२०७७ जेष्ठ २५ गते

अक्षर चिन्दै राउटे युवा

अन्तैबाट

दैलेख । राउटे समुदायमा अक्षर चिन्दा वा पढ्दा पाप लाग्छ भन्ने मान्यता थियो। त्यही भएर उनीहरू कसैले पढेका थिएनन् । पछिल्लो पुस्ताले लेखपढको रहर गर्दा पनि अगुवाले दिएनन्।तर, नयाँ पुस्ता पुरानै मान्यतामा अडिएनन्। कर्णाली प्रदेशका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेले पढ्न थालेका छन्। अक्षर चिन्न थालेसँगै विगतमा औंठाछाप लगाउने उनीहरूले हिजोआज आफ्नो नामको हस्ताक्षर गर्न थालेका छन् ।

सामाजिक सुरक्षाभत्ता लिँदा उनीहरूले औंठाछाप लगाउँथे। केही युवाले हस्ताक्षर गरेर भत्ता बुझ्न थालेका छन्। सन्तानले कापीमा कलमले लेख्न र हस्ताक्षर गर्न थालेपछि समुदायका अगुवा दंग छन्।

गाजली शाही २६ वर्षकी भइन्। उनलाई समुदायले सुन्दरी भनेर पनि चिन्छ। उनी अचेल पढ्न सिक्दै छिन्। आफ्नो नाम लेख्न सक्ने भएकी छन्। आफ्नो हस्ताक्षर सहज रुपमै गर्न थालेको उनी बताउँछिन्।

राउटेलाई पढाउन एक वर्षदेखि दुई जना शिक्षक खटिएका छन्। उनीहरूलाई राउटे युवा र बालबालिकाले ‘मास्टर, मास्टर्नी’ भनेर बोलाउँछन्। कलम शाही पनि आफ्नै नाम लेखेर हस्ताक्षर गर्छन्। गाजली र कलमजस्तै सिस्नेरी शाही, सम्झना शाही, टेकराज शाही, दीपक शाही हस्ताक्षर गर्न सक्ने भएका छन्।

बस्तीमा पढ्न थालेका उनीहरूलाई मुखिया रिसाउलान् कि भन्ने डर पनि छ। ‘लेख्न र पढ्न रमाइलो रहेछ। हामीले त यस्तो कहिले सिक्न पाएनौं’, सिस्नेरीले भनिन्, ‘सुरुको दिनमा त के हो जस्तो लाग्थ्यो। अहिलेचाहिँ आफ्नो नाम लेख्न सक्ने भएकी छु।’ दीपकले आफ्नै उमेरका अन्य युवायुवतीमा पनि पढ्ने रहर पलाएको सुनाए।

यो समुदायका विवाहित महिला भने पुर्खाले नपढेकोले आफूहरू अब नपढ्ने बताउँछन्। ‘पढ्न र लेख्न सिकाएको देखे अभिभावक रिसाउँछन्’, शिक्षिका दुर्गा खत्रीले भनिन्, ‘हामीले लुकिछिपी सिकाइरहेका छौं।’ पढ्न थालेपछि राउटे बालबालिकाको स्वभावमा परिवर्तन आएको शिक्षक लालबहादुर खत्रीले बताए। ‘उनीहरूमा सिक्ने इच्छा बढेको छ। खेल्दै लेख्न, पढ्न र सरसफाइमा ध्यान दिन थालेका छन्’, उनले भने।

एकै स्थानमा नबस्ने राउटे दुई महिनादेखि दैलेखको गुराँस गाउँपालिका-५ मा बसोबास गरिरहेका छन्। वनका राजाका रूपमा परिचित यो समुदायका नागरिक प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध भएका थिए। ‘राउटे समुदायमा परिवर्तन सम्भव छ’, अधिकारकर्मी हीरासिंह थापाले भने, ‘उनीहरूलाई स्थायी रूपमा बसाउनुपर्छ। लोपोन्मुख आदिवासी राउटेको आफ्नै सांस्कृतिक परम्परा र मूल्यमान्यतालाई संरक्षण गर्दैै सामाजिकीकरण गराउने अभियानमा छौं।’

हिक्मतबहादुर नेपालीले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: