२०७६ भदौ २ गते

सामुदायिक विद्यालयमा सिसी क्यामेरा : आवश्यकता कि फेसन ?

महेश न्यौपाने/रोल्पा


पछिल्लो पटक रोल्पाका सामुदायिक विद्यालयहरुमा सिसी क्यामेरा जडान गर्ने होडवाजी चल्न थालेको छ । विद्यालयको भित्री तथा बाहिरी वातावरण अनुगमन गर्ने भन्दै सिसी क्यामेरा जडानलाई तिव्रता दिन थालेका हुन् ।


सिसी क्यामेरा जडानमा जिल्लाका संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालय अगाडि देखिएका छन् । नयाँ प्रविधिको उपयोगले विद्यालयको शिक्षण सिकाइलाई उपलव्धिमुलक बनाउन  सहयोग गर्ने ती विद्यालयले दाबी गरेका छन् ।


जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले जिल्लाका सामुदायिक विद्यालय मध्ये सुरुमा सिसि क्यामेरा जडान गरेको हो । कक्षा कोठा र विद्यालय प्रांगन समेतका लागि करिब १ दर्जन सिसी क्यामेरा जडान गरेको सो विद्यालयले सवै कक्षामा सो क्यामेरा विस्तार गर्ने योजनामा  छ ।


विद्यालयमा विद्यार्थीको चापलाई मध्यनजर गर्दै प्राचार्यकै कार्यकक्षवाट अनुगमनमा सहजता होस भनेर क्यामेरा जडान गरेका हौं– विद्यालय व्यवस्थापन समितिका सदस्य जीतवहादुर डाँगीले भने । क्यामेरा जडानले अनुगमन कार्य सहज भएको हाम्रो बुझाई छ ।


क्यामेराले कक्षा शिक्षक विद्यार्थी दुवै पक्षको अनुगमन हुने भएकाले ठग्ने शिक्षकलाई निरुत्साहित गरेको छ – सोही विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले भने । विद्यार्थी पनि कक्षा कोठामा वसेर खाली समयमा समेत स्वअध्ययन गर्ने क्रम वढ्दै गएको उनले अनुभव सुनाए ।


रोल्पा नगरपालिका–७ मा रहेको नेपाल राष्ट्रिय मावि कोटगाउँले समेत कक्षा अनुगमनका लागि सिसी क्यामेरा जडान गरेको छ । माथिल्ला कक्षाहरुमा सिसी क्यामेरा जडान गरेर दैनिक कक्षा अनुगमन गरेको विद्यालयले बताएको छ । सिसी क्यामेरा जडानले विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न नहोस भनेर सुरुमै परामर्श गरेका थियौं– विद्यालयका प्रधानाध्यापक कृष्ण पुनले भने ।


विद्यार्थीलाई मनोवैज्ञानिक त्रास नहोस भनेर जडान गरिएका सवै कक्षाका विद्यार्थीसंग परामर्श गरिएको पुनको भनाई छ । क्यामेरा जडानले विद्यार्थीलाई अनुशासनमा वस्न समेत उत्प्रेरित गरेको छ– प्रधानाध्यापक पुनले भने ।


जिल्लाका अन्य सामुदायिक विद्यालयहरुले समेत यस्ता क्यामेरा जडान गरिरहेका छन् । विद्युतको पहुँच पुगेका विद्यालयमा यो सेवा विस्तार हुदै गएको बताइन्छ । आफ्नो श्रोत साधन नहुने विद्यालयहरुले समेत सांसद विकास कोष तथा स्थानीय सरकारको सहयोगमा समेत यस्तो कार्यलाई वढवा दिदै गएको बताइन्छ ।  


क्यामेरा जडान संगै विद्यालयहरु प्रविधिमैत्री देखिए पनि अभिभावकले भने सिसी क्यामेराले विद्यार्थीहरुलाई मनोवैज्ञानिक असर गर्ने गुनासो गर्न थालेका छन् । एसइइ परीक्षाको समयमा सिसी क्यामेरा जडान नभएका विद्यालयका विद्यार्थी जडान भएको विद्यालयको परीक्षा केन्द्रमा गई परीक्षा दिँदा मनोवैज्ञानिक असर देखिने गरेको उनीहरुको गुनासो छ । यो आवश्यकता भन्दा बढ्ता फेसनको रुपमा आयो– एकजना अभिभावकले गुनासो गरे ।


Comments: