२०७६ भदौ २ गते

प्रदेश सरकारले हुम्लामा २७ वटा विद्यालय भवन निर्माण गर्दै

राजन रावत/हुम्ला

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा हुम्ला जिल्लाका २७ विद्यालय भवन निर्माण र तीनवटा बालविकास केन्द्रको व्यवस्थापनमा सहयोग गर्ने भएको छ ।


अति नै जीर्णअवस्थामा रहेका मावि, निमावि र प्रावि गरी तीनै तहका २७ विद्यालयका भवन निर्माण गर्न प्रदेश सरकार जुटेको हो ।


विद्यालयमा भएका भवनहरु जीर्ण र कतिपय विद्यालयमा नयाँ भवनको आवश्यकता देखिए पछि स्थानीय प्रदेश सासदको सिफारिसका आधारमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले ती भवनहरु निर्माण गर्ने कार्य शुरु गरेको हो ।


चालु आर्थिक वर्षमा २५ वटा विद्यालय भूकम्प प्रतिरोधी भवन, दुई वटा क्याम्पस भवन र तीन वटा बालविकास केन्द्रलाई व्यवस्थापन सहयोग कार्य सुरु भएको सामाजिक मन्त्रालय शिक्षा विकास निर्देशनालयका सव इन्जिनीयर धर्मराज बोहराले जानकारी दिए ।


नाम्खा गाउँपालिकामा हिमपातको कारणले सम्झौता गर्ने कार्य अगाडि नबढे पनि अन्य सबै गाउँपालिकाका भवन निर्माणका कार्यहरु शुरु भएको बोहराले बताए ।


केही विद्यालय भवनहरुको निर्माण अन्तिम चरणमा पुगेकोसमेत उनले जानकारी दिए ।


यसरी नयाँ भवन निर्माण हुन लागेका विद्यालयहरुमा नाम्खा गाउँपालिकाका महाबौद्ध मावि र नवबुद्ध प्रावि, सिमकोट गाउँपालिकाका सैपाल, कर्णाली, मानसरोवर, रलिङ मावि तथा भिमसेन आधारभूत विद्यालय रहेका छन् ।


त्यसैगरी, खार्पुनाथ गाउँपालिकाका सीता र मालिका मावि तथा, बागेश्वरी, श्रीमष्ठा, र मष्टा प्रावि रहेका छन् । सर्केगार्ड गाउँपालिकाका लालिगुराँस र हिमज्योति मावि तथा सुर्योदय प्रावि र अशुंबर्मा प्रावि रहेका छन् ।


यस्तै, चंखेली गाउँपालिकाका महादेव मावि र चंखेली निमावि र अदानचुली गाउँपालिकाका कुल देवता, ज्ञानोदय, हिमालचुली विद्यालयका भवन निर्माण भइरहेका छन् ।


ताँजाकोट गाउँपालिकाका पुद्धुकोट, धर्मोदय, जनक प्रावि भवन पनि निर्माणाधीन अवस्थामा रहेका छन् ।


साथै, जिल्लाका दुईवटा क्याम्पसहरु मानसरोवर बहुमुखी क्याम्पस र गल्वा वहुमखी क्याम्पसका भवन पनि यसै आर्थिक वर्षमा निर्माण हुने छन् भने तीन वटा बालविकास केन्द्रहरुलाई ब्यवस्थापन सहयोगका लागि सम्झौता भएर कार्य सुरु भएको छ ।


कूल निर्माण हुन लागेका भवनहरुमा चार वटा पचास लाखका, दुई वटा तीस लाखका, १७ वटा बीस लाखका, दुईवटा दश लाखका रहेका छन् ।


भवनहरु आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष निर्देशनलयले लिएको छ । यी भवनको निर्माण कार्य पुरा भए धेरै विद्यालयमा रहेको कक्षा कोठा अभावको समस्या समाधान हुनेछन् ।

 

Comments: