२०७६ माघ ९ गते

शिक्षक संगठनको अध्यक्षमा शर्मा र बस्नेत भिड्दै, निर्वाचन जारी


काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनमा नेतृत्वका लागि दलीय गुटगत प्रतिस्पर्धा हुने भएको छ । पूर्व नेकपा एमाले निकट मानिने संगठनमा केपी ओली गुट र माधव नेपाल गुट बीच प्यानलै बनाएर प्रतिस्पर्धा हुने भएको छ ।


संगठनको अध्यक्षका लागि ओली गुटबाट निर्वतमान महासचिव लक्ष्मण शर्मा र निवर्तमान उपाध्यक्ष भिमबहादुर बस्नेत बीच प्यानलै बनाएर प्रतिस्पर्धा हुने भएको हो । यसअघि अध्यक्षमा उम्मेदारी दिएका मधु तिमल्सिनाले उम्मेदवारी फिर्ता लिएपछि दुईजना बीच मात्रै प्रतिस्पर्धा हुने भएको हो ।


वरिष्ठ उपाध्यक्षमा लक्ष्मण शर्मा प्यानलबाट ज्ञावनशेर राई र भिम बहादुर बस्नेत प्यानलबाट कृष्णप्रसाद घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् ।


महिला उपाध्यक्षमा शर्मा प्यानलबाट कमला थापा र बस्नेत प्यानलबाट इला मल्ल शाही भिड्ने भएका छन् । यसैगरी, समावेशी उपाध्यक्षहरुमा शर्मा प्यानलबाट शंकरलाल श्रेष्ठ र बस्नेत प्यानलबाट जमुना काफ्ले चापागाईं भिड्ने भएका छन् ।


प्रदेश उपाध्यक्षहरुमा भने प्रदेश नम्बर २ मा भरतप्रसाद शाह, प्रदेश नम्बर ४ बाट जंगबहादुर गर्बुजा मगर र प्रदेश नम्बर ५ बाट बदरे आलम खाँ निर्विरोध निर्वाचित भइसकेका छन् ।


अन्य प्रदेश उपाध्यक्षहरुमा प्रदेश नम्बर १ मा शर्मा प्यानलबाट झनलाल तेम्बे र बस्नेत प्यानलबाट गोविन्दराज श्रेष्ठ, प्रदेश नम्बर ३ मा शर्मा प्यानलबाट विष्णु प्रसाद पोखरेल र बस्नेत प्यानलबाट टोम प्रसाद काफ्ले, प्रदेश नम्बर ६ मा शर्मा प्यानलबाट नन्दराम देवकोटा र बस्नेत प्यानलबाट शिवप्रसाद पाण्डेय साथै, प्रदेश नम्बर ७ मा शर्मा प्यानलबाट तुलाबहादुर थापा र बस्नेत प्यानलबाट हरिदत्त जोशी बीच प्रतिस्पर्धा हुने भएको छ ।


महासचिवमा शर्मा प्यानलबाट हंशबहादुर शाही र बस्नेत प्यानलबाट शिवप्रसाद उपाध्याय बीच प्रतिस्पर्धा हुने भएको छ । महासचिवमा उम्मेदवारी दर्ता गराएका तिलक कुँवरले उम्मेदवारी फिर्ता लिएपछि शाही र उपाध्यायका बीचमात्रै प्रतिस्पर्धा हुने भएको हो ।


यसैगरी, सचिवमा शर्मा प्यानलबाट यदु सुवाल र बस्नेत प्यानलबाट अम्विका चापागाईं र कोषाध्यक्षमा शर्मा प्यानलबाट विष्णुप्रसाद भण्डारी र बस्नेत प्यानलबाट एकराज शर्मा बीच प्रतिस्पर्धा हुने भएको छ ।


सह–कोषाध्यक्षमा भने शर्मा प्यानलबाट ममता शाह र बस्नेत प्यानलबाट पार्वती प्याकुरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।


हाल ललितपुरको लव्ली पार्टी प्यालेशमा निर्वाचन भइरहेको छ । विद्युतीय मेसिनबाट निर्वाचन भइरहेकाले रातीनै निर्वाचनको परिणाम आउने जनाइएको छ ।



Comments: