२०७६ असोज २७ गते

आकर्षण विदेशी डिग्रीको

काठमाडौ । पछिल्ला वर्षहरूमा एमबीएको डिग्री हासिल गर्न चाहने विद्यार्थीका लागि रोजाइको विषय बनेको छ विदेशी डिग्री पनि । अहिले मुलुकभित्र विदेशी विश्वविद्यालयसँगको सम्बन्धनमा एमबीएको पढाइ सञ्चालन गरिरहेका संस्थाहरू एक दर्जनभन्दा बढी छन् ।

स्वदेशी विश्वविद्यालयको तुलनामा स्तरीय पाठ्यक्रम, समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन र आधुनिक प्रविधिको प्रयोगबाट सञ्चालन हुने पठनपाठनशैलीका कारण आफूहरूले प्रदान गरिरहेको डिग्री अन्यभन्दा विशिष्ट रहेको विदेशी विश्वविद्यालयका सम्बन्धनमा पठनपाठन सञ्चालन गरिरहेका कलेज सञ्चालकहरूको दाबी छ ।

अहिले मुलुकभित्र विशेषगरी अमेरिका, बेलायत, मलेसिया, थाइल्यान्ड, भारतलगायतका मुलुकका विश्वविद्यालयको सम्बन्धनमा एमबीएको पठनपाठन सञ्चालन भइरहेको छ ।

मलेसियाको लिंकन विश्वविद्यालयको सम्बन्धनमा एमबीएको पढाइ सञ्चालन गरिरहेका फोनिक्स कलेज अफ म्यानेजमेन्टका प्राचार्य विनोद खत्री विदेशी विश्वविद्यालयको सम्बन्धनमा कलेजहरूले एमबीएको पढाइ सञ्चालन गरेकै कारण थुप्रै विद्यार्थीलाई एमबीए पढ्ने अवसर प्राप्त भएको दाबी गर्छन् ।

‘नेपालबाट वार्षिक तीन लाखभन्दा धेरै विद्यार्थीहरूले स्नातक तह उत्तीर्ण गरेका हुन्छन् । तीमध्ये एमबीए पढ्ने धेरैले चाहना राखेका हुन्छन् । तर स्वदेशी शैक्षिक संस्थाले उनीहरू सबैको धोको पूरा गर्न सक्दैनन्' खत्रीको भनाइ छ, ‘राज्यबाट एक पैसा पनि सहयोग नलिइकन हामीले विद्यार्थीलाई स्तरीय शिक्षा दिइरहेका छौं । यसको राज्यले पनि सम्मान गर्न सक्नुपर्छ ।' लिंकन विश्वविद्यालयको सम्बन्धनमा नेपालमा मात्र १२ वटा कलेज सञ्चालनमा रहेको खत्री बताउँछन् ।

एमबीएको खोजीमा भौंतारिरहेका विद्यार्थीलाई पढाइको अवसरमात्र होइन स्तरीय शिक्षासमेत दिएको अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा २०११ देखि एमबीएको पढाइ सञ्चालन गरिरहेको किङ्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल बताउँछन् । विदेशी विश्वविद्यालयका पुरानो पाठ्यक्रम, पठनपाठन गर्ने पुरानो शैलीका कारण दिक्क भएका विद्यार्थीका लागि यस्ता कलेजहरू उपयुक्त संस्था भएको अर्यालको भनाइ छ ।

‘हामीले स्वदेशी विश्वविद्यालयलाई दोष दिनु त हुँदैन । तर यहाँको पढाउने शैली, विद्यार्थीलाई दिइने असाइन्मेन्ट, सैद्धान्तिक र व्यावहारिक सीप आदिका हिसाबले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित शैक्षिक संस्थाहरू निकै अगाडि छन् । यही भएर पनि विद्यार्थीका लागि यस्ता संस्था आकर्षणका केन्द्र बनेको हुन सक्छु अर्याल भन्छन् ।

बेलायतको दुईवटा विश्वविद्यालयको सम्बन्धनमा स्नातकोत्तर तहमा फरकफरक दुईवटा विषयको पढाइ सञ्चालन गरिरहेको द ब्रिटिस कलेजका मार्केटिङ म्यानेजर सुमन श्रेष्ठ पनि स्वदेशी विश्वविद्यालयको तुलनामा स्तरीय पाठ्यक्रम र पढाउने फरक शैलीकै कारण विदेशी डिग्री विद्यार्थीमाझ लोकप्रिय रहेको बताउँछन् । ‘विदेशी पाठ्यक्रम समयअनुसार परिमार्जन भइरहेका हुन्छन् ।

हरेक शैक्षिक सत्रमा बजारमा माग रहेको र आविष्कार भएका नयाँ प्रविधिलाई केन्द्रित गरेर पाठ्यक्रम बनाइन्छु श्रेष्ठ भन्छन्, ‘विद्यार्थीलाई कसरी सीपमूलक शिक्षा दिने भन्नेमा यस्ता विषयले जोड दिएका हुन्छन् । विदेशी डिग्री लिएपछि विद्यार्थी बेरोजगार बस्न नपर्ने यसको सबैभन्दा बढी आकर्षक पक्ष हो ।'

द ब्रिटिस कलेजले बेलायतको युनिभर्सिटी अफ वेस्ट अफ इङल्यान्डको सम्बन्धनमा दुईवर्षे एमएस्सी इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र बेलायतकै लिडस बेकेट युनिभर्सिटीको सम्बन्धनमा दुईवर्षे एक्जुकेटिभ एमबीएको पढाइ सञ्चालन गरिरहेको छ ।

मुलुकअनुसार विदेशी डिग्री हासिल गर्दा विद्यार्थीले शुल्क भने फरकफरक तिर्नुपर्छ । मलेसियाको लिंकन विश्वविद्यालयको सम्बन्धनमा एमबीएको पढाइ सञ्चालन गरिरहेका इन्स्टिच्युट अफ इन्टरनेसनल म्यानेजमेन्ट साइन्स (आईआईएमएस) का प्रमुख कार्यकारी अधिकृत सविन्द्र महर्जन दुई वर्षको कुल कोर्स पूरा गर्दा विद्यार्थीले तीन लाख ५० हजार रुपैयाँको हाराहारीमा शुल्क तिर्नुपर्ने बताउँछन् । अन्नपुर्णपोष्टमा खवर छ ।

Comments: