२०७६ भदौ ९ गते

शिक्षक लाइसेन्सको विज्ञापन यसै साता, अनलाइन आवेदन र मेसिनबाटै कपी परिक्षण हुने

ईपाटी संवाददाता


भक्तपुर । शिक्षक सेवा आयोगले यसै साताभित्र शिक्षण अनुमति पत्र (शिक्षक लाइसेन्स)को परीक्षाका लागि विज्ञापन खुलाउने भएको छ । विज्ञापनका लागि सबै तयारी सकिएको आयोगले जनाएको छ ।


वैशाखकै पहिलो साता विज्ञापन गर्ने आयोगको तयारी थियो । तर, अनलाइनबाटै फारम भर्ने व्यवस्थाका लागि परीक्षण गरिरहेको आयोगले प्राविधिक कठिनाई देखा परेपछि अहिलेसम्म विज्ञापन गर्न सकेको थिएन ।


अब भने प्राविधिक समस्या हटेकाले एक–दुई दिनदेखि एक साताभित्रै विज्ञापन गरिने आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए ।
आयोगले विज्ञापन खुलाउने विषयमै यही असार १ गते दिनभरी नै छलफल गरेको थियो । डा. थपलियाले अबको एक–दुई दिनदेखि साताभित्रै लाइसेन्सको विज्ञापन हुने स्पष्ट पारे ।


आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तीनै तहका लागि लाइसेन्स परीक्षा लिन लागेको हो । आयोगले परीक्षा फारम अनलाइनबाटै भर्ने व्यवस्था गर्दैछ । अहिलेसम्म परीक्षार्थी जुन जिल्लाको हो, सोही जिल्लामा गई दरखास्त दिनुपर्ने बाध्यता थियो । यसो गर्दा परीक्षार्थीले शास्ती र खर्च दुबै ब्यहोर्नु परेको थियो ।

शिक्षक लाइसेन्स पाउन अब बस्तुगत र विषयगत गरी दुई परीक्षा दिनुपर्ने छ । बस्तुगत परीक्षामा उत्तीर्णहरु मात्रै विषयगत परीक्षामा सहभागी हुन पाउने भएका छन् ।


आयोगले माध्यमिक र निम्नमाध्यमिक तहका लागि विषयगत परीक्षा लिनेछ । यसका लागि नयाँ पाठ्यक्रम पनि तयार पारेको छ ।'लाखौं परिक्षार्थीहरु बस्तुगत प्रश्नको परीक्षाबाटै छाटिनेछन् र हजारौंको संख्यामा मात्रै विषयगत परीक्षामा सम्मिलित हुनेछन् ।'– थपलियाले भने, 'अब शिक्षकको विज्ञता पनि परिक्षण हुन्छ ।'


अनलाइन फारम भर्दा बैंक भौचर भर्न आयोगले दिएको सिम्बोल नं अनुसार प्रत्येक व्यक्तिलाई बैंकले बेग्लाबेग्लै कोड नम्बर दिनेछ । यसबाट बैंक भौचर भरेको सुनिश्चितता हुने बताइएको छ । पहिलोपटक अनलाइन फारम भर्ने व्यवस्था भएकाले यसमा निकै सुझबुझ अपनाइएको आयोगले स्पष्ट पारेको छ ।


अनलाइन फारम भर्ने र बुझाउने तरिका आयोगको वेभसाइटमा राखिन र अब वस्तुगत प्रश्नको उत्तर मेसिनबाटै परीक्षण गर्ने तयारी गरेको थपलियाले जानकारी दिए । 

आयोगका अनुसार माध्यमिक तहको लाइसेन्स लिन स्नातक, निम्नमाध्यमिक र प्राथमिक तहका निम्ति १२ कक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । यसमा पाँच किसिमका योग्यता निर्धारण गर्न लागिएको डा. थपलियाले जानकारी दिए । यसैगरी शिक्षा ऐनले तोकेअनुसार विज्ञान, गणितलगायत ९ वटा विषयमा तालिम नभएपनि परीक्षा दिन पाउने आयोगले जनाएको छ ।

आयोगले २०७३ पछि लिएको शिक्षक लाइसेन्सको परीक्षामा निम्न माध्यमिक तहमा २ लाख ७० हजार ६९ मध्ये ८४ हजार ८८२ अर्थात ३१ दशमलव ४३ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । यस्तै माध्यमिक तहमा ६६ हजार १२ जनाले परीक्षा दिएकामा ३३ हजार ३९६ अर्थात ५० दशमलव ६ प्रतिशतले मात्रै लाइसेन्स लिन सफल भएका थिए ।


२०७४ मा स्नातकोत्तर तह उत्तीर्णहरुका लागि मात्रै गरिएको शिक्षक लाइसेन्स विज्ञापनमा २२ सय परीक्षामा सहभागी भएपनि ९ सय अर्थात ३६ दशमलव ५ प्रतिशत मात्रै उत्तीर्ण भएका आयोगले जनाएको छ ।

प्रशासकीय प्रमुख थपलियाका अनुसार आयोगले २०६१ देखि २०६७ सम्मगरी प्राथमिक तहमा १ लाख ९८ हजार ८३०, निम्नमाध्यमिक तहमा २०६१ देखि २०७२ सम्म ३ लाख ३६ हजार २८५, माध्यमिक तहमा २०६१ देखि २०७२ सम्म १ लाख ३५ हजार ९६० गरी कुल ७ लाख ६५ जनालाई शिक्षक लाइसेन्स वितरण गरेको छ । यसैगरी साविक उच्च माध्यमिक तह(११र १२ कक्षा)का लागि २२ हजार ९८६ जनालाई लाइसेन्स वितरण  गरिएको छ । 

 

Comments: