२०७६ कार्त्तिक ३ गते

इसिडि र विद्यालय कर्मचारीको सुविधा बढाउन प्रधानमन्त्री सहमत, अस्थायी शिक्षकको माग पुरा नहुने

ईपाटी संवाददाता


काठमाडौं । प्रारम्भिक बालविकास(इसिडि)मा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएका छन् । आइतबार राती ९ बजे शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापासँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले इसिडि शिक्षक र विद्यालय कर्मचारीलाई पोशाक भत्ता दिन र तलब बढाउन सहमत देखिएका हुन् ।


भेटवार्तामा सहभागी महासंघका अध्यक्ष थापाका अनुसार शिक्षामन्त्रीले अन्य शिक्षक कर्मचारीको तलब बढेको सन्दर्भमा इसिडि शिक्षक र विद्यालय कर्मचारीको तलब कति बढाउने ? भनेर प्रश्न गरेकामा प्रधानमन्त्री ओलीले त्यसमा सहमति व्यक्त गर्दै छलफल गरेर टुंगो लगाउने बताएका हुन् ।


'प्रधानमन्त्रीको सकारात्मक आशय हेर्दा केही दिनमै इसिडि र विद्यालय कर्मचारीले पोशाक भक्ता पाउँछन् र केही तलब पनि बढ्छ'– अध्यक्ष थापाले भने ।


अस्थायी शिक्षकको मागप्रति असहमति
परीक्षामा फेल भएर पनि स्थायी हुनु पर्ने भन्दै अनसनमा बसेका अस्थायी शिक्षकको माग प्रति भने प्रधानमन्त्री ओलीले असहमती जनाएका छन् । महासंघका अध्यक्ष थापाले अस्थायी शिक्षकको अनशन र मागको बारेमा जानकारी गराउन साथ प्रधानमन्त्री ओलीले ४० अंकपनि ल्याउन नसक्नेलाई कुनै हालतमा स्थायी गर्न नसकिने बताएको हुन् ।


परीक्षामा अनुत्तीर्ण भएपछि पनि स्थायी गर भनेर हुन्छ भन्दै प्रधानमन्त्रीले अनशन छाडेर सुविधा लिइ बिदा हुनुपर्ने धारणा व्यक्त गरेका अध्यक्ष थापाले बताए ।


’यो आन्दोलन तुरुन्त फिर्ता गराउनुहो्स् भन्नुभएको छ ।असार सम्मको तलव खुवाउ नत भन्दापनि तयार देखिनुभएन ।’थापाले भने ।


दरबन्दी थप्दै जाने आश्वाशन
शिक्षकको दरबन्दी मिलान र नयाँ दरबन्दी यकिन गर्ने काम जरुरी बारे बताउँदा प्रधानमन्त्री सकारात्मक देखिएको उल्लेख गर्दै महासंघ अध्यक्ष थापाले भने– 'दरबन्दी सबै एकैचोटी थप्न सकिदैन, मिलान गर्दै विस्तारै थप्दै जाने हो भनेर प्रधानमन्त्रीले भन्नुभयो ।'


आयोगको प्रतिवेदनको कार्यान्वयनमा जोड
आफूले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दा प्रधानमन्त्रीले सार्वजनिक भन्दापनि त्यसको नीतिगत कार्यान्वयनमा जोड दिएको अध्यक्ष थापाले स्पट पारे । प्रतिवेदनका नीतिगत विषय शिक्षा ऐन बनाएर कार्यान्वयनमा जानुपर्ने प्रधानमन्त्रीको धारणा रहेको थापाले बताए ।


अध्यक्ष थापाले एकपटक सामुहिक र आधाघण्टा जति आफूले मात्रै प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिए । मैले प्रधानमन्त्रीसँग गरेको गोप्य छलफलमा शिक्षक र शिक्षा क्षेत्रमा देखिएका अन्यौल समयमा समाधान नगर्दा चुनावमा पार्टिले गरेको प्रतिवद्धता पुरा नगरेको ठहरिने भएकाले गम्भिर हुन आग्रह गरेको, तत्काल शिक्षा ऐन जारी गरेर शिक्षामा देखिएका समस्याको समाधान गर्नुपर्नेलगायतका विषय विषय राखेको थापाले स्पष्ट पारे ।


शिक्षामन्त्री शिक्षकहरुको मागप्रति सकारात्मक नभएको टिप्पणी भइरहेका बेला शिक्षामन्त्री, शिक्षक महासंघका अध्यक्ष र प्रधानमन्त्रीको सिधै छलफल भएको हो । भेटघाटमा शिक्षामन्त्रीका सल्लाहकार जीवन गौतमको समेत सहभागिता रहेको थियो ।

 

Comments: