२०७६ भदौ २ गते

अपांगता विद्यार्थीलाई साहाराको साहरा

राजन रावत/हुम्ला

निरन्तर हुम्लाको शिक्षा सुधारमा क्रियाशिल रहँदै आएको साहारा समूहले अपांगता विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।


समूहद्वारा सञ्चालित हिमाली बहिरा तथा बौद्धिक अपांगता आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ठूलो परिमाणमा स्टेशनरी सहयोग पाएका हुन् । दुर्गमका विद्यार्थीहरुको पठन–पाठनमा सहयोग पुर्याउनका लागि उक्त स्टेशनरी सहयोग गरिएको समूहले जनाएको छ ।
 
समूहको सहजीकरणमा काठमाडौंको नेपाल इन्टरनेसनल फ्राईट तथा शामज्ग्याप्साल सेकुवाबाट अपांगता भएका विद्यार्थीहरुको पठन–पाठनमा सहयोग पुर्याउन प्राप्त एक हजार एक सय ९५ थान कापी र दुई सय ९५ थान डड्पेन उनीहरुलाई उपलब्ध गराइएको समूहका विकास कोइरालाले जानकारी दिए ।

सहयोग कता पठाउने भन्ने निर्णयमा नपुगेको सेकुवालाई हुम्लाका अपांगता भएका विद्यार्थीलाई सहयोग गर्न अनुरोध गरेपछि सो सहयोग उपलब्ध भएको उनको भनाइ थियो । यसले न्यून आयश्रोत भएका अपांगता विद्यार्थीहरुका लागि ठूलै राहत पुग्ने उनले जानकारी दिए ।

कापी र डड्पेन पाए पछि सो विद्यालयमा अध्ययनरत छात्रा एलिसा बुढाले काठमाडौंबाट आएको सहयोगले ५७ जना अपांगता विद्यार्थीहरुको अध्ययनमा राहत पुग्ने बताइन् । दुर्गम र त्यसमा पनि अपांगता भएका विद्यार्थीहरुका लागि यस्तो सहयोगको सधैँका लागि अपेक्षा राखेको उनले बताइन् ।

शहरमा बसेर पनि दुर्गमका विद्यार्थीहरुका लागि सहयोग गर्ने मनकारी हातले गर्दा नै विद्यालयलाई ठूलो सहयोग पुगेको समुहका प्रबन्धक सुर्य पौडेलले जानकारी दिए ।

 उक्त कापी तथा डड्पेनले सो विद्यालयमा अध्ययनरत ५७ जना विद्यार्थीहरुका लागि एक वर्षको लागि स्टेशनरी पुग्ने उनले बिश्वास ब्यक्त गरे ।

 यस अघि पनि कोइरालाको समन्वयमा तीनै विद्यार्थीहरुले न्यानो कपडा पाएका थिए । त्यो संगै नयाँ भैरवी दल गुल्म रानी बन, तारा एयरका क्याप्टेनबाट पनि स्टेशनरी तथा लुगाफाटो सहयोग भएको थियो । सो विद्यालयमा कक्षा पाँच सम्म अध्ययन हुने गरेको छ । विद्यालयमा ३६ जना छात्र र २१ जना छात्राहरुले अध्ययनरत छन् ।

Comments: