२०७६ मंसिर ४ गते

प्रगति शिक्षा सदन माविको उत्कृष्ट नतिजा, सर्वोत्कृष्ट शिक्षक र विद्यार्थी पुरस्कृत

ईपाटी संवाददाता



ललितपुर । कुपण्डोल स्थित प्रगति शिक्षा सदन माविले २०७४ को एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ ।  


विद्यालयबाट एसइइ परीक्षा दिएका कूल ३४ जना विद्यार्थीहरुमध्ये ८ जनाले ३.६ देखि ४.० जिपिए र  ९ जनाले ३.२ देखि ३.६ जिपिए प्राप्त गर्न सफल रहेका छन् । यसैगरी, २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थी संख्या ११ रहेका छन भने  ४ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गरेका छन् । २ जना विद्यार्थीले २.२ देखि २.४  जिपिए प्राप्त गरेका हुन् ।


विद्यालयले एक कार्यक्रम गरेर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरेको छ । सो अवसरमा उक्त परीक्षामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी कुनाल तामाङ(३.९०) लाई   ८ हजारको डा.अच्यूतमणि आचार्य शिक्षा पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा श्री शंकर नैना रिजाल मेमोरियल ट्रष्टबाट छात्रवृत्ति प्राप्त गरी कक्षा १० को अध्ययन पूरा गर्ने तीन जना विद्यार्थीहरुलाई सुभद्रा प्रसाइंले मायाको चिनो प्रदान गरेकी थिइन ।   


२०७४ को एसइइ परीक्षामा विद्यालयबाट सहभागी भएर सफल विद्यार्थीहरुलई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा  पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याउदै आएको भन्दै प्रसंशा गरे । उत्कृष्ट नतिजालाई निरन्तरता दिन सक्नु ठूलो कुरा भएको भन्दै श्रेष्ठले अन्य सामुदायिक विद्यालयहरुले समेत प्रगति शिक्षा सदनबाट सिक्नुपर्ने धारणा व्यक्त गरे ।


 शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख गुणराज पोखरेलले विद्यालयको नाममात्रै नभइ कामले समेत निरन्तर प्रगति गर्दै आएको धारणा व्यक्त गरे । एकजना प्रधानाध्यापकले चाहने हो भने सामुदायिक विद्यालय पनि अब्बल बन्न सक्छ भन्ने कुराको गतिलो उदाहरण विद्यालय भएको उनको भनाइ थियो ।
 कार्यक्रममा, पूर्वसचिव तथा भवन निर्माण समितिका अध्यक्ष दीपेन्द्रपुरुष ढकाल,  पूर्व सचिव एवम् सल्लाहकार महाश्रम शर्मा, सल्लाहकार समितिका अध्यक्ष डा.बीरेन्द्रराज पोखरेल समेतले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी एवं शिक्षकहरुलाई शुभकामना व्यक्त गरेका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. बिनोद श्रीवास्तवले  सवैपक्षको सहयोग र शिक्षक वर्गको मिहिनेतका कारण विद्यालयले निरन्तर प्रगति गर्दै गउको बताए । त्यस्तै, विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले सवैपक्षको साथ, सहयोग र सहकार्यका कारण  विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए । आगामी दिनमा विद्यालयले सिकाइमा सूचना प्रविधिको प्रयोगलाई अझै बढाउदै लग्ने प्रअ घिमिरेले बताए ।


परीक्षा पूरा गर्ने विद्यार्थीहरुको तर्फबाट कुनाल तामाङले आफ्नो अनुभव सफलताको बारेमा मन्तव्य दिएका उक्त कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरी मनोरञ्जन गराएका थिए ।

Comments: