२०७६ भदौ १ गते

कविता : स्कुल

-रेखा पन्त, गोरखा

स्कुल

सिंगो सिसाकलम काटेर
बराबर तीन टुक्रा मध्ये
मेटाउने भएको पट्टिको एक भाग
हँसियाले तिखारेर
एउटा सानो खेस्रा कपि हातमा थमाई
डोहोर्याउदै मेरी आमाले
स्कुलमा पुर्याएको पहिलो दिन
जुनदिन
म आमाको आँचल समाउन
रोएँ
कराएँ
दगुर्दै गएँ
लाख बिन्ती गरें
अगाध प्रेममा पनि दरिलो मुटु बनाएर
फर्कनु भयो
मेरी आमा ।

मलाई राखियो एउटा
सानो कोठामा
जहाँ पहिले मैले कहिल्यै नदेखेका
सर र मेडम
प्रत्येक आधा घन्टामा
पालै पालो छिर्दथे
लाहुरे भैसीले दुध नदिंदा मेरो बाबाले
पिट्ने गरेको लौरी जस्तै
लौरी बोकेर ।

आमाले पठाएको
फुल मकै र भटमासको बास्नाले
खाजा खाने छुट्टि अगावै
ममा भोकको महासागर
उर्लिसकेको हुन्थ्यो
मानौं म महिनौंकी भोकी
स्वस्थानी कथाकी चन्द्रावती हुँ ।

गीताले ल्याएको भुटेको चिउरा
प्रमिलाले ल्याएको गुलियो पार्लेजी बिस्कुट
पन्छाएर
मेरी आमाले अगाध प्रेमको हाँडीमा
मायाको सिन्काहरुले
मन्द आँचमा
चलाई चलाई भुटेको
मकै र भटमास
खान तछाडमछाड
गर्थे मेरा साथीहरू

डरले कामेको औंला
ठ्याक्कै उस्तै बाङ्गो टिङ्गो
सिसाकलमले तानेको
पहिलो धर्को लिएर साँझ घर फर्कँदा
थामिएनन् आमाका आसुँ
बगिरहे
श्रावणको बलेनी जस्तै
आमाका नयन भिजे
तर मैलेपछिसम्म पनि बुझिन
किन रुनु भो मेरी आमा ।

सानो झोलामा
ठुलो भविष्य खोज्न पठाउने
मेरी आमालाई के थाहा
रामकाजी सरले कान समातेर
सबैको अगाडि
उठ बस् गराउदा
लाज र डरले
हुम्लाको स्याउ बनेको मेरो अनुहार ।

बढ्दै गयो यसरी
मेरो कक्षाको उचाई पनि
एक
दुई
तीन
गर्दै
क्रमशः ।
दशै होस् या पूजा आजा
औशी होस् या पूर्णिमा
निधारमा टीका
कानमा फूल
हातमा दक्षिणा
साथै
शिरमा आशिस त पाएँ
ठुली मान्छे हुनु भनेर

ठुली मान्छे कहिले हुने
कसरी हुने
त्यो सिकाउनेले कहिल्यै सिकाएनन्
समयले तीन दशक नाघ्यो
तर
हुन सकिन म ठुली
चाहना पनि छैन
मलाई ठुली बन्ने
जुन माया प्रेम थियो
स्कुलको जीवनमा
अविस्मरणीय पल
त्यो प्रेम
आजसम्म पाउन सकिन |

लाखौं मूल्य चुकाउन तयार छन्
हिजोको बाल्यकाल फर्काउन
हिजोको स्कुलमा पढ्न,
तर थाहा छ मलाई
त्यो बालापन अब कहिल्यै दोहोरीनेछैन
तर त्यो मिठो सम्झनाले
अहिले पनि म हरेक दिन
बच्चा बनिरहेकी हुन्छु ।


- हाल इजरायल

-मझेरीडटकमबाट

Comments: