२०७६ भदौ ५ गते

स्नातकोत्तर पढे, काम पाएनन्

अन्तैबाट

काठमाडौँ । सानोठिमी क्याम्पसपछाडिको गल्लीमा दृष्टिविहीनको संसार छ । ब्रेललिपिमा उच्च शिक्षा पढाइ हुने भएकाले विभिन्न जिल्लाका दृष्टिविहीन यहाँ जम्मा भएका छन् । उच्च शिक्षा पढिरहेका र पढिसकेका उनीहरुको एउटै गुनासो छ– ‘सांगले जस्तो अवसर पाइएन ।’


शुक्रबार बिहान ९ बज्नै लागेको थियो । सानोठिमीस्थित सेनाको ब्यारेक अघिल्तिर एउटा समूह बस कुरिरहेको थियो । कोही कालो चस्मा लगाएका, कोही सेतो छडी टेकेर उभिएका । सबैलाई हतारो थियो, रत्नपार्क पुग्ने ।

हतारमा भए पनि कान्तिपुर प्रतिनिधिसँग मनका बह पोख्न उनीहरू तयार भए । त्यो खुला ठाउँमा कुराकानी सम्भव भएन । समूहमा रहेकामध्ये डोटी पूर्वीचौकी–७, बगडाका २८ वर्षीय कपिल विकले सबैलाई आफ्नो कोठामा लगे । सानोठिमी क्याम्पस पछाडिपट्टिको गल्लीभित्र उनको कोठा रहेछ । यो एउटै साँघुरो कोठामा कपिलका दम्पती, ४ वर्षीय छोरा र अर्का गाउँले दृष्टिविहीन चक्र नेपाली बसेका छन् ।

यीमध्ये कपिल स्नातकोत्तर तहमा पढ्दै छन्, चक्रले खर्च अभावमा १२ कक्षामै पढाइ छाडेका छन् । समूहमा रहेका अरू सबैजसो पढालेखा छन् । तैपनि कसैले रोजगारी पाएका छैनन्, राम्रो अवसर पनि भेटेका छैनन् ।

सैनिक ब्यारेकपछिल्तिरको यो गल्लीमा दृष्टिविहीनको संसार छ । सानोठिमी क्याम्पसमा ब्रेललिपिमा उच्च शिक्षा पढाइ हुने भएकाले जुम्ला, बझाङदेखिका दृष्टिविहीन यहाँ भेला भएका छन् । ‘बेरोजगारी हामी सबैको समस्या हो,’ कपिलले भने । कपिल ५ वर्षको हुँदा दुवै आँखा पाकेछन् । नजिकै अस्पताल थिएन । परिवारको आर्थिक अवस्था कमजोर थियो । जिल्ला अस्पतालसम्म पुर्‍याएर उपचार गर्न सम्भव भएन । उपचारको साटो परिवारले धामीझाँक्रीको सहारा लिए । ‘आँखाले गर्दा पाउनु पीडा पाएको छु,’ उनले भने, ‘ठीक हुन्छ भनेर कुकुरको दिसा पनि लगाइदिए । पाइपले फुकेर पीडा दिए ।’

कपिलले गाउँकै साजिन्द्रेश्वर माविबाट ०६७ सालमा एसलएसली गरेका रहेछन् । प्लस टु पढ्न सिलगढी पुगे तर उनलाई कलेजले लिन मानेन, कोठा पनि पाएनन् । संयोगले कलेजको प्रवेश परीक्षामा सहभागी ३ सय जनामा एक नम्बरमा उनको नाम निस्कियो । तेब्बर भाडा तिर्न तयार भएपछि चार महिनापछि कोठा पनि पाए । मासिक ५ सय रुपैयाँको कोठालाई १५ सय तिर्नुपर्‍यो ।

०७० सालमा काठमाडौं छिरेपछि पीडा केही कम भयो । संघर्ष भने उस्तै । उच्च शिक्षा अध्ययनका लागि सानोठिमी क्याम्पसमा भर्ना भए । स्नातक तहमा शिक्षा संकायअन्तर्गत नेपाली विषय लिएर पढ्न थाले । त्यहीबीच खोटाङ राजापानीकी मेनुका राईसँग उनको भेट भयो । दुवैले बिहे गरे । मेनुका सिलाइबुनाइको काम गर्छिन् । कपिल खुला विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहमा भर्ना भएका छन् । उनी दिनभर अगरबक्ती बित्री गर्न हिँड्छन् । साँझ घर फर्कन्छन् । उनलाई साथीभाइले रेकर्ड गरेर किताबका कुरा सुनाउँछन् ।

त्यसैका आधारमा परीक्षाको तयारी गरिरहेका छन् । ‘एक वर्ष भयो, कोठाभाडा तिर्न सकेको छैन । हातमा सर्टिफिकेट छ, जागिर पाइँदैन,’ उनले पीडा पोखे, ‘छोराको स्कुल शुल्क नतिरेको पनि महिनौं भइसक्यो । हामीले मागेर खान खोजेका होइनौं, योग्यताअनुसार जागिर पाए कसैको भर पर्नुपर्ने थिएन ।’ दृष्टिविहीन समुदायले कीर्तिपुरमा बनाएको अगरबत्ती ल्याएर कपिलसहितका साथीभाइले बिक्री गर्ने गरेका छन् । रत्नपार्क, सुन्धारा, भक्तपुर बसपार्क र अरूतिर धाएर कहिले बढीमा ८ सय रुपैयाँसम्मको धुप बिक्री हुन्छ ।

कहिले रित्तै फर्कनुपर्छ । ‘हामी प्रकृतिबाटै ठगिएकाहरूले अरूलाई किन ठग्थ्यौं होला र ?’ उनले भने, ‘हातहातमा लगेर अगरबत्ती लिइदिनुस् भन्दा पनि तथानाम गाली खानुपर्छ । अपमान सहनुपर्दा नमज्जा लाग्छ ।’ कपिलले कम्प्युटर पनि जानेका छन् । जागिरका लागि धाएको ५ वर्ष भइसकेको छ । ‘अब त आस मरिसक्यो, डिग्री पढेर पनि जागिर नपाउँदाको पीडा कसले बुझिदिने ?’
कपिलको जस्तै व्यथा छ, जुम्लाको चन्दनाथ–२, अनामनगरकी २८ वर्षीया अमृता थापाको । उनी ०६२ सालमा एसएलसी उत्तीर्ण भइन् । गाउँमा पढ्न सक्ने अवस्थै भएन । पढाइका लागि सहयोग खोज्दै उनीसहित ३ जना ०६५ सालमा काठमाडौं आइपुगे ।

उनीहरूबारे पत्रिकामा समाचार छापिनेबित्तिकै एनआईसी बैंकले पढाइमा सहयोग गर्‍यो । सानोठिमी क्याम्पसमा शिक्षा संकायमा अंग्रेजी विषय लिएर पढ्न थाले । अमृता अहिले भक्तपुर बहुमुखी क्याम्पसबाट ग्रामीण विकास (आरडी) मा मास्टर्स गर्दै छिन् । मास्टर्स पढ्दै अगरबक्ती बित्री गरिरहेकी छन् । बेलाबेला टाउको दुख्ने समस्याले सताउँछ । सुई लगाएर दुःखाइ कम गर्ने गरेको उनले सुनाइन् । अमृता बसेको कोठाको भाडा महिनाको ४ हजार रुपैयाँ छ । नतिरेको ४ महिना भइसक्यो । जागिरको खोजीमा रहे पनि अपांगता भएकै कारण वञ्चित हुनुपरेको उनकोदुःखेसो छ । ‘डिग्री पढ्दै गरेका र पढिसकेका धेरै दृष्टिविहीन यहाँ छन्,’ उनले भनिन्, ‘सर्टिफिकेट थन्क्याएर, अगरबत्ती बेच्दै हिँड्नुपरेको छ ।’

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका दीर्घनारायण अर्यालले ०६८ सालमा ६३ प्रतिशत अंकसहित एसएलसी उत्तीर्ण गरे । उनी सानोठिमी क्याम्पसमा होस्टलमा बसेर शिक्षा संकायमा मास्टर्स गर्दै छन् । ‘म पनि साथीहरूसँगै अगरबक्ती बित्री गर्न जान्छु,’ उनले भने, ‘हामीले आफ्नै लागि मात्र पढेजस्तो भयो, कतै अवसर पाउन सकिएन ।’

जुम्लाकी २२ वर्षीर्या लक्ष्मी बूढा स्नातक तेस्रो वर्ष पढिरहेकी छन् । उनको दिनचर्या पनि अगरबत्ती बेचेरै बितिरहेको छ । बाजुरा जगन्नाथ गाउँपालिका–६ का प्रेमराज आचार्यको संघर्ष भने अरूभन्दा भिन्न छ । देव्रे खुट्टा चल्दैन । बैसाखीको सहारामा हिँड्डुल गर्छन् । ०६१ सालमा बाख्रा हेर्न जाँदा लडेर खुट्टा भाँचियो । १६ दिनमा होस आयो । समयमै उपचार पाउन सकेनन् । जीवनभरका लागि अशक्त भए । ‘२ वर्षसम्म उपचार पाउन सकिनँ,’ उनले भने, ‘अहिले यस्तो हालत छ ।’ सानोठिमी क्याम्पसबाट स्नातक गरेका उनी आरआर क्याम्पसमा समाजशास्त्रमा मास्टर्स गर्दैछन् । ‘पढ्न त पढियो,’ उनी भन्छन्, ‘कतै अवसर पाएको छैन ।’

सानोठिमीबाटै मास्टर्स गर्ने करिब एक दर्जन विद्यार्थी छन् । सानोठिमीमा ब्रेल पुस्तकमार्फत पढाइ हुने भएकाले दृष्टिविहीनलाई सहज छ । अवसरको मात्रै होइन, वरपर हिँड्डुल गर्नै पनि समस्या छ । अपांगमैत्री सडक निर्माण गरिएको भनिए पनि फुटपाथले गर्दा हिँड्न पाइँदैन । गाडी चालकले सेतो छडी बोकेर र कालो चस्मा लगाएर सडक किनारमा उभिएको देख्नासाथ हतपत रोक्नै मान्दैनन् । ‘हामीले हरेक क्षेत्रमा सास्ती खेप्नुपरेको छ,’ लक्ष्मी बुढाले भनिन्, ‘अपांगता हुनु हाम्रो दोष हो ? अवसर पाए आँखा देख्नेहरूसँग प्रतिस्पर्धा गर्न तयार छौं ।’

विमल खतिवडाले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: