२०७६ असोज २ गते

विद्यालय सुधारमा जुट्दै पूर्व विद्यार्थी

महेश न्यौपाने/रोल्पा


समाजका विभिन्न क्षेत्रमा क्रियाशील रहेका पूर्र्व विद्यार्थीहरु संगठित हुँदै  आफुले अध्ययन गरेको विद्यालय सुधारमा सहयोग गर्ने क्रम वढ्दै जान थालेको छ । पश्चिम रोल्पाको पुरानो विद्यालय जनजागृति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु संगठित हुने उद्देश्यले प्रारम्भिक भेला आयोजना गरि यो क्रमलाई निरन्तरता दिएको सन्देश दिएका छन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल घर्तीमगरको अध्यक्षतामा भएको प्रारम्भिक भेलाले आगामी माघ २७ गते प्रथम वृहत भेला गर्ने निर्णय समेत गरेको छ । वृहत भेला तयारीका लागि शोभाराम डाँगीको संयोजकत्वमा ११ सदस्यीय समिति समेत गठन गरिएको छ । समितिमा भुपवहादुर भण्डारी, खड्कवहादुर  वली, टेकराज पुन, कविराज वुढा, ओमराज घर्ती, कर्णवहादुर वाँठामगर, काशीराम डाँगी, पार्वती घर्ती, सन्दीप थापा र संझना गिरी सदस्य रहेको संयोजक शोभाराम डाँगीले जानकारी दिए । समितिको सदस्य सचिवमा भूपवहादुर भण्डारीलाई तोकिएको छ ।


 तयारी समितिलाई आवश्यक सुझाव सल्लाहका लागि ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वली, उपाध्यक्ष सावित्रा वुढामगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल घर्तीमगर,  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रतिनिधि भक्तवहादुर घर्ती र अमृत वुढा, नेपाली कांग्रेसका प्रतिनिधि जीववहादुर खड्का, विप्लव नेतृत्वको नेकपाका प्रतिनिधि खिमराज पुन, विद्यालयका प्रधानाध्यापक जीवराज भण्डारी, ५ नम्बर वडाध्यक्ष कृष्ण केसी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर घर्ती सदस्य रहेका छन् । गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको प्रमुख आतिथ्यता रहेको भेलाको उद्देश्यवारेमा पूर्व बिद्यार्थी शोभाराम डाँगीले जानकारी दिएका थिए ।


यसअघि जिल्ला सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना मावि र पिताराज आधारभूत विद्यालयले समेत त्यस्तै कार्यक्रम गरि भेलाको तयारी गरिरहेका छन । बालकल्याण नमूना माविले निकट भविष्यमा सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा प्रथम वृहत भेला आयोजना गर्ने तयारी गरिरहेको बताइएको छ । यसै गरि पिताराज आधारभूत विद्यालयले भेला आयोजना गरि १० लाखको अक्षयकोष स्थापना गर्ने लगायतका निर्णय समेत गरिसकेको बताइएको छ ।


विद्यालयको सहयोगी निकायका रुपमा गठन हुने यस्ता संरचनाले विद्यालय सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





Comments: