• भारी हिमपातले हुम्लामा सकस, विद्यालय भवन नै भत्कियो
    (राजन रावत/हुम्ला)

  • सिमकोट गाउँपालिका अन्तर्गत मानसरोवर माविका भवन भत्केको छ । तीन दिनदेखि लगातार परेको भारी हिमपातलाई थेग्न नसकेपछि विद्यालयको हल कामै नलाग्ने गरि भत्केको हो ।

    विद्यालयका लागि सेमिनार, प्रयोगात्मक कक्षा, अभिभावक भेला, प्रदर्शन गर्ने नयाँ सभा हल हिमपातको भार थेग्नै नसकेर भत्किएको विद्यालयका प्रधानाध्यापक अम्मर बहादुर शाहीले जानकारी दिए ।  कम्तिमा असी जनासम्म सहजै अट्ने भवनको काठहरु कामै नलाग्ने गरि भाँचिएको उनले बताए ।  

    त्यो सँगै जस्तापात पनि कान नलाग्ने भएका छन् । भवन भित्र रहेका केही फर्निचरमा समेत क्षति पुगेको छ । प्रअ शाहीले भने– बिदाको समय भएको कारण भवन भत्किदा मानवीय क्षति भने हुन पाएन ।

    विद्यालयका लागि बहु प्रयोजनाका रुपमा लागि उपयोगी भवन भत्किएर निक्कै नोक्सानी भएको उनले बताए ।

    हिमपात बाक्लो भएको कारण भवन भत्किदा के कति क्षति भएको छ, त्यसको विवरण आउन भने बाँकी रहेको छ । घाम लागेमा र हिउँ फालेर भए पनि भत्किएको भवन को मुचुल्का तयार गरिने विद्यालयले जनाएको छ । भवन निर्माण गर्दा लामो र ठुलो भवनलाई बिचमा सपोटिङ्ग नराखिएकोले पनि भवन भत्किएको हो ।