• सामुदायिक विद्यालयमा भर्ना हुनेलाई गाउँपालिकाद्वारा सहयोग रकम
    (अन्तैबाट)

  • बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीबाट भर्ना शुल्क नलिन गाउँपालिकाले निर्णय गरि निर्देशन दिएको छ ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिका भित्र रहेका विद्यालयहरुलाई विद्यार्थीबाट भर्ना शुल्क नलिन निर्देशन दिएका हुन् ।
    कतिपय विद्यालयले विद्यार्थीबाट रकम उठाएर विद्यालयको बैंक मौज्दात मात्र बढाएको उनको आरोप छ ।


    'विद्यार्थी र उनिहरुको अभिभावकको रगत पसिनाको कमाई चुसेर विद्यालयले आफनो बैंक ब्यालेन्स बढाउनु गलत हो'–यादवले भने । 'त्यस कारण अबका दिनमा गाउँपालिकाका कुनै पनि सामुदायिक विद्यालयमा भर्ना शुल्क लिईने छैन ।'


    रामनरेश यादव आदर्श माध्यमिक विद्यालयका कक्षा ११ का विद्यार्थीले कक्षा १२ को विद्यार्थी बिदाई कार्यक्रममा बोल्दै उनले यसै शैक्षिक सत्र देखि नै भर्ना निशुल्क गरिएको बताए । यसको लागि गाउँ शिक्षा समितिबाट समेत निर्णय भई सकेको यादवले जानकारी दिए ।  स्थानिय तहले अब सबै बिद्यालयको अनुगमन गर्ने उनले बताए ।


    जति विद्यार्थी भर्ना हुन्छन ती सबै विद्यार्थीको भर्ना बापतको शुल्क गाउँपालिकाले भुक्तानी गर्ने अध्यक्ष यादवले बताए ।


    कुनै पनि हालत रोहिणी गाउँपालिकाका सामुदायिक विद्यालयहरुले भर्ना शुल्क लिन नपाउने र लिएको भए पनि त्यसलाई फिर्ता गर्न विद्यालयहरुलाई निर्देशन दिएको उनले बताए ।

    विद्यालयको कोष बढाएर कतिपय विद्यालयका कर्मचारी र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीले कोष हिनामिना गरि रहेको उजुरीहरु गाउँपालिकामा आई रहेको उनको कथन छ । अबका दिनमा कोष बढाउन भन्दा पनि शैक्षिक स्तर उकास्न विद्यालयलाई आग्रह समेत गरे ।

    यमलाल भुसालले नेपाल समाचार पत्रमा खबर लेखेका छन् ।