• १४ हजार २७१ अस्थायी शिक्षकको स्थायी नियुक्ति र पदास्थापन शुरु
    (ईपाटी संवाददाता)


  • भक्तपुर । अस्थायी शिक्षकहरुले स्थायी नियुक्ति सहितको पदास्थापन शुरु भएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले बुधवार पदास्थापनको आधार सहित शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।


    शिक्षक सेवा आयोगले शिक्षा ऐनको आठौं संशोधनले गरेको व्यवस्था अनुसार लिएको परीक्षाका प्रकृया पुरा गरेर सफल उम्मेद्वारको नियुक्तिका लागि गत चैत १९ गते केन्द्रमा नामावली पठाएको थियो ।


    केन्द्रले शिक्षक पदास्थापनको निर्णयको टिप्पणी फाइल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरेको थियो । मन्त्रालयले तोकिएका तपशिलका आधारहरु भित्र रहि साविकको जिल्ला शिक्षा अधिकारीको काम काज गर्न तोकिएका शिक्षा विकास तथा समन्वय इकाइबाट नै स्थायी नियुक्ति तथा पदास्थापना गर्न यही चैत्र २४ गते मन्त्रीस्तरीय निर्णय गरेको थियो ।


    मन्त्रालयको निर्णय लगत्तै शिक्षक सेवा आयोगबाट सिफारिस भएका सफल उम्मेदवारहरुको स्थायी नियुक्ति तथा पदस्थापनाका लागि केन्द्रले चैत्र २५ गते अर्को निर्णय गरेको थियो । सोही अनुसार नियुक्तिका लागि केन्द्रले समन्वय इकाईहरुलाई परिपत्र गरेको हो ।


    आयोगले गत असारमा लिएको परीक्षाका सबै प्रकृया पुरा गरेर पास भएका १४ हजार २७१ अस्थायी शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।


    कार्यरत विद्यालयमै नियुक्ति
    केन्द्रले प्राथमिक तहमा सिफारिस भएका शिक्षकलाई हाल कार्यरत विद्यालयमै नियुक्ति गर्ने आधार सहित समन्य इकाइहरुलाई परिपत्र गरेको छ ।  निमावि र मावि तहको हकमा भने विषय मिल्ने भएमा मात्रै कार्यरत विद्यालयमा नियुक्ति दिन निर्देशन दिइएको छ । केन्द्रले सबै इकाइलाई गरेको परिपत्रमा उक्त आधार अनुसार पदस्थापना हुन नसकेका लियन, अस्थायी वा सट्टा शिक्षकको हकमा योग्यताक्रम अनुसार जिल्लाको रिक्त पदमा पदस्थापना गर्न भनिएको छ ।

    ’प्राथमिक तहमा सिफारिस भएका शिक्षकहरुलाई हाल जुन विद्यालयमा कार्यरत रहेको हो सोही विद्यालयको रिक्त दरबन्दीमा पदस्थापना गर्ने’  परिपत्रमा भनिएको छ, ’निमावि र मावि तहमा सिफारिस भएका शिक्षकहरुलाई विषय मिल्ने भएमा हाल जुन विद्यालयमा कार्यरत रहेको हो सोही विद्यालयको रिक्त दरबन्दीमा पदस्थापना गर्ने ।’

    यसैगरी, पदस्थापना गर्दा अपाङ्गता भएका र महिलालाई रिक्त दरबन्दी र विषयका आधारमा पायक पर्ने विद्यालयमा पदस्थापनामा प्राथमिकता दिने व्यवस्था कायमै राखिएको छ ।  निमावि र माविको क्षेत्रगत सूची सहित गरिएको उक्त परिपत्रमा सोही सूची भित्रबाट सम्बन्धित इकाइले उत्तीर्ण हुनेको रोल नम्बर का आधारमा आफ्नो जिल्ला सँग सम्बन्धित कोड भएका उम्मेद्वारहरुको पदस्थापना गर्न निर्देशन दिइएको छ ।


    तीनै तहका सफल उम्मेद्वारहरुको स्थायी ठेगाना परिवर्तन भई फरक परेको भनि सच्याउन माग भएमा आवश्यक कागजातका आधारमा नियुक्ति पत्र दिदाँकै बखतमा सच्याउन सकिने केन्द्रले जनाएको छ ।


    पदस्थापनाका आधारहरुः

    १. प्राथमिक तहमा सिफारिस भएका शिक्षकहरुलाई हाल जुन विद्यालयमा कार्यरत रहेको हो सोही विद्यालयको रिक्त दरबन्दीमा पदस्थापना गर्ने ।


    २. निम्न माध्यमिक र माध्यमिक तहमा सिफारिस भएका शिक्षकहरुलाई विषय मिल्ने भएमा हाल जुन विद्यालयमा कार्यरत रहेको हो सोही विद्यालयको रिक्त दरबन्दीमा पदस्थापना गर्ने ।


    ३. महिला र अपाङ्गलाई रिक्त दरबन्दी र विषयका आधारमा पायक पर्ने विद्यालयमा पदस्थापन गर्ने व्यवस्था मिलाउने ।


    ४. माथि उल्लेख भए बमोजिम पदस्थापना हुन नसकेका अन्य (लियन,अस्थायी वा सट्टा समेत) शिक्षकको हकमा योग्यताक्रमानुसार जिल्लाको रिक्त पदमा पदस्थापना गर्ने । पदस्थापना गर्दा अपाङ्गता भएका र महिलालाई प्राथमिकता दिने ।