• प्रदेश २ को शिक्षा बजेट : प्राविधिक विश्वविद्यालय र आफ्नै विद्यालय विकास योजना
    (रोशन क्षेत्री गाउँले/काठमाडौं)


  • काठमाडौं । प्रदेश २ सरकारले प्राविधिक विश्वविद्यालय स्थापना, प्रत्येक जिल्लामा बाल उद्यान, विपन्न, दलित तथा मुस्लिम छात्राहरुका लागि मासिक रु ५०० का दरले विशेष छात्रवृत्ति कार्यक्रम सहितको आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।


    आर्थिक मामिलामन्त्री विजयकुमार यादवले आइतबार प्रदेश सभामा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट पेश गर्दै ८ वटै जिल्लामा एक सामुदायिक विद्यालय छनोट गरी नमुना प्रादेशिक विद्यालयको रुपमा विकास गर्ने योजना सार्वजनिक गरेका हुन् ।

     

    प्रदेश २ को शिक्षावजेटको पूर्णपाठ

     

    १. आगामी आर्थिक वर्षमा प्राविधिक विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।


    २. विगत देखि सञ्चालनमा रहेको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिएको छु । छोरीलाई पनि पढाउनुपर्छ भन्ने भावनालाई सबैमा जागृत गराउन यो कार्यक्रम सफल भएकोछ । यो अभियान सञ्चालन गर्नका लागि रु.३९ करोड ३३ लाख विनियोजन गरेको छु ।


    ३. छोरी शिक्षा मुद्दती योजना कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छु । नेपाल सरकारको विशेष अनुदान सहायता अन्तर्गत हाल संचालनमा रहेको यो कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा समेत नेपाल सरकारको रु.९० करोड वरावरको अनुदान सहायता परिचालन हुने अनुमान यस सम्मानित सभा समक्ष पेश गर्ने अनुमति चाहन्छु ।


    ४. सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्यनरत आर्थिक रुपले विपन्न, दलित तथा मुस्लिम छात्राहरुका लागि मासिक रु ५०० का दरले विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु । नेपाल सरकारको विशेष अनुदान सहायताबाट सञ्चालन हुने यो कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा रु ४८ करोड विनियोजन गरेको छु ।


    ५. आगामी आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा एक सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा स्तरोन्नति र संचालन गर्नको लागि रु.१६ करोड विनियोजन गरेको छु ।


    ६. समता, पहुँच र सहभागिताको आधारमा विद्यालय शिक्षाको सुदृढिकरण गरी यस प्रदेशको सामाजिक आर्थिक रुपान्तरणका लागि आवश्यक स्वावलम्बी, दक्ष एवं प्रतिस्पर्धी नागरिकको विकास गर्ने नीति अनुरुप विद्यालय क्षेत्र विकास कार्यक्रम आगामी आर्थिक वर्षमा थालनी गरिनेछ । यसका लागि रु. ६ करोड ७१ लाख २३ हजार विनियोजन गरेको छु ।


    ७. प्रदेशका ८ वटै जिल्लामा एक सामुदायिक विद्यालय छनोट गरी नमुना प्रादेशिक विद्यालयको रुपमा विकास गरिनेछ । यसका लागि रु. १६ करोड विनियोजन गरेको छु ।


    ८. शिशु सदन स्थापना तथा संचालनका र प्रत्येक जिल्लामा बाल उद्यान निर्माणका लागि रु ५० लाख विनियोजन गरेको छु । आगामी आर्थिक वर्षमा प्रदेश रेडियो तथा प्रदेश मुद्रण छापाखाना स्थापना गरिनेछ । यसका लागि ४ करोड ९० लाख विनियोजन गरेको छु ।