२०७६ भदौ ६ गते

पुस्तकालय बनेपछि विद्यार्थी हर्षित

राजन रावत/हुम्ला

बाल मन्दिर माविले छोटो समय लगाएर निर्माण गरिएको पुस्तकालय र कार्यालय भवनको औपचारिक रुपमा उद्घाटन गरिएको छ । भवनको उद्घाटनसँगै पुस्तकालय सञ्चालनमा आएका हुन् ।

विद्यालयमा पठन–पाठनका अतिरिक्त पुस्तकालय स्थापनामा सहयोग पुगोस र त्यसबाट विद्यार्र्थीलाई अतिरिक्त क्रियाकलाप आर्जन गर्न सहज बनाउन पुस्तकालय निर्माण गरिएको छ ।

चालु आर्थिक वर्षमा सिमकोट गाउँपालिकाले अनुदान सहयोगमा पुस्तकालय सहयोगको कार्यक्रम राखेको र यसलाई बालमन्दिर माविले समयमै काम सम्पन्न गरेर प्रयोगमा ल्याउदा खुसी लागेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए ।

विद्यालयहरुको शैक्षिक क्षेत्रको विकासका लागि गाउँपालिकाले प्राथमिकतामा राख्ने र जसमा भौतिक पुर्वाधार देखि अन्य सफ्ट वयरका क्रियाकलापहरु पनि सञ्चालन गर्ने उनले बताए ।

आगामी दिनमा पनि विद्यालयलाई आवश्यक पर्ने सहयोग गर्न गाउँपालिका तयार रहेको उनले  बताए ।

कार्यालय भवनको उद्घाटन अध्यक्ष लामा र पुस्तकालय भवनको उद्घाटन उपाध्यक्ष बली रावतले गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष रावतले विद्यालयमा पठन–पाठनका अतिरिक्त ज्ञान आर्जन गर्न पुस्तकालयले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरा रावतको अध्यक्षतामा सञ्चालन भएको थियो ।

यस अघि भवन अभावमा व्यवस्थित रुपमा राख्न नसकिएका पुस्तकहरुलाई नयाँ भवन बनेपछि पुस्तकालयमा राखिएको र अब कार्यालय समयमा पुस्तकालय खुल्ला रहने विद्यालयका शिक्षक मधु बस्नेत शाहीले बताइन् ।

 पुस्तकालयमा हाल तीन सय भन्दा बढी पुस्तक रहेको उनले बताइन् ।  सिमकोट बजारमा रहेको बालमन्दिर माविमा पाँच सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत  छन् ।



Comments: