२०७६ भदौ २ गते

रत्नराज्य माविले पायो नयाँ भवन, विद्यार्थीहरु हर्षित

ईपाटी संवाददाता


काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पले भवन क्षतिग्रस्त भएको रत्नराज्य माध्यमिक विद्यालय काठमाडौंले नयाँ भवन पाएको छ । भूकम्प प्रभावित भवनको स्थानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौं(शिक्षा)ले विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरेको हो ।


यही माघ १८ गते शुक्रबार भव्य समारोहकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो नवनिर्मित भवनको साँचो विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।


केन्द्रीय कार्यान्वयन इकाईले  साढे पाँच करोड रुपैयाँभन्दा बढीको लागतमा ७ कोठे दुईवटा भवन बनाइ दिएको हो ।  भवन निर्माण हुन करिव एक वर्ष लागेको थियो । अहिले बनेको नयाँ भवनमा करिव तीन सय विद्यार्थी अट्ने प्रधानाध्यापक गीता खरेल सिवाकोटीले जानकारी दिइन् । विद्यालयमा अर्को पनि भवन निर्माणको काम भइरहेको भएपनि पछिल्लो समय स्थानीय केही व्यक्तिबाट गरिएको उजूरीका कारण बीचमै रोकिएको अवस्था छ ।


शहरी क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गइरहेको अवस्थामा रत्नराज्यमा भने दुई हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा नयाँ भवन बनेपछि विद्यार्थीहरु हर्षित देखिएका थिए । प्रअ खरेलले  भौतिक पूर्वाधार पर्याप्त भए काठमाडौंका निजी विद्यालयहरु नै सुकाइदिने बताइन् ।  अहिले बनेको भवनले मात्र विद्यार्थी संख्या थेग्न कठिन हुने र चाँडै नै अर्काे बिल्डिङको निर्माण सम्पन्न गर्नुको विकल्प छैन । खरेलले भनिन् । हाल, भवन अभावका कारण करिव सात सय विद्यार्थी पुस्तकालयमै पढ्न बाध्य रहेका समेत प्रअ खरेलले जानकारी दिइन् ।विद्यालय भवन पाएपछि विद्यालयको पठन पाठन थप प्रभावकारी हुने भन्दै रत्नराज्य माविकी प्रअ गीता खरेलले प्राधिकरण र जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौका कर्मचारीको खुलेर प्रशंशा गरिन् ।


नवनिर्मित भवन हस्तान्तरण गर्दै प्रमुख अतिथि एवं प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले विद्यालयको अर्काे भवन निर्माण चाँडै सम्पन्न गराउन आर्थिक निकासा छिट्टै गरिने र अबरोध पनि फुकाउने आश्वासन दिए ।


साथै, पुनर्निर्माणसँगै  सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाका निम्ति सक्रियता बढाउनुपर्ने उनको सुझाब थियो ।   ‘सामुदायिक  विद्यालय राम्रो भएमा कोही पनि महङ्गो पैसा तिरी निजी स्कूल जाँदैनन्,’ उनले भने ।

ज्ञवालीले पुनर्निर्माणको काम सन्तोषजनक रहेको समेत दावी गरे । प्राधिकरणको कामबाट दाताहरु सन्तुष्ट रहेको जिकिर गर्दै उनले विद्यालय भवन समयमै बनेको मात्र नभई विद्यार्थीमैत्री बनेकोसमेत बताए । शिक्षाबाट नै सुखी नेपाली र समृद्ध नेपाल सम्भव भएको भन्दै ज्ञवालीले विद्यालय पुनर्निर्माणमा कुनै कन्जुस्याई नहुने समेत स्पष्ट पारे ।ज्ञवालीलाई जिल्ला आयोजना कार्यान्वयन  इकाई काठमाडौका प्रमुख अर्जुनबहादुर रायमाझीले भवनको अवलोकन गराएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवमणि ओलीले भवन निर्माण गर्नका लागि धेरै समस्याहरुको सामना गर्नुपरेको बताए । ‘विद्यालयको एउटा भवन निर्माण गर्नका लागि समुदाय, शिक्षक, अभिभावकको ठूलो सहयोग भयो । तर, अर्को भवन निर्माणमा अनावश्यक विवाद आइपरेको छ, यो दुःखलाग्दो कुरा हो ।’ ओलीले भने । उक्त अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष सूर्य भण्डारीले सामुदायिक विद्यालय सबैको साझा भएकोले कसैले घरमा लिएर जाने जस्तो सोचेर असहयोग गर्नु नहुनेमा जोड दिएका थिए ।

समारोहमा प्रदेश ३ का सांसदहरु, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का निर्देशक इमनारायण श्रेष्ठ, जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौं(शिक्षा)का प्रमुख अर्जुन रायमाझी, काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुखलगायत उपस्थिति रहेको थियो ।

Comments: