२०७६ असोज २ गते

सबै लियन शिक्षकलाई प्रतिस्पर्धाको मौका दिन सर्वोच्चले आयोगलाई छलफलका लागि बोलायो


काठमाडौं । सर्वोच्च अदालतले लियन शिक्षकहरुलाई शिक्षक अयोगमा प्रतिस्पर्धा गर्न दिन अन्तरिम आदेश दिन भन्दै छलफलका लागि बोलाएको छ ।


सर्वोच्च अदालतले तल्लो तहमा लियन राखी माथिल्लो तहमा अस्थायी दरवन्दीमा कार्यरत अस्थायी शिक्षक, तल्लो तहमा कार्यरत लियन शिक्षक र स्थायी शिक्षक लाइसेन्स नभएका शिक्षकलाई पनि शिक्षक आयोगमा प्रतिस्पर्धा गराउन अन्तरिम आदेश जारी गरिसकेको भएपनि आयोगले निवेदकको लागि मात्रै लागुहुने पत्र काटेपछि अन्य शिक्षकहरु सर्वोच्च अदालतमा पुगेका हुन् । अदालतले आदेश सबैका लागि कार्यान्वयन हुनुपर्ने भन्दै जेष्ठ १४ गतेका लागि शिक्षा मन्त्रालय,शिक्षक सेवा आयोगलगायतलाई छलफलका लागि बोलाएको हो ।


छलफलपछि सोही आदेशका आधारमा मुलुकभरका लियन शिक्षकहरुले पनि आयोगमा प्रतिस्पर्धा गर्न पाउने सोही मुद्दा लडिरहेका अधिवक्ता कोषराज काफ्लेले जानकारी दिए ।


गत बैशाख २५ गते सर्वोच्च अदालतका न्यायधिश ओमप्रकाश मिश्रको एकल इजालसले लियन शिक्षकलाई पनि आयोगमा प्रतिस्पर्धा गर्न दिन भन्दै शिक्षा मन्त्रालय र शिक्षक सेवा आयोगको नाममा आदेश जारी गरेको थियो ।


समीभञ्ज्याङ माध्यमिक विद्यालय धादिङका प्रधानाध्यापक बसन्त कुमार श्रेष्ठ, महेन्द्र माध्यमिक विद्यालयका प्रावि लियन शिक्षक विनोदकुमार परियारले शिक्षक सेवा आयोगको विज्ञापनको दफा २.३ को स्पष्टिकरण खण्डको अस्थायी शिक्षकको परिभाषा उत्प्रेषणको आदेशले बदर गर्दै लियन शिक्षकलाई पनि विज्ञापनमा प्रतिस्पर्धा गर्न दिनु भनेर परमादेश जारी गरिपाऊँ भनेर मुद्दा दायर गरेका थिए ।


श्रेष्ठ तल्लो स्थायी पदमा लियन शिक्षक राखी माथिल्लो अस्थायी दरवन्दीमा कार्यरत शिक्षक हुन भने परियार र लामा तल्लो तहमा कार्यरत लियन शिक्षक हुन् ।


चामुण्डा मावि जोरपाटीका अस्थायी शिक्षक यादव प्रसाद पौडेल र पशुपति मित्र मावि चावहिलका अस्थायी शिक्षक प्राथना खनालले सर्वोच्च अदालतको आदेशको फोटोकपी सहित विज्ञापनमा सहभागी हुन पाऊँ भनी आयोगमा निवेदन दिएका थिए । तर शिक्षक सेवा आयोगले जेष्ठ १ गते पत्र लेख्दै निवेदक शिक्षकहरुलाई सोही अवस्थाका भएपनि अन्तरिम आदेशमा उनीहरुको नाम नभएकाले विज्ञापनमा सहभागी गर्न नसकिने जनाएको थियो ।


शिक्षक सेवा आयोगले सर्वोच्च अदालतको आदेशले निवेदकलाई मात्रै सम्बोधन गर्ने भन्दै सोही अवस्थाका अन्य शिक्षकहरुलाई विज्ञापनमा फारम भर्न नदिएपछि लियन शिक्षकहरुले जेठ ३ गते सर्वोच्च अदालतम मुद्दा दायर गरेका थिए ।


धादिङका अस्थायी शिक्षक दलबहादुर थापा, हरिकृष्ण घिमिरे, झयाराम सिटौला, बाँकेका दीर्घ बहादुर प्रसाई सहित कार्भेका ५ जना शिक्षकहरुले सर्वोच्च अदालतको यसअघिको आदेशका अधरमा आफुहरुले पनि आयोगम प्रतिस्पर्धा गर्न पाऊँ भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।






Comments: