• एसइइ प्रश्नपत्र आउट गरेको भन्दै पक्राउ परेका ६ जना सार्वजनिक
    (ईपाटी संवाददाता)


  • सप्तरी । प्रदेश नम्बर २ को एसइइ प्रश्नपत्र आउट गर्नेमा प्रहरी देखि शिक्षक सम्मकै संलग्नता देखिएको छ । बिहीबार प्रहरीले एसइइ परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न रहेका प्रहरी र शिक्षक सहित ६ जनालाई सार्वजनिक गरेको छ ।


    प्रदेश २ मा प्रदेश २ को १४ र १५ गतेको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको थियो ।


    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबि) र दुई नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयले बिहीबार सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।


    प्रहरी अधिकारी दिपेन्द्रकुमार मण्डल र ब्रम्हदेव सुनरैतसँगै विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादवलाई प्रहरीले सार्वजनिक गरेको हो ।


    मण्डल र सुनरैत सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत जवान थिए । उनीहरु जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र सुरक्षार्थ खटिएका थिए । उनीहरु नै प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न रहेको भेटिएका हुन् ।


    उनीहरुले पोकाबाट प्रश्नपत्र निकालेर फोटो खिचेर सप्तरी पठाएका थिए । त्यहीँबाट प्रश्नपत्रको किनबेच सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

    प्रश्नपत्र बाहिरियसँगै स्थागित प्रदेशनम्बर २ को एसइइ परीक्षा शुक्रबारदेखि सुरु हुँदैछ ।