२०७६ असोज २७ गते

विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य नेपाल

‘ग्लोबलाइजेसन’सँगै संसार एउटा घरजस्तो भएको छ । देशहरू घरका कोठाजस्तो बनेका छन् । एक देशबाट अर्को देशमा जाने, आउने र अर्कै देशमा स्याथी रूपमा बसोबास गर्ने कुरा सामान्य भइसकेको छ । मानिसहरू मूलतः तीन ‘अ’का कारणले देश छाड्ने गर्छन् । अध्ययन, अवसर र असहज अवस्था । पछिल्लो समय अध्ययनका लागि देश छोड्ने वा विदेश जानेहरूको संख्या बढ्दो छ ।

नेपाल पनि यो ‘ट्रेन्ड’बाट अछुतो छैन । विदेशबाट अध्ययनकै लागि छिमेकी मुलुक भारत, चीनसहित अमेरिका, जर्मनसहित अन्य देशका विद्यार्थी पनि नेपाल आउने गर्छन् । नेपालको वातावरण,संस्कृति र कम खर्चले विदेशी विद्यार्थी आकर्षण गर्न सक्छन् ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का अनुसार नेपालबाट मात्रै वार्षिक २० हजार विद्यार्थी भारतबाहेकका देशमा अध्ययनका लागि जान्छन् । नेपालमा पनि विदेशी विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् । पछिल्लो तथ्यांकअनुसार यसरी अध्ययनका लागि नेपाल बस्ने विद्यार्थीको संख्या  १ हजार ९ सय ११ छ ।

यसरी अध्ययनका लागि नेपाल आउनेमा छिमेकी भारतसहित जापान, कोरिया, थाइल्यान्ड, श्रीलंका, अमेरिका, जर्मनलगायत केही अफ्रिकी देशका विद्यार्थीसमेत  छन् । शिक्षा क्षेत्रमा उपयुक्त लगानी र वातावरण निर्माण गर्ने हो भने नेपाल संसारभरका विद्यार्थीका लागि  आकर्षक शैक्षिक गन्तव्य बन्न सक्ने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् ।

विदेशी विद्यार्थी नेपालको मेडिकल शिक्षा, भाषा र इन्जिनियरिङमा बढी आकर्षित देखिन्छन् । त्यसैले जानकारहरू यो क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउँछन् । शिक्षा मन्त्रालयका सहसचिव डा. तुलसी थपलिया पूर्वाधार बढाउने, शिक्षाको गुणस्तर वृद्धि गर्ने र विदेशमै गएर प्रचारप्रसार गर्ने हो भने नेपाल विदेशी विद्यार्थीका लागि भरपर्दो गन्तव्य बन्न सक्ने बताउँछन् ।

उनका अनुसार मन्त्रालयमा मेडिकल शिक्षा पढ्ने विदेशी विद्यार्थीहरूको संख्या धेरै छ । सबैैभन्दा बढी भारत, त्यसपछि श्रीलंका र माल्दिभ्सबाट विद्यार्थी आउने गरेको उनले बताए । “नियमित प्रक्रियाबाट आफंै थाहा पाएर आउने विद्यार्थीको संख्या त उस्तै छ । तर, प्रचारप्रसार गर्ने, शिक्षाको गुणस्तर बढाउने हो भने विदेशी विद्यार्थी तान्न सकिन्छ,” उनले भने ।

अन्यत्रभन्दा मेडिकल शिक्षा सस्तो, विद्यार्थीलाई खान र बस्न पनि नेपाल महँगो नभएकाले विदेशी विद्यार्थी केन्द्रित गरेर मेडिकल कलेज खोल्न सकिए त्यसको भविष्य राम्रो देखिन्छ । काठमाडौं विश्वविद्यालयबाट मात्रै ०७३ मंसिर ७ मा भएको दिक्षान्त समारोहमा ८ देशका एक सय २५ विद्यार्थी दीक्षित भए । जसमा छिमेकी मुलुक भारत, चीनसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० राष्ट्रकै बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र त्यसबाहिरका जर्मन र अमेरिकी विद्यार्थीहरू थिए ।

यो तथ्यांकले पनि नेपालमा विदेशी विद्यार्थीको आकर्षण रहेको देखाउँछ । अन्य विश्वविद्यालयमा पनि अहिले स्वतःस्फूर्त अध्ययनका लागि विदेशी विद्यार्थी आउने गरेका छन् । योजनाबद्ध रूपमा विदेशी विद्यार्थी भित्र्याउन ती देशहरूमै पुगेर जानकारी गराउनसके नेपाल विदेशी विद्यार्थीका लागि राम्रो हब बन्न सक्ने बताउँछन्, शिक्षा मन्त्रालयका सहसचिव थपलिया ।

नेपालमा सबैभन्दा धेरै विदेशी विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयले आकर्षित गर्ने गर्दछ । काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार ध्रुव थापा नेपाल विदेशी विद्यार्थीका लागि आकर्षक शैक्षिक हब बन्ने प्रशस्तै सम्भावना देख्छन् । “विदेशी विद्यार्थी भनेको हाम्रो लागि पाहुना हुन्,” उनी भन्छन्, “उनीहरूका लागि आवश्यक पर्ने न्यूनतम सुविधा दिन सक्ने हो र नेपालको आफ्नो ‘युनिकनेस’लाई प्रयोग गर्न सक्ने हो भने विदेशी विद्यार्थीका लागि नेपाल आकर्षणको केन्द्र बन्न सक्छ ।” उनले भिसा र बैंकिङ सुविधालाई सहज बनाउनुपर्नेमा जोड दिए ।

यसकारण सम्भावना छ नेपालमा
नेपालमा मेडिकल, बीडीएस र इन्जिनियरिङ अध्ययनका लागि विदेशी विद्यार्थीको आकर्षणको केन्द्र बन्नसक्ने धेरै आधारहरू छन् । अन्यत्रभन्दा पढ्न शुल्क कम मुख्य कारण हो भने बन्दोबस्तीमा पनि कम खर्च हुन्छ । सामान्यतयाः इन्जिनियरिङ् पढ्न ४ वर्षमा ११÷१२ लाख भए पुग्छ । विदेशमा त्यही कोर्सको दोब्बरभन्दा बढी रकम भुक्तान गर्नुपर्दछ ।

नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष हरेराम श्रेष्ठ देशभित्र इन्जिनियरिङ शिक्षामा राम्रो सम्भावना रहेको बताउँछन् । ‘वल्र्ड क्लास इन्जिनियरिङ युनिभर्सिटी’ को लागि तयारी समेत सुरु भइरहेको उनले बताए । “एसियाली विकास बैंकको लगानी रहनेगरी शिक्षा मन्त्रालयले गृहकार्य गरिरहेको छ,” उनले भने, “हामीकहाँ इन्जिनियरिङको छुट्टै विश्वविद्यालय भएन, जसले गर्दा गुणस्तरीयताका सम्बन्धमा त्यति प्रचारप्रसार हुन पाएन ।”

उनले इन्जिनियरिङ र टेक्नोलोजीको छुट्टै विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेको बताए । “यो क्षेत्रमा लगानी आउने र इन्जिनियरिङ् शिक्षालाई गुणस्तरीय र अन्तरराष्ट्रियस्तरको दिने हो भने नेपाल हब बन्न सक्छ,” उनले भने, “हाम्रो अवस्थिति, इन्जिनियरिङ्को प्रयोगात्मक कार्य गर्नका  लागि रहेको सहजताले यहाँ प्रशस्त सम्भावना देखिन्छ ।”

इन्जिनियरिङ अध्ययनका लागि निश्चित कोटा हुने भएकाले पनि सबै विद्यार्थीले पढ्न पाउने अवस्था छैन । यसलाई थप व्यवस्थित गर्ने हो भने विदेशीसँगै स्वदेशी विद्यार्थी पनि आकर्षित गर्न सक्ने श्रेष्ठ बताउँछन् । त्यस्तै, नेपालमा विदेशी विद्यार्थी आकर्षण गर्ने सम्भावनाको क्षेत्रका रूपमा  मेडिकल शिक्षालाई लिने गरिन्छ । तर, अहिलेकै जस्तो मेडिकल कलेजका लागि दिइने स्वीकृति र मापदण्डको आधारमा मात्र भने विदेशी विद्यार्थी आकर्षण गर्न पर्याप्त नहुने जानकारहरू बताउँछन् ।



अमेरिकामा एमबीबीएस गर्न स्नातकपछि ५ वर्ष लाग्छ । तर, नेपालमा प्लस टु पछि ५ वर्षमै सकिने भएकाले पनि अमेरिकामा प्रचारप्रसार गर्न सके अमेरिकी विद्यार्थी र त्यहाँ रहेका प्रवासी नेपालीका सन्तानका लागि नेपाल मेडिकल शिक्षाका लागि ‘हब’ हुनसक्छ स् मनप्रसाद वाग्ले, शिक्षाविद्
चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम०का डिन प्रा। डा। जगदीशप्रसाद अग्रवाल मेडिकल शिक्षामा विदेशी विद्यार्थी ल्याउन सकिने सम्भावना उच्च रहेको बताउँछन् । तर, त्यसो गर्दा पनि सरकारको आवश्यक्ता र राष्ट्रको प्राथमिकतामा ध्यान दिनुपर्ने बताउँछन् ।

“मेडिकल शिक्षाका लागि विदेशी विद्यार्थी ल्याउन सकिने सम्भावना नभएको त होइन,” अग्रवाल भन्छन्,“तर, त्यसका लागि नेपालको मेडिकल शिक्षा पनि अन्तरराष्ट्रिय गुणस्तरको हुनुपर्छ । अहिले जति छ, त्यो मात्र  भने पर्याप्त छैन ।”

विदेशी विद्यार्थीलाई आकर्षित गर्न शिक्षा पनि अन्तरराष्ट्रिय स्तरको बनाउनुपर्ने हुन्छ । त्यसका लागि मेडिकल शिक्षाको गुणस्तर बढाउन थप लगानीको आवश्यक पर्ने हुन्छ । शिक्षा क्षेत्रका जानकारहरू विदेशी विद्यार्थीका लागि मात्र पनि छुट्टै मेडिकल कलेज सञ्चालन गर्न सकिने बताउँछन् ।

विदेशी ल्याउने, स्वदेशी रोक्ने
नेपालमा विदेशी विद्यार्थी आकर्षित गर्नसक्दा देशको अर्थतन्त्रमा पनि त्यसले मदत पु¥याउने देखिन्छ । संसारका धेरै देश विदेशी विद्यार्थी भित्र्याएर आम्दानी गरिरहेका छन् । शिक्षा मन्त्रालय छात्रावृत्ति शाखाका अनुसार गतवर्ष विदेशमा अध्ययनका लागि ७६ मुलुकका लागि ३० हजार ६ सय ९६ विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ (अनुमतिपत्र) लिएका थिए ।

जसबाट करिब ३३ अर्ब रुपैयाँ बाहिरिएको थियो । यसरी बाहिरिने विद्यार्थीहरू अध्ययनका लागि भने पनि मुख्य उद्देश्य भने आर्थिक उपार्जन गर्ने रहँदै आएको छ । त्यसैले बर्सेनि बढ्दो क्रममा रहेको विदेशीने विद्यार्थीलाई स्वदेशमै रोक्न पनि नेपालमै रोजगारमूलक शिक्षा आवश्यक भइसकेको छ । विदेशी विद्यार्थी ल्याउन सक्ने र नेपालका विद्यार्थी विदेशीने क्रम रोक्ने हो भने त्यसले अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने शिक्षा मन्त्रालयका सहसचिव थपलिया बताउँछन् ।

शिक्षाविद् मनप्रसाद वाग्ले नेपालमा अहिले पनि विदेशी विद्यार्थी शिक्षाका लागि  सस्तो रहेको बताउँछन् । मेडिकल शिक्षामा अमेरिका र प्रवासी नेपालीका छोराछोरी मात्र आकर्षित गर्न सके पनि नेपालमा धेरै सम्भावना रहेको उनी बताउँछन् । अमेरिकामा एमबीबीएस गर्न स्नातकपछि ५ वर्ष लाग्छ । तर, नेपालमा प्लस टु पछि ५ वर्षमा सो कोर्स सकिने भएकाले पनि अमेरिकामा प्रचारप्रसार गर्न सके अमेरिकी विद्यार्थी र त्यहाँ रहेका प्रवासी नेपालीका सन्तानका लागि नेपाल मेडिकल शिक्षाका लागि ‘हब’ हुनसक्ने वाग्ले बताउँछन् ।

त्यस्तै पश्चिमाहरूको चासो नेपालको इतिहास र संस्कृतिमा रहेकाले यो पनि सम्भावनाको अर्को क्षेत्र रहेको उनको बुझाइ छ । “नेपाललाई विदेशी विद्यार्थीका लागि हब बनाउन सकिन्छ,” शिक्षाविद् वाग्ले भन्छन्, “तर, त्यसका लागि हाम्रा विश्वविद्यालयको गुणस्तरको मापदण्ड अन्तरराष्ट्रियस्तरको कायम गर्नुपर्छ । त्यसो गर्न सकेका छैनौं ।”

नेपालको हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिस्तरको शैक्षिक संस्था खोल्न सके ठूलो जनसंख्या रहेको चिन र तराईमा खोलेर अर्को धेरै जनसंख्या भएको भारतका सीमा छेउका विद्यार्थी तान्न सकिने सम्भावना प्रशस्तै रहेको उनको भनाइ छ ।

कारोवार दैनिकमा जगन्नाथ दुलालले खवर लेखेका छन् ।

Comments: