२०७७ जेष्ठ १७ गते

शिक्षक महासंघको विधान संशोधन प्रस्ताव अवैध भएको शिक्षक संघको ठहर

इपाटी संवाददाता


काठमाडौं । नेपाल शिक्षक संघले शिक्षक महासंघको विधान संशोधन प्रक्रिया अवैध भएको ठहर गरेको छ ।महासंघको विधान संशोधनको प्रस्तावले महासंघलाई कमजोर बनाउने निष्कर्ष संघको छैठौं पूर्ण बैठकले निकालेको हो ।


यही मंसिर २७ र २८ गते सम्पन्न संघको छैटौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्रराज पौडेलले महासंघको विधान संशोधनमा आफूहरुको असहमति रहेको प्रष्ट पारेका छन् ।


गएको असोज ४ र ५ गते भएको महासंघको राष्ट्रिय परिषदमा विधान संशोधनमै असहमति व्यक्त गर्दै संघले उद्घाटन सत्र बहिस्कार गरेको थियो । पछि आवद्ध र सम्बद्ध संघ संगठनहरुको सर्वसम्मतिबाट विधानको टुंगो लगाउने सहमति पश्चात जावलाखेल घोषणापत्र जारी गर्दै महासंघको परिषद सम्पन्न भएको थियो । संघले जावलाखेल घोषणापत्रमा जारी गरिएको व्यवस्था बमोजिम नै विधान संशोधनको विषय टुंगो लगाउनु पर्ने स्पष्ट पारेको छ ।


विधान संशोधनमा के छ ?
शिक्षक संघले विधान संशोधनको सम्पूर्ण विषयमा नभई कार्यविधिको सम्बन्धमा मात्रै असहमति जाहेर गरेको छ । विधान संशोधनमा प्रस्ताव गरिएको कार्यरत पदाधिकारी सेवा निवृत्त भएमा त्यो पदमा कार्यअवधिभर निरन्तरता पाउने भन्ने विषयमा संघे आपत्ती जनाएको छ ।संघको पूर्ण बैठकले नै सो प्रस्ताव महासंको विधान र कानुन विपरीत आएको तर्क गर्दै कुनै हालतमा मान्य नहुने निर्णय गरेको हो ।


किन असहमति ?
शिक्षक संघका अध्यक्ष पौडेलले महासंघको विधानको आचारसंहिताको ७.१ को (ग) मा विधानसँग बाझिने गरी कुनै पनि वैधानिक व्यवस्था गर्न नपाउने उल्लेख गरेको बताए ।  यस्तै विधानकै परिच्छेद २ को २ (ख) मा आवद्ध संस्थाका सदस्य पेशामा क्रियाशील र राज्यकोषबाट तलव खान नछाडेसम्म मात्र महासंघको सदस्य रहने अथवा सदस्यता स्वतः खारेज हुने उल्लेख रहेको पौडेलले जिकिर गरे ।


विधानकै ७.२ को सदस्यता समाप्ति महलमा राजीनामा दिएमा वा अवकाश भएमा महासंघको सदस्यता स्वतः खारेज हुने व्यवस्था रहेकोले पनि हालको विधान संशोधन प्रस्ताव अवैध रहेको पौडेलले स्पष्ट पारे ।


महासंघको हिसाबले महासंघ चलाउनु, बलियो बनाउनु पनि विधान संशोधन प्रस्ताव खारेज हुनैपर्छ, पौडेलले बताए ।  महासंघका पूर्व अध्यक्ष केशव निरौलाले अहिलेको विधान संशोधनले महासंघमा गलत नजिर बस्ने र महासंघ कमजोर बन्ने टिप्पणी गरे ।  महासंघ कमजोर बनाउन शिक्षक संघ नलाग्ने उनको भनाइ थियो ।


पत्रकार सम्मेलनमा संघका महासचिव सोमनाथ गिरीले पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका थिए ।गिरीका अनुसार पूर्ण बैठकले महासंघसँगको सहमति कार्यान्वयन, शिक्षा ऐनको प्रबन्ध उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरी आन्दोलनमा जाने निर्णय गरेको छ ।


अस्थायी, राहत, इसिडी शिक्षक र विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्न माग गर्दै स्थायी शिक्षकको समयबद्ध बढुवा, अस्थायी सेवा गणना र पारदर्शी बढुवाको व्यवस्था गर्न माग गर्दै अन्यथा महासंघको नेतृत्वमा आन्दोलनमा जाने पूर्ण बैठकले निर्णय गरेको महासचिव गिरीले जानकारी दिए ।

Comments: