२०७६ मंसिर ४ गते

सामुदायिकमा प्राविधिक शिक्षा

अन्तैबाट

बुटवल ।  प्राविधिक शिक्षामा आकर्षण बढेपछि निजी विद्यालय छाडेर सामुदायिकमा अध्ययन गर्नेको संख्या बढ्दै गएको छ । बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाइ हुन्छ ।

गुल्मीको शान्तिपुरकी सुस्मिता पुन अहिले यहीँ सिभिल इन्जिनियरिङ पढ्दै छिन् । नर्सरीदेखि कक्षा ८ सम्म गुल्मीकै भानु सेकेन्डरी बोर्डिङ स्कुलमा पढेर इन्जिनियरिङ पढ्न यहाँ आएको उनले बताइन् । बुटवल गोलपार्कका रोशन सुवेदी पनि यही विद्यालयमा सिभिल इन्जिनियरिङ पढ्दै छन् । उनले पनि तल्लो कक्षा निजीमै पढेका हुन् । ‘मेरो इच्छा इन्जिनियर बन्ने हो, त्यो सुविधा निजीमा छैन,’ उनले भने, ‘त्यसैले यता आएँ ।’

अहिले यस विद्यालयमा सिभिल इन्जिनियरिङ पढ्ने १ सय ७५ विद्यार्थी छन् । तीमध्ये धेरै निजीबाटै आएका हुन् । प्रवेश परीक्षा उत्तीर्ण गरे जोसुकैले पढ्न पाउने व्यवस्था भएपछि सामुदायिकको सट्टा निजीका विद्यार्थीले अवसर पाएका हुन् । यसले सामुदायिकमा पढेका लक्षित विद्यार्थी भने अवसरबाट वञ्चित हुन पुगेका छन् । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले इन्जिनियरिङ पढ्न अंग्रेजी भाषामा दखल आवश्यक परेकाले निजी स्कुलका विद्यार्थीलाई समेत अवसर दिइएको बताए ।

‘पहिलो वर्ष यही विद्यालयमा पढेकालाई मात्रै अवसर दियौं,’ उनले भने, ‘यसो गर्दा धेरै विद्यार्थीले पढाइको लोड थाम्न सकेनन् ।’ १५ विद्यार्थीलाई कक्षा १० मा जानबाटै रोक्नुपर्ने बाध्यता परेपछि अर्को वर्षबाट निजीका विद्यार्थीलाई पनि प्रवेश गराएको उनले बताए । कालिका मानविज्ञान माविमा पनि कक्षा ९ देखि १२ सम्म १ सय ८० विद्यार्थीले कम्प्युटर इन्जिनियरिङको पढाइ गर्दै छन् ।

यहाँ पनि अधिकांश विद्यार्थी तल्लो कक्षा निजी विद्यालयमा पढेका आएको प्रधानाध्यापक घनश्याम पाठकले बताए । ‘मध्यम खालको वा तल्लो तहमा अंग्रेजी नपढेको विद्यार्थीले प्राविधिक शिक्षा पढ्नै सक्दैनन्,’ उनले भने, ‘त्यसैले तल्लो कक्षा निजीमा पढेका विद्यार्थीलाई अवसर दिन बाध्य छौं ।’ ६ वर्षदेखि सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पढाउन थालिएको हो । कक्षा ९ देखि १२ सम्म इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, कृषि तथा पशु विज्ञानतर्फ बाली विज्ञान र पशु विज्ञानका कक्षा सञ्चालनमा छन् ।

तल्लो कक्षादेखि नै सामुदायिक विद्यालयमा पढेका, मध्यम खाले र विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन भएका हुन् । तर, प्राविधिक शिक्षामा अधिकांश विद्यार्थी भने निजीकै छन् । त्यसले लक्षित विद्यार्थी प्राविधिक शिक्षाको पहुँचमा पुग्नै नसकेको सामाजिक विकास मन्त्रालयका शिक्षा उपसचिव थानेश्वर ज्ञवालीले बताए ।

कान्तिपुरमा खबर छ ।

Comments: