२०७६ भदौ ५ गते

छोराछोरी सामुदायिकमा भर्ना नगरे सुविधा रोक

अन्तैबाट

प्यूठान  । माण्डवी गाउँपालिका देविस्थान प्यूठानले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउन निर्देशन दिएको छ ।

गाउँ शिक्षा समितिको सोमबारको बैठकले निर्देशन अटेर गरे सेवा सुविधामै रोक लगाउने समेत निर्णय गरेको हो। सामुदायिक विद्यालयमा पछिल्लो समय घट्दो आकर्षणलाई कम गर्न यस्तो निर्णय गरिएको अध्यक्ष श्रीधर रोका मगरले जानकारी दिए।
 
सरकारी सेवासुविधा लिने तर सरकार मातहत संचालन भइरहेका शैक्षिक संस्थालाई वेवास्ता गर्ने परिपाटीलाई अन्त्य गर्न यस्तो पहलकदमी गर्नुपरेको उनको भनाइ छ।

निर्वाचित जनप्रतिनिधीलाई समेत नियम लागु हुने उनको भनाइ छ। विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरी र निजको संरक्षकत्वमा रहेका सन्तानलाई समेत सामुदायिक विद्यालयमा बालबच्चा भर्ना गराउन गाउँपालिकाले निर्देशन दिएको छ।

गाउँपालिकाभरी हाल संचालनमा रहेका २७ सामुदायिक विद्यालय मध्ये २ वटा संस्थागत छन्। गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा खड्काका अनुसार पाँच हजार तीन सय ३३ जना विद्यार्थी अध्ययनरत छन्।

सामुदायिक विद्यालयको शैक्षिक स्थितीमा सुधार नहुँदासम्म दक्ष जनशक्ति तयार गर्न नसकिने प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालको धारणा छ। गाउँपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्न अभिभावक, जनप्रतिनिधि र नागरिक समाजका अगुवालाई साथ दिन उनले आग्रह गरे। नयाँ शैक्षिक शत्रको विद्यार्थी भर्ना अभियान बुधबारदेखि थालनी गरिने गाउँपालिकाले जनाएको छ।  

केशर रोकाले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: