म्याग्दी । सदरमुकाम बेनीबजारमा रहेको बेनी सामुदायिक माविमा कक्षा १० मा अध्ययनरत बेनी नगरपालिका–६, डम्बराकी अञ्जना श्रेष्ठलाई भेट्न विद्यालयका शिक्षकको टोली घरमै पुगे। कोभिड–१९ संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि भन्दै हतार–हतारमा बार्षिक परीक्षा सकेर विद्यालय बन्द भएपछि घरमै बसेकी श्रेष्ठलाई शिक्षकले दिएको गृहकार्य लिएर शिक्षक भएको ठाउँमा पुगेर देखाईन्। श्रेष्ठजस्तै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकका असल आचार्यले विद्यालय जाने जस्तै गरी कलम, कापी, किताब बोकेर घर बाहिर निस्किएर शिक्षक भएको ठाउँमा पुगे।

उनीसँगै मिलनचोकबाट बेनी सामुदायिकमा अध्ययनरत विद्यार्थीको टोलमा घुईचो लागेको थियो। विद्यार्थीको गृहकार्य जाँच गर्ने, साप्ताहिक रुपमै सम्पन्न गर्ने गरी गृहकार्य दिने, कोरोना भाइरससम्बन्धि सचेतनामुलक कार्यक्रम लगायत विषयगत शिक्षकले टोल–टोलमा पुगेर विद्यार्थीलाई विद्यालयकै झल्को दिने गरी पठनपाठनमा सक्रिय छन्। ‘घरदैलो अभियानमा ब्यस्त छौ,‘बेनीबजारका विद्यार्थीलाई सामाजिक दूरी कायम गरी विद्यालयमै बोलाउँछौ,‘गाउँका विद्यार्थी खोज्दै घरमै जान्छौ’ विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले भने।

उनले लामो समय विद्यालयको पहुँच बाहिर रहेका कक्षा १० का विद्यार्थीलाई अनलान कक्षा सञ्चालनलाई निरन्तरता दिइरहेको अवस्थामा असार महिनाको १६ गतेदेखि पाठ्य पुस्तक, स्वअध्ययन सामाग्री तथा स्थानीय पाठ्यपुस्तक वितरण गरी निरन्तर विद्यार्थीको पहुँचमा रहेर शिक्षण सिकाईमा जुटेको बताए। चैत्र ११ बाट लकडाउन घोषणापछि घरमै भएका विद्यार्थीको वार्षिक परीक्षाको रिजल्टको मार्कसिट शिक्षक र अभिभावकमार्फत घरमै पठाएपछि विभिन्न माध्यमबाट विद्यार्थीसँग सम्पर्कमा रहेको अवस्थामा घरदैलो अभियान नै सबैभन्दा प्रभावकारी देखिएको प्रअ श्रेष्ठको भनाई छ।

विद्यार्थीहरु अझै विद्यालय जान नपाएको अवस्थामा पढाईको स्तर खस्कने, पढाईमा रुची घट्न सक्ने जोखिमलाई मध्यनजर गरी शिक्षकले समूह बनाएर पहिलो र दोस्रो चरण गरी बेनी नगरपालिका, छिमेकी पर्वतको जलजला गाउँपालिका भित्रका विभिन्न बस्तीमा पुगेर सिकाईमा प्रोत्साहन दिइरहेका छन्। विद्यालयका शिक्षकले असार र साउन महिना भरी विद्यालयमै शैक्षिक साम्रागी तयार, अनलाइन कक्षा तालिम, अभिभावकसँग शिक्षकको सम्पर्क नम्बर जानकारी दिने लगायतका गतिविधिमा केन्द्रित भएका थिए। अनलाइन भर्नासहित अभिभावक समेत नियमित सम्पर्कमा आएकाले विद्यार्थीको पठन क्रियाकलापमा सहज भएको विद्यालयले जनाएको छ।

यता लामो समय विद्यालय बन्द हुँदा छोराछोरीको पढाइ कमजोर हुने भन्दै चिन्तित अभिभावक समेत घरदैलोमै विषयगत शिक्षक उपस्थित भएर गृहकार्य दिने, चेकजाँच गर्न थालेपछि उत्साहित भएका छन्। ‘छोरासँगै कक्षा लिएको ठाउँमा म पनि पुगे,‘यस्तो जोखिममा पनि शिक्षक घरदैलोमै आउने गर्नुभएको छ’ मिलनचोकका इन्द्रप्रसाद आचार्यले भने। अभिभावक र विद्यार्थीलाई आवश्यकता परेको अवस्थामा सिधै सम्पर्क गर्न मिल्ने गरी सबै विषयका शिक्षकहरुको सम्पर्क नम्बर उपलब्ध गराइएको छ। विद्यालयले बालविकासदेखि कक्षा १० का विद्यार्थीलाई लक्षित गरी दोस्रो चरणको घरदैलो अभियान समेत सुरु गरेका छन्।

बेनी नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई कोरोना शिक्षा दिएर वडास्तरमै जान निर्देशन दिएको छ। जिल्लाका अन्य सामुदायिक विद्यालयले समेत विद्यालय बन्द भएपछि विभिन्न माध्यमबाट अभियान सञ्चालन गरिरहेका छन्।

हरिकृष्ण गौतमले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्