२०७६ भदौ १ गते

विद्यालय व्यवस्थापन समिति गठनमा देखिएको विवाद समाधान

महेश न्यौपाने/रोल्पा


पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ४ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनमा देखिएको विवाद गाउँपालिकाको रोहवरमा समाधान गरिएको छ ।


विद्यालय व्यवस्थापन समिति गठन प्रकृया  प्रति असहमती जनाउदै स्थानीयहरुले संघर्षका कार्यक्रम घोषणा गरे पछि सतहमा आएको विवाद गाउँपालिकाको रोहवरमा टुंगिएको हो । गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको अगुवाईमा भएको छलफल कार्यक्रममा दुवै पक्ष विवाद मिलाएर अघि वढ्न सहमत भए संगै उक्त विद्यालय व्यवस्थापन समिति गठन कार्य पनि सहज हुने स्थानीयहरुको अपेक्षा रहेको छ ।


'स्थानीय शिक्षा ऐन र नियमावली वमोजिम विद्यालय व्यवस्थापन समिति गठन गर्ने कुरामा सहमति भयो'– स्थानीय वकिलवहादुर पुनले भने । गाउँपालिकाको शिक्षा ऐन र नियमावली वमोजिम विद्यालय व्यवस्थापन समितिको टुंगो लगाउने सहमती भएको पुनले बताए । 'सहमति अनुसार एक हप्ता भित्र विद्यालय व्यवस्थापन समितिको टुंगो लाग्ने छ भने पक्ष वा विपक्षमा आरोप प्रत्यारोपमा नउत्रने समेत सहमती भएको छ',  पुनले भने ।


गत पौष २९ गते सोही वडाका वडा सदस्य चन्द्रवहादुर घर्तीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरे पछि असहमत पक्षले विरोध गर्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको थियो । मनोमानी ढंगले विद्यालय व्यवस्थापन समिति गठन गरिएको एक पक्षको आरोप थियो भने अर्को पक्षले स्थानीय शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समिति गठन गरेको दावी गरेको थियो ।

असन्तुष्ट पक्षले संघर्ष समिति समेत गठन गरि आन्दोलनका कार्यक्रम  समेत घोषणा गरे पछि स्थानीय सरकारको ध्यानाकर्षण भई विवाद अन्त्यको प्रयास गरिएको बताइएको छ ।


Comments: