२०७६ मंसिर ६ गते

अब्बल विद्यालय अवलोकन गर्दै रोल्पाका जनप्रतिनिधि

महेश न्यौपाने/रोल्पा


शैक्षिक सुधार गर्ने भन्दै जिल्लाका स्थानीय सरकारका प्रतिनिधिहरु अब्बल विद्यालयको अध्ययन अवलोकन भ्रमणमा निस्किएका छन् । छोटै समयमा अब्बल शैक्षिक उपलव्धि हासिल गरेका भनिएका गण्डकी प्रदेश र प्रदेश ५ का विभिन्न विद्यालयको अध्ययन अवलोकन गरिएको बताइएको छ ।


अवलोकनका लागि उनीहरु कालिका मावि बुटवल, भुसाल डाँडा मावि पाल्पा र शितला देवी सामुदायिक मावि कास्कीमा पुगेका बताइएको छ । सामुदायिक विद्यालयको रुपमा स्थापति भएका ती विद्यालयले छोटै समयमा गरेको प्रगतिका सकरात्मक पक्षलाई अनुसरण गर्न उत्प्रेरणा मिलेको भ्रमण टोलीमा संलग्न सदस्यहरुले प्रतिकृया दिएका छ । समुदायको सहयोग, शिक्षकहरुको सक्रियता र विद्यार्थीको लगनशिलताले विद्यालयको शैक्षिक सुधार भएको आफुहरुले पाएको रोल्पा नगरपालिका ९ का वडाध्यक्ष मिमवहादुर घर्तीले प्रतिकृया दिए । भ्रमण पश्चात आफुहरुमा पनि शैक्षिक सुधार गर्न सकिन्छ भन्ने उत्प्रेरणा मिलेको घर्तीको भनाई छ ।
अवलोकनमा धेरै कुरा देखेर सिक्ने अवसर प्राप्त भयो रोल्पा नगरपालिका ६ का वडाध्यक्ष तथा नेपाल मावि कोटगाउँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलवहादुर घर्तीले भने । समुदायको साथ लिएर विद्यालय रुपान्तरण गर्न सकिन्छ भन्ने कुराले आफुलाई अभिप्रेरित गरेको घर्तीको भनाई छ ।


हाम्रो विद्यालय र सफल विद्यालय बीचको अन्तर तुलना गर्ने अवसर प्राप्त भयो तारा मावि वामरुकका प्रधानाध्यापक ओविलाल महराले भने । 'विद्यालयको अन्तर र सिमा केलाई योजनावद्ध ढंगले लागे विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सकिन्छ भन्ने आत्म विश्वास बढ्यो' – प्रधानाध्यापक महराले भने ।


सेभ द चिल्ड्रेनको सहयोगमा मानव अधिकार सचेतन केन्द्र रोल्पाले शैक्षिक अध्ययन अवलोकनको आयोजना गरेको थियो । अध्ययन अवलोकन भ्रमणमा रोल्पा नगरपालिका, सुनिल स्मृती गाउँपालिका, माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्य, प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको हुरेक रोल्पाका कृष्णवहादुर घर्तीमगरले जानकारी दिए ।
 

Comments: