२०७६ असोज २९ गते

छात्रावास छैन, पिँढीमा बास

अन्तैबाट

राक्सिराङ  । नौ कक्षामा पढ्ने रुकुमाया चेपाङ घरको पिँढीमा काठ र स्याउलाले बारेर पढ्न बसेकी छन्  । आफन्तको घर हो तर भित्र बस्ने ठाउँको अभावले गर्दा उनी पिँढीमा बस्न बाध्य छिन्  ।

रुकुमाया राक्सिराङ गाउँपालिका ६ सिलिङेस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयकी विद्यार्थी हुन् । उनको घर राक्सिराङ गाउँपालिकाकै टोडेके हो । घरबाट स्कुल आउजाउ गर्न उनलाई ९ घण्टा लाग्छ । त्यसैले उनी सिलिङेमा नै बसेर पढ्न थालेकी हुन । रुकुमाया मात्र होइन, चरिमारा, पम्पुङ, धिराङ र परेवाकोटका गरी ४१ जना छात्रछात्रा सिलिङेका विभिन्न घरमा बसेर स्कुलमा पढिरहेका छन् ।


राक्सिराङ गाउँपालिका ६ स्थित साविकको काँकडा गाविसमा सिलिङेमा मात्र एउटा माध्यमिक विद्यालय छ । ‘साविकको काँकडा गाविसका विद्यार्थी माध्यमिक तहको अध्ययन गर्न यिनै पढ्न आउनुपर्छ,’ राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तारा दुवाडीले भने, ‘यस स्कुलमा टाढा/टाढाका विद्यार्थी पढ्न आउने गरेका छन् ।’ टाढाटाढाका विद्यार्थी यस क्षेत्रका घरका पिँढी बारेर पनि बसेका छन्,’ उनले थपे ।


छात्रावासको अभावले गर्दा साविकका काँकडा गाविस अधिकांश विद्यार्थी बीचैमा पढाइ छोड्न बाध्य छन भने केही विद्यार्थी विद्यालय टाढा भएकाले भर्ना नै हुँदैनन् । साविकको उक्त गाविसमा २ वटा मात्र आठ कक्षासम्म पठनपाठन हुने स्कुल छ । मावि एउटा मात्र छ । आठ कक्षासम्म उत्तीर्ण भएका विद्यार्थी माध्यमिक विद्यालय टाढा भएकाले समस्या भोगिरहेका छन् । बस्ने ठाउँको अभावले उनीहरूलाई समस्या भएको हो । सिलिङेस्थित उक्त माध्यमिक विद्यालयमा १२ जना मात्र अट्ने छात्रावास छ । ‘त्यो अत्यन्त अपुग छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीराम चेपाङले भने, ‘५० जनाभन्दा बढी विद्यार्थी टाढा/टाढाबाट यहाँ पढ्न आउने गरेका छन् ।’


छात्रावासमा नअटेका विद्यार्थीहरू गाउँका छाप्रँमा विभिन्न किसिमले आश्रय लिएर बसेका छन् । ‘सय जनाभन्दा बढी अट्ने क्षमता भएको छात्रावास बनाइदिन प्रदेश सरकारसँग माग गरेका छौँ,’ वडाध्यक्ष सिंहलाल चेपाङले भने, ‘प्रदेश सरकारले बनाइदिने आश्वासन दिएका छन् । हेरौँ ।’ २०२२ सालमा स्थापना भएको उक्त माध्यमिक विद्यालयमा ६ सय ३२ जना छात्रछात्रा अध्ययन गर्छन् ।

तीमध्ये ७६ प्रतिशत चेपाङ समुदायका बालबालिकाहरू अध्ययन गर्छन् । उक्त विद्यालयमा अध्ययन गर्नेमध्ये ३५५ जना छात्रा र २७७ जना छात्र छन् । विद्यालयमा एक गैरसरकारी संस्थाले विगत ६ वर्षदेखि दिवाखाजाको व्यवस्था गर्दै आएको छ । दुर्गम र चेपाङ बस्तीमा रहेको उक्त विद्यालयमा विद्यार्थी संख्या उल्लेख्य हुनुमा दिवाखाजाका कारणले हो प्रअ दुवाडीले भने, ‘स्कुलमा दिउँसो खाजा खान पाउने भएकाले अधिकांश चेपाङ समुदायका बालबालिकाहरू बिहान भोकै पढ्न आउने गर्छन् ।’

स्कुलमा पनि खाजाको व्यवस्था भएन भने उनीहरू स्कुल हाजिर हुँदैनन् । आए पनि हाफटाइमपछि भागेर घर जान्छन् । दिवाखाजाको व्यवस्थाले स्कुलमा उनीहरू नियमित पढ्न आउनुका साथै उनीहरूको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको दाबी प्रअ दुवाडीले गरे । उक्त स्कुलमा अहिले कम्प्युटरको पढाइसमेत हुने गरेको छ ।

प्रताप विष्टले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: