२०७६ मंसिर ६ गते

शिक्षा दिवसका अवसरमा आज यि विद्यालय र क्याम्पस पुरस्कृत हुँदैछन्

ईपाटी संवाददाता/काठमाडौं



काठमाडौं । सरकारले ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना हुने भव्य समारोहमा विभिन्न उत्कृष्ट शैक्षिक संस्थाहरुलाई पुरस्कृत गर्ने भएको छ ।

सरकारले शनिवार राष्ट्रपति विद्यादेवि भण्डारीको उपस्थिति र प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा  यस बर्ष कक्षा १० तर्फ सामुदायिक विद्यालयहरु क्रमशः शितलादेवी सामुदायिक माध्यमिक विद्यालय (कास्की), त्रिपद्य विद्याश्रम माध्यमिक विद्यालय (ललितपुर), कालिका माध्यमिक विद्यालय (बुटवल) लाई पुरस्कृत गर्ने भएको हो ।


यसैगरी, संस्थागत विद्यालयहरुतर्फ मदरल्याण्ड माध्यमिक विद्यालय (पोखरा), जेम्स माध्यमिक विद्यालय (ललितपुर), ज्ञान निकेतन माध्यमिक विद्यालय (काठमाडौं) पुरस्कृत हुने भएका हुन् ।


राष्ट्रपतिको हातबाट पुरस्कृत हुने अन्य विद्यालयहरुमा  कक्षा १२ तर्फ सामुदायिक विद्यालयहरु अमरसिंह माध्यमिक विद्यालय(पोखरा), विश्व निकेतन माध्यमिक विद्यालय (काठमाडौं), बज्रवाराही माध्यमिक विद्यालय (ललितपुर) र संस्थागत विद्यालयहरुतर्फ एस.ओ.एस.हर्मन माइनर माध्यमिक विद्यालय (भक्तपुर), एभ्रेष्ट इङ्गलिस बोर्डिङ्ग माध्यमिक विद्यालय (मोरङ्ग),नेशनल सेकेण्डरी स्कुल (ललितपुर) रहेका छन् । उनीहरुलाई क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित गरी पुरस्कृत गरिने भएको हो ।


 बहिरा बालबालिकाको लागि शिक्षामा पहुँच पुर्याउन उल्लेखनीय योगदान गरे वापत केन्द्रीय बहिरा विद्यालय (काठमाडांै)लाई समेत पुरस्कृत गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।


यसैगरी, क्याम्पस तर्फ पृथ्वी नारायण क्याम्पस (पोखरा, आंगिक तर्फ), लुम्विनी वाणिज्य क्याम्पस (रुपन्देही, सामुदायिक क्याम्पस तर्फ) र मनमोहन इन्स्टिच्यूट अफ हेल्थ साइन्स (काठमाडौं, निजी क्याम्पस तर्फ) लाई पुरस्कृत गरिने छ ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट छनौट भई सिफारिस गरिएको आधारमा लहान प्राविधिक शिक्षालय (सिरहा, आंगिक शिक्षालय तर्फ ),पद्मोदय माध्यमिक विद्यालय (दाङ्ग, सामुदायिक विद्यालय तर्फ), मनमोहन पोलिटेक्निक इन्स्टिच्यूट( मोरङ्ग, साझेदारी तर्फ), नेशनल ह्युमन रिसोर्स डेभलपमेन्ट एकेडेमी (धनुषा, निजी तर्फ) पुरस्कृत हुने शिक्षा मन्त्रालयले जनाएको छ ।


यसैगरी, नेपाल विद्याभुषण क (पि.एच.डी.) २३१ जना, नेपाल विद्याभुषण ख (स्नातकोत्तर) ११८ जना, नेपाल विद्याभुषण ग (स्नातक) १७ जना, नेपाल छात्रा विद्यापदक २० जना गरी कुल ३८६ जनालाई बिहानै विभुषित गरिने जनाइएको छ ।


 यसैगरी उत्कृष्ट कार्य सम्पादन गर्ने सामुदायीक र संस्थागत विद्यालयका १३ जना प्रधानाध्यापकहरुलाई पनि सम्मानित गरीने शिक्षा मन्त्रालयले जनाएको छ ।

Comments: