२०७६ असोज २ गते

एउटै कोठामा ५ कक्षासम्मको पढाइ

राजविराज । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–६ कद्माहास्थित राष्ट्रिय आधारभूत विद्यालयमा हाजिरी रजिस्ट्रर किन्ने पैसासमेत नहुँदा विद्यार्थीहरूको नियमित हाजिरी हुन नसकेको हो ।

सो विद्यालयमा ६ वटा कक्षा कोठा भए पनि एउटै कोठामा १ देखि ५ कक्षासम्मको पठनपाठन हुँदै आएको छ । सो विद्यालयका शिक्षक राजनारायण यादवका अनुसार विद्यालयका दुईवटा कोठा जोखिमपूर्ण अवस्थामा छन् भने अन्य कोठामा पुराना कागजात, डेस्क बेन्च र फर्निचर राख्ने गोदाम बनाइएको छ ।

विद्यालयको हातामा बालबालिकाका लागि खेल्ने चौर बनाइएको भए पनि हाल सो ठाउँमा बालबालिकाले खेल्न पाउँदैनन् । सोही वडाका वडाध्यक्षले वडाको सडक ग्राभेलका लागि ल्याइएको बालुवा, गिट्टी र माटो थुपारेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएपछि वैशाखको पहिलो साताभित्रै सबै विद्यालयमा पाठ्यपुस्तक पु¥याइसक्ने घोषणा सरकारले गरे पनि हालसम्म सो विद्यालयमा पुस्तक पुगेका छैनन् ।


शैक्षिक सत्र सुरु भएको करिब दुई महिना बित्न लागेको छ । सो विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि खरिद गरिने पुस्तकको रकम हालसम्म विद्यालयको खातामा दाखिला नभएकाले विद्यार्थीको हातमा पुस्तक नपुगेको शिक्षक यादवले बताए ।

बैंकिङ कारोबारका लागि सो विद्यालयको खाता राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा भए पनि सो खातामा शिक्षकका लागि तलब शीर्षकमा मात्र रकम छ ।

त्यसैगरी, सो विद्यालयका प्रधानाध्यापक विन्देश्वरी मण्डल गत १० माघ २०७४ बाट सेवानिवृत्त भए पनि उनले सो बैंकको खाता नियमित सञ्चालन गर्न अन्य व्यक्तिलाई अख्तियारी हालसम्म नदिएको विद्यालयले जनाएको छ ।

विद्यालयको बैंक खाता नियमित नभएकै कारण सो विद्यालयमा कार्यरत शिक्षकले विगत पाँच महिनादेखि तलब पाएका छैनन् भने उनीहरूको सञ्चयकोषसमेत दाखिला हुन सकेको छैन । सो विद्यालयमा हाल दुई शिक्षक र एक जना कार्यालय सहायक कार्यरत छन् ।

विद्यालय परिसरमै चारवटा नयाँ शौचालय बनेको भए पनि सेफ्टी ट्यांकी निर्माण नभएकाले हालसम्म शौचालयको प्रयोगसमेत भएको छैन ।

त्यसैगरी, विद्यालयको परिचय दिने साइनबोर्डको बोर्ड मात्र राखिएको छ । सो बोर्ड लेख्ने पेन्टरलाई भुक्तानी दिनुपर्ने रकमको समेत व्यवस्थापन हुन नसक्दा बोर्ड खाली नै रहेको शिक्षक यादवले गुनासो गरेका छन् ।

चालू शैक्षिक सत्रमा सरकारले तामझामका साथ भर्ना अभियान चलाएको भए पनि सो विद्यालयमा तीन जना बालबालिका मात्र नयाँ भर्ना भएको विद्यालयले जनाएको छ । विद्यालयको वातावरण र लथालिंग अवस्था देखेपछि अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई अन्यत्र नै भर्ना गरेका थिए ।

शिक्षक यादवका अनुसार सो विद्यालयमा १ कक्षामा २४, २ मा २२, ३ मा १२, ४ मा १८ र ५ कक्षामा १० गरी कुल ८६ विद्यार्थी छन् । तर, विद्यालय नियमित आउने विद्यार्थीको संख्या ११ मात्र रहेको उनले स्वीकार गरे ।

भएका दुईवटा कोठा जोखिमपूर्ण रहेको र अन्य कोठा गोदामका रूपमा प्रयोग भएकाले एउटै कोठामा राखेर पठनपाठन सञ्चालन गर्नुपरेको उनको गुनासो छ । ‘विद्यालय आउने विद्यार्थीको संख्या पनि घट्दै गएकाले सबै कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेका हौं,’ उनले भने ।

एउटै कक्षा कोठामा राखेर पठनपाठन गर्दा विद्यार्थी र शिक्षक दुवैलाई अप्ठ्यारो हुने भए पनि बाध्यता भएको अर्का शिक्षक हरेकृष्ण पैकराले बताए । तत्कालीन प्रधानाध्यापक मण्डल सेवा निवृत्त भएको पाँच महिना बितिसक्दा पनि खाता सञ्चालनको जिम्मेवारी अन्यलाई नदिइएकाले विद्यालयको आर्थिक गतिविधि शून्य भएको उनले बताए । यसैगरी सो वडाका वडाध्यक्ष रामनाथ मण्डलले विद्यालयलाई राजनीति गर्ने थलोका रूपमा प्रयोग गर्न थालेपछि विद्यालयमा समस्या थपिँदै गएको शिक्षकद्वयको

बुझाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार मण्डल र वडाध्यक्ष रामनाथ मण्डल सहोदर दाजुभाइ हुन् । जसका कारण वडाध्यक्ष मण्डललाई विद्यालयको हातामा मनपरी गर्न सहज भएको स्थानीयको गुनासो छ । वडाध्यक्ष मण्डलकै हस्तक्षेपका कारण लामो समयदेखि विद्यालय प्रअविहीन रहेको र नयाँले जिम्मेवारी नपाएपछि विद्यालयको शैक्षिक गतिविधि लथालिंग भएको शिक्षक पैकराले बताए ।

उनका अनुुसार विद्यालयले पाठ्यपुस्तक, हाजिरी रजिस्ट्रर र स्टेसनरीलगायतका अत्यावश्यक शैक्षिक सामग्री खरिद गर्न सकेको छैन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष र वडाध्यक्षले नै विद्यालयको बैंक खाता नियमित गर्न रोक लगाएको समेत स्थानीयको आरोप छ ।

विद्यालय हाताभित्रको मैदान र कक्षा कोठा प्रवेश गर्ने द्वार नै ढपक्कै छेक्नेगरी वडाध्यक्ष मण्डलले आफ्नो टोलको सडक मर्मतका लागि झिकाएको बालुवा, गिट्टी र माटो थुपारेकाले पठनपाठन प्रभावित बनेको उनले बताए । यसरी थुपारिएको बालुवा र माटोलाई हावाहुरीले उडाउँदै स–साना बालबालिकाको स्वास्थ्यमा समेत असर परिरहेको उनको भनाइ छ ।

यसैबीच, सो विद्यालयमा देखिएको समस्यालाई लिएर शिक्षक पैकराको नेतृत्वमा गएको एक टोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई निवेदन बुझाएका छन् । निवेदन पढेर चकित परेका प्रजिअ पौडेलले तत्कालै समस्या समाधानका लागि प्रक्रिया अघि बढाउन जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ समितिलाई पत्राचार गरेका छन् ।

यता, वडाध्यक्ष मण्डलले टोलमा सडक ग्राभेलका लागि सो बालुवा, गिट्टी र माटो ल्याएको बताएका छन् । उनले तत्काल ठाउँ नहुँदा विद्यालयमा राखिएको र दुई–चार दिनमै हटाउने बताएका छन् ।

एमके माझीले राजधानीमा खबर लेखेका छन् ।

Comments: