• शुरु नहुँदै सकियो लियन सट्टा शिक्षकको आन्दोलन
    (ईपाटी संवाददाता)


  • काठमाडौं । शिक्षकका संघसंगठनहरुको आग्रहपछि स्रोतव्यक्ति सट्टा शिक्षक केन्द्रिय समितिले पूर्वघोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु तत्कालका लागि स्थगित गरेको छ ।


    सरकारसँगको कुनै वार्ता सम्झौता बिना नै समितिले एक्कासी सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको हो । समितिले माघ २ र ३ गते देशभरका सामुदायक बन्दको कार्यक्रम राखेपनि त्यो प्रभावहीन भएको थियो । सो, आन्दोलनको सामाजिक सञ्जालमा व्यापक विरोध समेत भएको थियो ।


    आन्दोलनको प्रभाव शून्य भएपछि अतालिएको समितिले अन्ततः आन्दोलनकै कार्यक्रम स्थगित गरेको हो । सरकारले वार्ताका लागि नसोधे पनि शिक्षका संघसंगठनहरु आफ्नो माग प्रति सकारात्मक देखिएका भन्दै एक प्रेस विज्ञप्ति जारी गरी समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।


    बिहीवार समितिका अध्यक्ष बाशुदेव शर्मा र महासचिव श्रीकान्तनन्द गिरीले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा माघ ४ गतेदेखिको आन्दोलन शिक्षक संघसंगठनका आग्रह बमोजिम तत्कालका लागि स्थगितत गरिएको जनाइएको छ ।


    स्रोत व्यक्ति फिर्ता गर्ने निर्णय तत्काल सच्याउनुपर्नेलगायतका माग राखी समितिले आन्दोलन घोषणा गरेको थियो ।  समितिले निर्णय नसच्याए माघ ८ गते पछि अनिश्चितकालीन विद्यालय बन्द गर्नेलगायतको आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको थियो ।


    यसैबीच समितिले आफ्ना माग प्रति ऐक्यबद्धता जनाइदिन माग गर्दै शिक्षक महासंघ र शिक्षकका विभिन्न संघसंगठन प्रमुखहरुलाई  ज्ञापनपत्र समेत बुझाएको थियो ।


    देशभर रहेका १०५३ श्रोत केन्द्र मध्ये केहीमा अस्थायी श्रोत व्यक्ति नियुक्त गरिए पनि अधिकाँशमा शिक्षकलाई नै श्रोतव्यक्ति बनाईएको छ । उनीहरुको ठाउँमा सट्टा शिक्षक कार्यरत छन् ।