यालयमा पढाइ नहुँदा सीमावर्ती विश्वासपट्टीका बालबालिकालाई सीमावर्ती भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ। बिहार मधुवनीको लौकाहा बजारस्थित राजकीय कन्या माध्यमिक विद्यालयमा पढ्ने विश्वासपट्टीकी छात्रा कविताकुमारी पण्डित भन्छिन्, ‘गाउँको विद्यालयमा कहिल्यै पढाइ हुन्न। नजिक छाडेर टाढाको विद्यालय जानु रहर होइन, बाध्यता हो।’

कवितासँगै सीमावर्ती भारतीय बजार लौकाहाको कन्याम माविमा पढ्न गएका उनका साथी पनि यस्तै दुखेसो पोख्छन्। विश्वासपट्टीस्थित आधारभूत विद्यालय अगाडि घर भएका राजलाल मण्डलका अनुसार यहाँ शिक्षकहरुको मनपरी छ। ‘शिक्षकलाई गफ गर्न मन लागेको बेला विद्यालय खुल्छ, नलागेका बेला बन्द रहन्छ। यो विद्यालय पढाइका लागि नभई शिक्षकहरूको मनोरञ्जनका लागि हो,’ उनले भने। विद्यालयछेउमै घर भएका अर्का रामदेव मण्डल भन्छन्, ‘आँगनमै विद्यालय छ। नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो धनराशि खन्याइरहेको पनि छ तर के गर्नु ? विद्यालयमा कहिल्यै पढाइ हुँदैन।’

    आधारभूत विद्यालयमा विद्यार्थीको तथ्यांक बढाएर छात्रवृत्ति, पाठ्यपुस्तक, दिवा खाजा कार्यक्रमको बजेटमा पनि भ्रष्टाचार हुँदै आएको छ।

राजकीय कन्या माध्यमिक विद्यालयका प्रभारी प्रधान (प्रधानाध्यापक) देवकुमार नेपालका सीमावर्ती क्षेत्रका थुप्रै विद्यार्थी त्यहाँ पढ्छन्। करिब चार सय घरधुरी रहेको भगवानपुर गाउँपालिका–४ विश्वासपट्टी, ठढी सीमाक्षेत्रबाट बिहार मधुवनी जिल्लाको लौकाहा बजारका कन्भेन्ट, राजकीय कन्या र लक्ष्मीनारायण जनता विद्यालयमा एक हजार हाराहारी नेपाली विद्यार्थी अध्ययनरत रहेको मण्डलले बताए।

विश्वासपट्टीका धर्मनाथ गुप्ताका अनुसार सीमापारिका विद्यालयमा छोराछोरी पढ्न पठाउनु रहर नभई बाध्यता हो। ‘गाउँको विद्यालयमा पढाइस्तर राम्रो बनाउन हामीले सामाजिकस्तरबाट धेरै प्रयास गर्यौं तर राजनीतिको अगाडि हाम्रो केही चलेन,’ उनले भने, ‘नियमनकारी निकाय जनताको नभई नेताका कुरा सुन्छन्। नेता सबै शिक्षकका संरक्षक छन्। मुलुकको व्यवस्था फेरियो तर यस विद्यालयको अवस्था सुध्रिएन।’

आधारभूत विद्यालयमा चारजना विद्यार्थीको उपस्थिति भए पनि दरबन्दीका शिक्षक सातजना छन्। प्रधानाध्यापक रामचन्द्र साहका अनुसार अझ एक शिक्षक आवश्यक छ। गाउँभरिका विद्यार्थी पढ्न सीमापारि जान्छन् तर उनीहरूको अभिलेख आधारभूत विद्यालय विश्वासपट्टीमा राखेर विद्यालय प्रशासनले सरकारी सेवासुविधा उपभोग गर्दै आएको पाइएको छ। स्थानीयवासीका अनुसार यो क्रम एक दशकदेखि जारी छ। शिक्षक सुनिककुमार कर्ण भन्छन्, ‘यहाँ परीक्षाका बेला मात्र विद्यार्थी उपस्थित गराइन्छ। माथिबाट अनुगमनकर्ता आउने बेला पनि हामी गाउँ घुमेर पढ्ने उमेरका बालबालिका ल्याएर कक्षाकोठा खचाखच भरिदिन्छौं। तपाईंहरू अचानक आएर यथार्थ अवस्था देख्न भ्याउनुभयो। यहाँको चलन यस्तै हो। खै अहिलेसम्म कसैले केही गरेको छैन। अब पनि कसैले केही गर्न पनि सक्दैन।’ तर भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादव भने स्कुलको अवस्था राम्रो भएको दाबी गर्छन्। ‘यहाँ पढाइको अवस्था गज्जब छ। कक्षामा विद्यार्थी खचाखच भरिएका हुन्छन्। शिक्षकहरू पनि राम्रो पढाउँछन्,’ उनले भने, ‘वर्षौंदेखि विद्यालय व्यवस्थापन समिति नभएर मात्र अलिक कमी देखिएको छ।’ विद्यालयको गुणस्तर सुधारदेखि नियमनको पाटो हेर्ने गाउँका मुखिया (गाउँपालिका अध्यक्ष) ले यथार्थ कुरा लुकाउनु दुर्भाग्य भएको स्थानीय बताउँछन्।

व्यवस्था फेरिँदा पनि अवस्था नफेरिएको अर्को विद्यालय हो– सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित राष्ट्रिय अधारभूत विद्यालय खैरबोना। यो विद्यालयको अभिलेखअनुसार ९२ जना विद्यार्थी अध्यनरत छन् तर कक्षामा ३० जना मात्र भेटिए। यहाँ दरबन्दीका दुई शिक्षक छन्। त्यस्तै राहतका एक र बालविकासका एक शिक्षिका छन्। विद्यालय पुग्दा कार्यालय सहयोगी राजकुमार यादव कक्षा ४ र ५ को संयुक्त कक्षामा उपस्थित आठजना विद्यार्थीलाई सम्हालिरहेका थिए। उनले भने, ‘कोही नहुँदा मलाई आउने जति पढाएर छुट्टी दिन्छु।’ १, २ र ३ को संयुक्त कक्षामा उपस्थित २२ जना विद्यार्थीलाई प्रधानाध्यापक अनिरुद्र यादवले क, ख, ग... पढाइरहेका थिए। बालविकासकी शिक्षिका रञ्जिताकुमारी ठाकुर, राहत शिक्षिका विनिता यादव र दरबन्दीका शिक्षक चन्देश्वरप्रसाद यादव अनुपस्थित थिए।

‘सबै शिक्षक स्थानीय हुन्। कसलाई के भन्नु ?’ प्रधानाध्यापक यादवले लाचारी प्रकट गरे। शिक्षक कोही स्थानीय जनप्रतिनिधिका त कोही गाउँपालिका कर्मचारीका नातापाता भएकाले प्रधानाध्यापक यादव चुप बस्न बाध्य छन्। पढाइ नभएपछि विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको स्थानीय बताउँछन्। ‘कार्यालय सहयोगीले पढाउने विद्यालयमा कसले बच्चा पठाउँछन्,’ स्थानीय अशोक यादवले भने। आइतबार यी दुई विद्यालयमा पुग्दा अभिलेखमा नाम भएका विद्यार्थी कक्षाकोठामा नभेटिएका हुन्। यी दुई प्रतिनिधि विद्यालय हुन्। जिल्लाका अन्य केही विद्यालयको अवस्था झन् बेहाल छ।

परिवर्तित संरचनाअनुसार अहिले प्रत्येक पालिका (गाउँ, नगर) मा सञ्चालित विद्यालय हेर्नेगरी शिक्षा शाखा प्रमुख (अधिकृत, उपसचिव) को व्यवस्थापन गरिएको छ। विद्यालयले बुझाउने विद्यार्थीको तथ्यांक यकिन गरी रुजु गर्ने अधिकार उनीसँगै हुन्छ। शिक्षा शाखाबाट स्वीकृत विद्यार्थी तथ्यांकका आधारमा मात्र पालिकाबाट विद्यालयमा तलब निकासा पठाउने प्रावधान छ। आधारभूत विद्यालयमा विद्यार्थीको तथ्यांक बढाएर छात्रवृत्ति, पाठ्यपुस्तक, दिवा खाजा कार्यक्रमको बजेटमा पनि भ्रष्टाचार हुँदै आएको छ।

मिथिलेश यादवले नागरिकमा खबर लेखेका छन् ।

Comments: