२०७६ कार्त्तिक २९ गते

रुकुमको दुर्गम गाउँमा ‘डिजिटल साक्षरता’ कार्यक्रम

रुकुम । जिल्लाको दुर्गम गाउँमा पहिलोपटक ‘डिजिटल साक्षरता’ कार्यक्रम सञ्चालन गरिएको छ । दुर्गम गाउँमा कम्प्युटर शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले पहिलोपटक ‘डिजिटल साक्षरता’ कार्यक्रम सञ्चालन गरिएको हो । माइक्रोसफ्ट इनोभेसन सेण्टर काठमाडौंको सहयोगमा युनाइटेड मिशन टु नेपाल, रुकुम क्लष्टर मीक नेपाल रुकुमको सहजीकरणमा जिल्लाको दुर्गम गाउँमा डिजिटल साक्षरता कार्यक्रम  सञ्चालन गरिएको  हो ।

रुकुमका दुर्गम गाविस रन्मामैकोट, स्यालाखदी, तकसेरा, काँक्री, मोरावाङ, जाङ, कोल, आठबीसडाडाँगालगायतका १० विद्यालयलाई ‘डिजिटल साक्षरता’ कार्यक्रमअन्तर्गत कम्प्युटर वितरण गरिएको छ ।

नेपाल सरकारले कक्षा ६ देखि ८ कक्षासम्म अनिवार्य शिक्षाअन्तर्गत कम्प्युटर शिक्षा विषय समावेश गरेको तर दुर्गम गाउँका विद्यार्थीले कम्प्युटर देख्नसमेत नपाएको समाचार आएपछि ‘डिजिटल साक्षरता’ कार्यक्रम सञ्चालन गरिएको युनाइटेड मिशन टु नेपालका शिक्षा अधिकृत कुलबहादुर चौधरीले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा  विद्यालयहरूलाई १०र१० ओटा कम्प्युटर वितरण गरिएको छ ।

’ दुर्गम गाउँ भए पनि विद्युत् सुविधा, कम्प्युटर शिक्षकको व्यवस्था र भौतिक पूर्वाधार पर्याप्त भएका विद्यालयमा ‘डिजिटल साक्षरता’ कार्यक्रम सञ्चालन गरिएको हो, जसमा हिमालय उमावि स्यालाखदी, सरस्वती मावि मुसीकोट, महेन्द्र मावि तकसेरा, शहीद शुक्र उमावि मोरावाङ, पथाहिमाल उमावि रन्मामैकोट, सानीभेरी निमावि जाङ, सिद्धचौरबर उमावि तथा त्रिवेणी मावि काँक्री, नेरामावि आठबीसडाँडागाउँ र पर्वत उमावि कोलमा ‘डिजिटल साक्षरता’ कार्यक्रमअन्तर्गत कम्प्युटर वितरण गरिएको हो ।

‘डिजिटल साक्षरता’ कार्यक्रम सञ्चालन गरिएका विद्यालयहरूमा इण्टरनेट सेवासमेत सञ्चालन गर्ने तयारी भएको मीक नेपाल रुकुमका अध्यक्ष भिउमान घर्तीले बताए । कम्प्युटर वितरण कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय विकास अधिकारी भरतकुमार शर्माले ‘डिजिटल साक्षरता’ कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न विद्यालयहरूलाई आग्रह गरे ।

रुकुमको छिवाङ गाविस साक्षर घोषणा
रुकुम । रुकुमको छिवाङलाई साक्षर गाविस घोषणा  गरिएको छ । सोमवार उक्त गाविसलाई साक्षर घोषणा गरिएको हो । जिल्ला शिक्षा समिति छिवाङको आयोजना र जिल्ला शिक्षा कार्यालय रुकुमको सहयोगमा छिवाङलाई साक्षर गाविस घोषणा गरिएको गाविस सचिव कृष्णबहादुर खत्रीले जानकारी दिए । उनले भने, ‘छिवाङका ९७ प्रतिशत जनता साक्षर भएपछि गाविसलाई साक्षर घोषणा गरिएको हो ।’ यससँगै छिवाङ रुकुमको ३८औं साक्षर गाविस भएको छ ।

गाविसको कुल जनसङ्ख्या ५ हजार ७ सय २५ मध्ये ९७ प्रतिशत साक्षर भएको बताइएको छ, जसमा महिला ३ हजार २२ जना र पुरुष २ हजार ७ सय ३ रहेको गाविसको कार्यालयले जानकारी दिएको छ । साक्षर गाविस घोषणा हुन नाम लेख्न सक्ने, सामान्य हिसाब गर्न सक्ने, मोबाइल चलाउन सक्नेलगायत मापदण्ड पूरा हुनुपर्छ । गाविसलाई साक्षर घोषणा कार्यक्रम उद्घाटन गर्दै स्थानीय विकास भरतकुमार शर्माले सारक्षता कार्यक्रम प्रभावकारी बनाउन पहल गर्नुपर्ने बताएका छन् । रुकुमलाई आगामी वैशाखमा साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको जिल्ला शिक्षा कार्यालय रुकुमले बताएको छ ।

कृषि शिक्षा कार्यक्रमको उद्घाटन
जिल्लाको छिवाङ गाविसमा बाली विकाससम्बन्धी १५ महीने कृषि जेटीए कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ । सोमवार एक कार्यक्रम आयोजना गरी १५ महीने जेटीए शिक्षाको औपचारिक रूपमा शुरुआत गरिएको हो । स्थानीय विकास अधिकारी तथा जिल्ला शिक्षा समितिका अध्यक्ष भरतकुमार शर्मा र सहायक प्रमुख जिल्ला अधिकारी नीलमकुमार न्यौपाने संयुक्त रूपमा सो कार्यक्रम उद्घाटन गरेका थिए ।

गाउँमै प्राविधिक शिक्षाअन्तर्गत कृषि जेटीए पढाइ हुन थालेको हो । यसअघि प्राविधिक विषय अध्ययनका लागि छिमेकी जिल्ला दाङ, बाँके, चितवन, काठमाडौंलगायत क्षेत्रमा जानुपर्ने बाध्यता थियो ।

१५ महीने कृषि जेटीए छिवाङ, सिम्ली, पोखरा, अर्मा, नुवाकोट, पेउघा, गरायला गाविसका ४० जना विद्यार्थीले पढ्न शुरू गरेका छन् । दुर्गम गाउँमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनमा केही चुनौती भए पनि यसलाई निरन्तर रूपमा सञ्चालन गर्न विद्यालय प्रतिबद्ध रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द केसीले बताए । रुकुम जिल्लामा यसअघि खोलागाउँ गाविसमा कृषि जेटीए पढाइ शुरू गरिएको थियो ।आर्थिक अभियान दैनिकमा खवर छ ।

Comments: