२०७६ कार्त्तिक ३ गते

समग्रमा एसइइ नतिजामा सुधार, सामुदायिक भने कमजोर

ईपाटी संवाददाता


काठमाडौं । समग्रतामा एसइइको नतिजामा सुधार आएपनि सामुदायिक विद्यालयको नतिजा भने कमजोर पाइएको छ । मुलुकभरको नतिजा हेर्दा ग्रेडिङ पद्धति सुरु भएपछि यसपटक एसइइको समग्र नतिजा प्रतिशत उच्च देखिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसइइ नतिजाअनुसार १.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ८७.६४ प्रतिशत छ । गत वर्षको तुलनामा यो १० प्रतिशतले बढी हो  । अघिल्लो वर्ष ७७ प्रतिशत थियो ।


गत चैतमा सञ्चालित परीक्षामा चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए । तीमध्ये तीन लाख २५ हजार तीन सय ३० (७०.८४ प्रतिशत) सामुदायिक र एक लाख ३३ हजार नौ सय ४५ (२९.१६ प्रतिशत) निजी विद्यालयका छन् ।

नतिजाअनुसार १७ हजार पाँच सय ८० विद्यार्थीले ३.६० देखि ४.० जीपीए  ल्याएका छन् । तीमध्ये सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ मात्रै छन् ।  जुन १५.८८ प्रतिशत मात्रै हो । निजी विद्यालयका ८४.१२ प्रतिशत अर्थात् १४ हजार सात सय ८८ जना परीक्षार्थीले ३.६० देखि ४.० जीपीए  ल्याएका छन् ।

त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी पनि संस्थागत एवं निजी विद्यालयको तुलनामा न्यून छन् । कुल ५१ हजार एक सय ३७ जना ३.२० देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीमध्ये सामुदायिक विद्यालयका ११ हजार दुई सय २३ अर्थात् २१.९४ प्रतिशत मात्रै छन् । जुन ३.६० देखि ४.० जीपीए  ल्याउने भन्दा ६ प्रतिशत बढी हो । निजी एवं संस्थागत विद्यालयका ७८.०६ प्रतिशत अर्थात् ३९ हजार नौ सय १४ जना परीक्षार्थीले ३.२० देखि ३.६० जीपीए ल्याएका छन् ।



२.८० देखि ३.२० जीपीए ल्याउने परीक्षार्थीतर्फ पनि सामुदायिकलाई निजीले उछिनेको छ । कुल ६३ हजार सात सय ४१ परीक्षार्थीको २.८० देखि ३.२० जीपीए छ । सामुदायिकका ४१.३६ प्रतिशत अर्थात् २६ हजार तीन सय ६६ परीक्षार्थीले २.८० देखि ३.२० जीपीए ल्याएका छन् । निजी विद्यालयका ५८.६४ प्रतिशत अर्थात् ३७ हजार तीन सय ७५ जनाले २.८० देखि ३.२० जीपीए ल्याएका छन् ।

जीपीए २.८० भन्दा कम आउने परीक्षार्थीमा सामुदायिक विद्यालयका विद्यार्थी बढी छन् ।
सामुदायिकबाट २.४० देखि २.८० जीपीए ल्याउने ५३ हजार सात सय ३०, २.० देखि २.४० जीपीए ल्याउने ८७ हजार चार सय ४२, १.६० देखि २.० जीपीए ल्याउने  ९० हजार चार सय ४५, १.२० देखि १.६० जीपीए ल्याउने ४२ हजार तीन सय ६३ र ०.८० देखि १.२० जीपीए ल्याउने  चार हजार दुई सय ९६ जना परीक्षार्थी छन् ।

निजी विद्यालयतर्फ २.४० देखि २.८० जीपीए ल्याउन २२ हजार आठ सय ३४, २.० देखि २.४० जीपीए ल्याउन १० हजार सात सय ६५, १.६० देखि २.० जीपीए ल्याउने  चार हजार आठ सय ६२, १.२० देखि १.६० जीपीए ल्याउने एक हजार चार सय ७८ र ०.८० देखि १.२० जीपीए ल्याउने एक सय ३३ परीक्षार्थी छन् ।

Comments: