२०७६ असोज १ गते

विद्यार्थीको पठन सीप विकासका लागि शिक्षकले के गर्ने ?


पठन सीपको विकासमा शिक्षकको के भूमिका के हुन्छ ? यस विषयमा हामी केही लेख्न खोजिरहेका छौं । सबैभन्दा महत्वपूर्ण कुरा भनेको पठन सीप विकासको एउटा सम्बन्ध पढ्ने बानीसँग रहेको हुन्छ । यसमा शिक्षकले एकदमै महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।


उदाहरणका लागि बालबालिकालाई कथा पढेर सुनाउने, कथा–कविताका पुस्तकप्रति मोह जगाउने तथा कविताका कितावहरुका माध्यमबाट भाषाका सौन्दर्यको स्वाद चाख्न उनीहरुलाई आमन्त्रित गर्नु पर्छ । यसबाट शिक्षकहरुले बालबालिकाका लागि किताबको दुनियाँको ढोका खोल्न सक्छन् ।

पठन सीप
सबैभन्दा पहिलो प्रश्न पठन सीप भनेको के हो ? कुनै पनि व्यक्तिको लिखित सामग्रीलाई डिकोड गर्न तथा त्यसबाट अर्थ ग्रहण गर्ने क्षमता नै पठन सीप हो । उदाहरणका लागि यदि तपार्ईँँ डाक्टरी पेशाबाट अलग हुनुहुन्छ र तपार्ईँँलाई डाक्टरीको रिर्पोट कसैलाई सम्झाउन भनियो भने सक्नुहुन्न । किनकि, तपार्ईँको सबै ध्यान देखिएको सामग्रीको डिकोड गर्नमै जान्छ । तपार्ईँ लिखित सामग्रीको मात्रै अर्थ खोज्नुहुन्छ अनि पूरा वाक्यको अर्थ पत्ता लगाउने प्रयास गर्नुहुन्छ । यसमा तपाईँ मूल रुपमा दुईवटा काम गरिरहेको हुनुहुन्छ । एउटा रिर्पोटको शब्दहरुको पहिचान गर्न र अर्को भनेको त्यसको अर्थ बुझ्ने प्रयासमा लाग्नुहुन्छ । संक्षेपमा भन्नुपर्दा शब्दहरुको पहिचान गर्ने र त्यसको सही उच्चारण गर्नुलाई नै डिकोडिङ्ग भनिन्छ । जबकी त्यसको अर्थ निकाल्न सक्ने क्षमतालाई मात्रै बुझ्नु भनिन्छ ।

डिकोडिङ्ग
डिकोडिङ्ग (Decoding) के हो ? यो प्रश्नको जवाफ हो–कुनै शब्दको लिखित चिन्हहरुको बोलिने भाषाको ध्वनिमा रुपान्तरण गर्ने क्षमता । भाषाको सन्दर्भमा यो अक्षर र मात्राहरुको पहिचान गर्नु उसको सही उच्चारण गर्नु हो । शब्दहरु पढ्दा त्यसको उच्चारण गर्नु डिकोडिङ्ग भनिन्छ ।
डिकोडिङ्गमा अर्थ सामेल हुन पनि सक्छ, नहुन पनि सक्छ । डिकोडिङ्गको प्रक्रिया बोलेर वा चुपचाप पनि हुनसक्छ । लिखित चिन्हहरुको ध्वनि भाषिक चिन्हरुमा रुपान्तरित गर्ने क्षमताको माध्यमबाट बालबालिका कुनै शब्द उच्चारण गर्न सिक्छन् । यदि उनीहरुले सो शब्द पहिल्यै सुनिसकेका भए उनीहरुले सजिलै पहिचान गर्न सक्छन् । जस्तो कि कुनैपनि शब्दको पहिचान गर्न सक्नु उनीहरुले सुनिरहेका शब्दको भण्डारमा निर्भर हुन्छ । बालबालिकाले जब–जब राम्रोसँग डिकोड गर्न सिक्छन्, तब उनीहरुको पढाइमा एउटा गति आउन थाल्दछ । त्यसलाई धाराप्रवाह पठनपाठन पनि भनिन्छ । यसबाट उनीहरुले कुनैपनि लिखित सामग्रीलाई पढ्नको साथ–साथै बुझ्न पनि सक्छन् ।


बुझ्नु
पठन सीपको दोस्रो महत्वपूर्ण विषय भनेको बुझ्नु हो । डिकोडिङ्गसँगै यो पनि जान्ने प्रयास गरौं कि बुझ्नु भनेको के हो ? कुनैपनि लिखित सामग्रीको अर्थ निकाल्न सन्दर्भहरुको महत्वपूर्ण भूमिका रहन्छ । जस्तो कि बुझ्नु सँगसँगै पढ्नुको आशय हो कि पाठकले पाठ्यवस्तुमा निहित भावना र विचार ग्रहण गर्न सकुन् । योसँग सम्बन्धित प्रश्नको जवाफ दिन सकुन् । पढिसकेको सामग्रीमाथि आफ्नो एउटा धारणा बनाउन सकुन् । त्यसको समीक्षा गर्न सकुन् । त्यसबारे अरुलाई बताउन सकुन् ।


शिक्षकको भूमिका
कुनै पनि भाषाको कक्षामा पढाउँदै गर्दा शिक्षकले डिकोडिङ्ग तथा बुझाइ दुबै पक्षमा ध्यान दिने गर्छन् । सबैभन्दा पहिले सुनेर बुझ्ने क्षमताको विकास हुन जरुरी छ । किनकि, एक बालकले शिक्षकको निर्देशनलाई बुझ्न सकोस् र त्यस भाषालाई कुनै कथा तथा कविता सुनेर बुझाउन सकोस् । त्यसबाट उसले आनन्द लिओेस् ।


यसबाट उसमा एक स्तरमा त्यस भाषालाई डिकोडिङ्गको पक्षमा जान तयारी मिल्ने गर्दछ । यसबाट लिखित र ध्वनि चिन्हहरुबीच एउटा सम्बन्ध स्थापित हुन जान्छ । जस्तो कि ऊ डिकोडिङ्ग गर्न जान्दछ । त्यसपछि जब सरर्र कुनै अक्षर मिलाएर एउटा शब्द पढ्दछ, जुन उसले पहिल्यै सुनिसकेको छ । अनि त उसले त्यसको अर्थ पनि स्वतः जान्दछ ।


बुझाउने स्तरमा सिकाउनका लागि शिक्षकहरुले पुस्तकालयका ठूला किताबहरु समेत प्रयोग गर्न सक्छन् ताकि चित्र तथा लिखित सामग्रीबीचको सम्बन्ध बुझ्न विद्यार्थीलाई सहयोग गर्न सकुन् । पठन सीपको शुरुवाती चरणमा बालबालिकालाई यसरी पढ्नका लागि पुस्तकालय उपलब्ध भयो भने उनीहरु स्वतन्त्र पाठक बन्न एकदमै सहयोग मिल्छ । कुनै पनि साक्षरता कार्यक्रमहरु वा भाषा कक्षाको अन्तिम लक्ष्य भनेकै पढ्ने स्वतन्त्रताका साथ कुनै लिखित सामग्रीलाई बुझेर पढ्न पाउन् ।


दुबै सीपका लागि शिक्षकहरुको अहम् भूमिका रहेको हुन्छ । यसका लागि शिक्षकहरुले स्केपफोल्डिङ्गको प्रक्रिया (I do, we do, you do) को प्रयोग गर्न सक्छन् । उदाहरणका लागि बालबालिकालाई पहिले केही चिज आफैं गरेर देखाउने । पछि उनीहरुसँगै त्यसलाई पुनः गर्ने । फेरि उनीहरुलाई आफैं त्यो गर्ने मौका दिने । उदाहरणका लागि शिक्षकले बालबालिकालाई पहिले एउटा कथा पढेर सुनाउने, पछि सँग–सँगै पढ्ने र अन्त्यमा उनीहरुलाई मात्रै पढ्न लगाउने । यसबाट उनीहरुले बुझ्नुका साथै कुन किताब कसरी पढ्ने भन्ने पनि थाहा पाउँछन् । यसरी धेरै विषय उनीहरुलाई देखाएर स्वतः सिकाउन सकिन्छ । जसका लागि शिक्षकले अलग्गै मिहेनत गर्नु पर्दैन ।
(एजुकेशन मिररबाट)

तस्विर :एजेन्सी

Comments: