२०७६ असोज ३० गते

खोलाले रोक्यो पढाइ

अन्तैबाट

काठमाडौँ । स्कुल पुग्न घण्टौं पैदल हिँड्नुपर्छ । त्यसमाथि वर्षायाममा बाढी, पहिरो र जंगली जनावर भालुको डर उस्तै । जंगल छिचोलेर हिँड्नु पर्दा नियमित पढाइ छुट्छ । दैनिक कक्षाकोठामा हाजिर भएर पढ्न त हिउँद नै पर्खनुपर्ने बाध्यता छ, शीतगंगा नगरपालिकाको सिद्धारा र सिमलपानीस्थित विक्रमसोताका बालबालिकालाई ।

प्राथमिक तहका स्कुल नजिकै छन् । जेनतेन झरीका बेला जान सकिन्छ । मावि पढ्न टाढा जानुपर्ने भएकाले वर्षाको बेला आपतै पर्छ । कक्षा १० मा पढ्ने सिद्धारा सिलिङखोलाकी पूजा पुलामीलाई बिहान स्कुल पुग्न अढाइ घण्टा र फर्कन पनि त्यति नै हिँड्नुपर्छ ।


कुसुमखोला तरेर दुई घण्टा उकालो लागेपछि जनजागृति मावि बहखोर पुगिन्छ । हिउँदमा खोलामा पानी कम भएर सहजै तर्न सकिन्छ । वर्षामा धमिलो बाढी आउँदा पानीको सतह कति छ भन्ने अड्कल गर्न सकिँदैन । ‘पार गर्न खोलामा पस्दा ढाडसम्म डुबायो भने बीचबाटै फर्कन्छु,’ उनले भनिन्, ‘जोखिम मोलेर तर्न सकिँदैन ।


त्यो दिन स्कुल नै हापिदिन्छु ।’ त्यसपछि घर फर्केर घाँस काट्ने, घरको काम गर्ने र फुर्सद भए किताब पढेर बस्ने उनले बताइन् । ‘शिक्षकले पढाएजस्तो त सिक्न सकिँदैन तैपनि पाठ पढ्छु,’ उनले भनिन्, ‘छुटेका दिन साथीसँग नोटबुक मागेर सार्छु । एउटै कुसुमखोला तीन ठाउँमा तर्नुपर्छ ।’ खोला तरेर मात्रै के गर्ने ? फेरि जंगलमा उकालो हिँड्दा बाटोमा पहिरोको डर र भालुको आक्रमणमा परिन्छ कि भन्ने त्रास उस्तै छ । एक्लै भएको दिन स्कुल जान डरत्रासले बीच बाटोबाटै फर्किने उनले सुनाइन् ।


घर तलतिर साथी छन् । जाने/आउने सँगै हुन्छ । ‘साथीको घरमा काम परे म पनि डरका कारण स्कुल नै जाँदिनँ,’ उनले भनिन् । स्कुल नभएर होइन । तल्लो तहको पढ्दा आधा घण्टामै पुगिन्थ्यो । मावि नजिक छैन । बस्ती छरिएका छन् । जंगल चौगुना छ । विकासमा पछाडि परेको छ । राज्यको उपस्थिति न्यून छ । जिल्लाको २७ प्रतिशत भूगोल ओगटेको सिद्धारा गाविस थियो । नयाँ संरचनाअनुसार तीनवटा वडामा बाँडिएको छ । दुई मावि मात्रै छन् । बस्ती पातलो भएकाले विद्यार्थी थोरै हुँदा उपल्लो कक्षाका स्कुल खोल्न सम्भव नभएको स्थानीय माधव पौडेलले बताए ।


कक्षा १० मा अध्ययनरत किरण सारू दैनिक स्कुल आउजाउ गर्न सक्दैनन् । पाँकुरी घरदेखि बहखोरमा रहेको स्कुलसम्म घनघोर जंगल छिचोल्नुपर्दा डरत्रासकै कारण दैनिक ६ घण्टा स्कुल हिँड्न नसकेर डेरा लिएर बस्नुपरेको उनले बताइन् । कक्षा ८ सम्म घरदेखि आधा घण्टाको पाँकुरी आधारभूत विद्यालयमा पढे पनि मावि पढ्न हिँड्न नसकेर डेरा लिनुपरेको उनले बताए ।


‘जंगलको बीचबाट हिँडेर स्कुल जाँदा भालुको आक्रमणबाट बल्लबल्ल जोगिएँ,’ उनले भनिन्, ‘ज्यान जोखिममा पारेर पनि हिँड्न बाध्य छौं । किनकि, पढाइ प्यारो लाग्छ ।’ सँगै ८ कक्षा उत्तीर्ण गरेका गाउँका चारजना साथीले स्कुल टाढा भएकाले पढाइ नै छाडेको उनले बताइन् । ‘तीनजना केटा साथी नोकरी गर्न भारततर्फ लागे र केटी साथीको बिहे भयो,’ उनले भनिन् ।


उच्च शिक्षा पढ्ने बाटुलेका आशिष परियारले घर छाडेरै पढ्न लागेको सात वर्ष पुग्न लाग्यो । ७ कक्षासम्म आफन्तकहाँ र त्यसपछि छात्रवासमा बसेका छन् । ‘प्राथमिक तहसम्म गाउँकै स्कुलमा पढियो ।


६ कक्षा भर्ना भएपछि घरबाट आउन–जान आठ घण्टा समय लाग्थ्यो,’ उनले भने, ‘वर्षामा कुसुमखोला तर्न नसक्दा पढाइ छुट्थयो, त्यसपछि बाबुआमालाई अनुरोध गरेर छात्रावास बस्न थालेको हुँ ।’ हिउँदमा भने घरबाटै आवतजावत गर्छन् । सिमलपानीको विक्रमसोताका विद्यार्थीलाई वाणगंगा खोला तर्नुपर्छ ।


पावरा माविमा जान झोलुंगे पुल छैन । हिउँदमा घुँडा तलसम्म पानी हुन्छ, वर्षामा त लेदोसहितको बाढी आउने भएकाले तर्ने सम्भावना हुँदैन,’ राजु मगरले भने, ‘वर्षाभर धेरै दिन पढाइ छुट्छ ।’


‘सिद्धारा नेपालको दोस्रो कर्णाली हो,’ जनजागृति विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधवप्रसाद पौडेलले भने, ‘विकासमा पनि धेरै पछाडि छ । मावि पढ्न पनि धेरै गाह्रो छ । आधा विद्यार्थीले बीचमै पढाइ छाड्छन् ।’

कान्तिपुरमा खबर छ ।

Comments: