२०७६ असोज २ गते

आवश्यक शिक्षक दरबन्दी सिर्जना गर्दै प्रदेश सरकार

ईपाटी संवाददाता


काठमाडौं । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश सरकार आफैले आवश्यक शिक्षक दरबन्दी सिर्जना गर्ने बताएका छन् ।


सामुदायिक विद्यालयमा शिक्षक दरवन्दी अभावका कारण शैक्षिक क्रियाकलापमा समस्या परेको गुनासा धेरै आएकाले छिट्टै प्रदेश सरकार आफैले इसिडि देखि १२ कक्षा सम्मकै लागि शिक्षक दरबन्दी सिर्जना गर्ने तयारी गरेको मन्त्री दुलालले खुलासा गरेका हुन् ।


काठमाडौं बाफल स्थित ज्ञानोदय माविको बधाइ, सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको उद्घाटन गर्दै दुलालले दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनको आधारमा पहिले दरबन्दी मिलान गर्ने र तत्काल आवश्यक दरबन्दी सिर्जना गरेर विज्ञापन गर्ने स्पष्टपारेका हुन् । पहिले दरबन्दी मिलान गर्नेछौं, त्यसपछि आवश्यक दरबन्दी सिर्जना गरेर विज्ञापन गर्नेछौं–मन्त्री दुलालले भने–केन्द्रले पनि दरबन्दी सिर्जना गर्नेछ हामीले पनि गर्नेछौं ।

निजी विद्यालयलाई गाली गर्ने समय सामुदायिक विद्यालयको सुधारमा लगाउन सबैसँग आग्रह गर्दै आगामी पाँच वर्ष भित्र सबैको पहिलो रोजाइ सामुदायिक विद्यालय बनाएरै छाड्ने मन्त्री दुलालले उद्घोष गरे । प्रदेश ३ ले बहुप्रतिभाशाली युवा, वैज्ञमनिकहरुलाई यसैवर्ष देखि पुरस्कृत गर्दै प्रोत्साहन गर्न शुरु गर्न लागेको जानकारी दिँदै फरक आइडिया र क्षमता भएका युवाहरुलाई  प्रोत्साहन, सुरक्षा र लगानी प्रदेश सरकारले गर्ने उनले स्पष्ट पारे । प्रविधिमा गरिने लगानीले राज्यलाई पछि ठूलो गुन लगाउने भन्दै मन्त्री दुलालले प्रदेश सरकारको लक्ष्य प्रविधिको विकास भएको स्पष्ट पारे ।


कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षामा सरकारले चासो नदिँदा मुलुकको समृद्धिको सपना धरापमा पर्ने खतरा रहेको औंल्याए । इतिहासकै शक्तिशाली सरकार भएपनि वर्तमान सरकार काम गर्न चुकेको भन्दै थापाले शिक्षकमा समस्या र उत्पीडन रहेसम्म शिक्षा नसुधारीने ठोकुवा गरे ।


ज्ञानोदय माविका प्रधानाध्यापक नातीकाजी महर्जनले सबैको साथ र सहयोगले विद्यालयले निरन्तर प्रगति गर्दै आएको भन्दै विद्यार्थीको चाप बढेपनि शिक्षक दरबन्दी अभावमा सबैलाई भर्ना गर्न नसकिएको बताए । विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध हुनुपर्नेमा महर्जनको जोड थियो ।
शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ३ का निर्देशक दिनेशकुमार श्रेष्ठले दरबन्दी मिलान शुरु हुन साथै विद्यार्थीका आधारमा शिक्षक दरबन्दीको पुनर्वितरण शुरु गरिने जानकारी दिए ।


विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष उर्मिला मालीले विभिन्न समस्याका वावजुद पनि विद्यालयले सवैको सहयोग र सहकार्यबाट गुणस्तरीय शिक्षाको सुधार गर्न सकेको बताइन् ।


कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुको विदाई र एसइइ र एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

Comments: