२०७६ मंसिर २९ गते

विद्यार्थीले शुरु गरे आमरण अनसन

प्रभा रावत/सुर्खेत



मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरु आमरण अनसन शुरु गरेका छन् ।


विश्वविद्यालयले आफ्ना मागहरुको सुनुवाई नगरेको भन्दै उनीहरुले बुधवारदेखि आमरण अनसन सुरु गरेका हुन् । उनीहरु वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय महाविद्यालयको परिसरमा अनसन बसेका छन् ।


विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा प्रयाप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायतका मागहरु राखेर अनसन बसेका हुुन् ।


आफ्ना मागहरु क्याम्पस प्रशासनलाई राख्दा पनि वेवास्ता गरी बार्ता नै नगरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । इञ्जिनियरिङ संकायका विद्यार्थीहरु रोशन बस्नेत, मिलन विसी र रतनकुमार शर्मा अनसनमा बसेका छन् ।


उनीहरुले १५ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा पनि विश्वविद्यालयका पदाधिकारीहरुले वेवास्ता गरेको भन्दै अनशन बसेको संघर्ष समितिका सदस्य रोशन बस्नेतले बताउए । उनले आफ्ना मागहरु पुरा नभएसम्म अनसनलाई जारी राख्ने बताए ।


विद्यार्थीहरुले भोलिदेखि विश्वविद्यालयमा रहेको सम्पुर्ण सवारीसाधन बन्दगर्ने पनि घोषणा गरेका छन् ।   


Comments: