• साकार हुँदै मेडिकल कलेजको सपना
    (अन्तैबाट)

  • धनगढी  । सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज स्थापनाको छलफल सुरु भएको तीन दशक भयो । अब बीचैमा कुनै बाधा आएन भने डेढ वर्षभित्र मेडिकल कलेज स्थापनाको सपना पूरा हुनेछ ।

    जगत्गुरु शंकराचार्यले देखाएको धनगढीको गेटामा ०७७ साउनदेखि अन्तर्राष्ट्रियस्तरको ६ सय शय्याको मेडिकल कलेज सञ्चालनमा ल्याउन तीव्र गतिमा काम भइरहेको मेडिकल पूर्वाधार निर्माण समिति निर्देशक हेमराज पुजारा बताउँछन् ।

    २६ वर्षसम्म छलफल र बहसमा मात्रै अल्झियो । अब भने सुदूरपश्चिमकै पहिलो र आधुनिक सुविधायुक्त स्वास्थ्य संस्थाका रूपमा पहिचान पाउने निश्चित छ । ‘गेटा मेडिकल कलेज यस प्रदेशको स्वास्थ्य क्षेत्रको विकासका लागि कोसेढुंगा साबित हुनेछ,’ प्रा.डा. हेमराज पन्त भन्छन्, ‘यो क्षेत्रको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउने मात्रै होइन, यहाँको आर्थिक गतिविधिसमेत ह्वात्तै बढ्नेछ ।’

    विभिन्न उल्झन पार गर्दै गेटा मेडिकल कलेजका लागि भौतिक संरचना निर्माण ०७४ वैशाखदेखि सुरु भएको हो । अस्पताल र कलेज भवनलगायत २६ संरचना निर्माण लगभग अन्तिम चरणमा छन् । यसमा संलग्न कम्पनीलाई आगामी फेब्रुअरीभित्र काम पूरा गर्नुपर्ने समयसीमा तोकिएको छ ।

    ‘त्यसै कारण ठेक्का लिएका कम्पनीले सम्झौताअनुसार निर्माण अन्तिम चरणमा पुर्‍याएका हुन्,’ निर्माणको गुणस्तर र प्राविधिक अनुगमनका लागि जिम्मा पाएको बिल्डिङ डेभलपमेन्ट अथोरिटी (बीडीए) का इन्जिनियर सुनीलराज आचार्यले भने ।

    साढे ३ अर्बको विभिन्न ठेक्का भई काम भइरहेको उनले बताए । ५६ करोड लागतमा कलेज बिल्डिङ बनिरहेको छ भने १ अर्ब ६९ करोडमा ५ तले अस्पताल भवन बन्दै छ । सुरुमा ३ सय शय्याको योजना मात्र भएकाले अस्पताल भवन सुरु ३ तला मात्रको थियो तर गत भदौमा ६ सय शय्याको योजना स्वीकृत भएपछि थप २ तला बनाउने कुरा भएर काम अघि बढेको आचार्यले बताए ।

    अक्सिजन प्लान्ट, विद्युतीय संरचनालगायत सुविधायुक्त मेडिकल कलेजका लागि आवश्यक सम्पूर्ण आधारभूत संरचना निर्माण भइरहेको निर्माण समितिले जनाएको छ । ‘अबको ४० वर्षपछिको स्थितिलाई ध्यानमा राखी गुरुयोजनाअन्तर्गत कलेजको काम भइरहेको छ,’ आचार्यले भने, ‘यसका लागि जग्गाको कुनै अभाव देखिँदैन ।’

    अत्तरिया र धनगढीको बीचमा पर्ने गेटामा निर्माणाधीन मेडिकल कलेज सञ्चालनका लागि निर्माण भइरहेका भौतिक संरचनाको रफ्तारले यस क्षेत्रका बासिन्दाले अहिलेको जस्तो अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताबाट मुक्ति दिलाउने अपेक्षा बढेको छ ।

    ‘यस क्षेत्रका विद्यार्थीले मेडिकल शिक्षाको अवसर त प्राप्त गर्नेछन्, कलेज सञ्चालनमा आएपछि अहिलेको जस्तो विशेषज्ञ चिकित्सकको सेवा पाउन नसक्ने समस्या रहँदैन,’ प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी भन्छन्, ‘उपचारका लागि भारतीय सहर र राजधानी धाउने ९० प्रतिशत घट्नेछन् ।’ आर्थिक गतिविधिमा समेत मेडिकल कलेजले महत्त्वपूर्ण अवसर उपलब्ध गर्ने अवस्थी बताउँछन् ।


    प्रदेशका ९ जिल्लामध्ये आधाभन्दा बढी जनसंख्या कैलाली र कञ्चनपुरमा बसोबास गर्छन् ।

    पछिल्लो जनगणनाअनुसार २५ लाख जनसंख्यामध्ये १३ लाखभन्दा बढी तराईका २ जिल्लामा भएकाले निजी क्षेत्र पनि स्वास्थ्य संस्था स्थापनामा धनगढीमै केन्द्रित हुँदै गएका बेला मेडिकल कलेजले योगदान पुर्‍याउने निश्चित छ । ‘नजिकमा भरपर्दो र सुविधायुक्त अस्पताल नहुँदा नेपालगन्ज वा भारतीय सहरमा दौडनुपर्ने बाध्यता छुट्ला भन्ने आस छ,’ इन्सेक प्रदेश संयोजक खडकराज जोशीले भने ।

    मेडिकल पूर्वाधार निर्माण समितिअनुसार अबको डेढ वर्षमा अस्पताल सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ । ‘०७७ असार मसान्तभित्र निर्धारित पूर्वाधार निर्माणका काम पूरा गरिसक्छौं,’ निर्देशक पुजाराले भने, ‘त्यसबेलासम्म यहाँबाट अध्ययन अध्यापन सुरु गर्न सकिनेछ ।’

    केही वर्षअघिसम्म धनगढीमा विशेषज्ञ चिकित्सक आउनै मान्दैनथे । अहिले पनि मुटु र मानसिक रोग विशेषज्ञ सुदूरपश्चिममै उपलब्ध छैनन् तर पनि स्वास्थ्यकर्मीले धनगढीलाई बिस्तारै ‘मेडिकल हब’ मान्न थालिसकेका छन् ।

    अस्पताल सञ्चालनले अनुसन्धानको अवसरसमेत भएकाले धनगढी विशेषज्ञ चिकित्सकका लागि ‘हब’ का रूपमा विकास हुँदै गएको स्वास्थ्यकर्मी दीपक शाह बताउँछन् । ‘हवाई यातायातले काठमाडौं र धनगढीलाई १ घण्टामै जोडेको छ । यही कारण पनि धनगढी अब काठमाडौंबाट टाढा छैन,’ सेती अञ्चल अस्पतालका जनरल फिजिसियन डा. नीराजनदत्त शर्मा पौडेल भन्छन्, ‘विपन्नको सेवा, बिरामीको चाप र अनुसन्धानको अवसर यहाँ धेरै छ ।’

    ४ दशकअघि अमेरिकी नागरिक डा. सिमनले सुदूरपश्चिमका ९ जिल्ला लक्षित गरी बीच भागका पर्ने डडेलधुरामा मिसन अस्पताल स्थापना गरेका थिए । त्यतिबेला कैलाली, कञ्चनपुरमा अहिले जस्तो बाक्लो बस्ती थिएन । थारू समुदाय मात्रको बाहुल्य थियो । पछिल्ला वर्षमा पहाडी जिल्लाका ग्रामीण बस्ती पातलिएका छन् । बसाइँसराइ तराईमा ओइरिएको छ ।

    ०४४ सालतिर शंकराचार्यले कैलालीको गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जमिन किनेका थिए । सानो घरसमेत बनाए । उनै शंकराचार्यले ०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरे । त्यही वर्ष सरकारले गेटा आँखा अस्पतालअघिको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टका नाममा दियो तर काम भने अघि बढेन । ७ वर्षसम्म मेडिकल कलेजको कुरा हराएझैं भयो ।

    ०६५ मा सरकार बल्ल तात्यो । त्यही आवमा सरकारले पहिलोपटक गेटा मेडिकल कलेज स्थापनाका नाममा १ करोड बजेट विनियोजन गर्‍यो । त्यसपछिका हरेक वर्ष केही न केही रकम विनियोजन हुँदै गएपछि मेडिकल कलेज स्थापनाको बहस पनि बढ्दै गयो ।

    अर्जुन शाहले  कान्तिपुरमा खबर लेखेका छन् ।